Rumpum Advertisement

परपीडक प्रवृत्तिमा सामाजिक रमिता

परपीडक प्रवृत्तिमा सामाजिक रमिता

कन्टिर–बाबू शेर–ओ–शायरीका पनि गजबका प्रशंसक हुन् । उनी शेर–शायरी सुन्ने–पढ्ने मात्र गर्दैनन्, त्यस्ता साहित्यिक रचनाले दिने सन्देशको तालमेल समकालीन समाजसँग पनि जोड्न खोज्छन् ।

यसै क्रममा उनी उर्दू साहित्यका प्रसिद्ध शायर मिर्जा गालिब सम्झन्छन्, उनका कालजयी रचनाका लागि ।

‘उन के देखे से जो आ जाती है मुँह पर रौनक
वो समझते है कि बिमार का हाल अच्छा है,
हम को मालूम है जन्नत की हकीकत लेकिन
दिल के खुश रखने को ‘गालिब’ ये खयाल अच्छा है ।’

कन्टिर–बाबूलाई गालिबको यो रचना नेपालको समकालीन समाज–राजनीतिसँग हुबहु मेल खान्छ जस्तो लाग्छ । आँत नहाँसे पनि दाँत हाँस्नेहरूको जमात बढ्दो छ ।

पूर्वीय संस्कृतिमा पनि एक लोकप्रिय कथन प्रचलित छ– स्वान्तः सुखाय । विशेषगरी अहिलेको नेपाली राजनीतिको मिहिन विश्लेषण गरिएको खण्डमा उल्लिखित प्रवृत्ति हाबी रहेको पाउन सकिन्छ । आफूलाई केन्द्रमा राखेर ‘परपीडक’ बन्ने र रमाउने प्रवृत्तिको बोलबाला चलेको छ जताततै । अर्कोतिर गलत भइरहेको चाल पाएर पनि नबोल्ने, नलेख्ने घातक प्रवृत्ति सँगसँगै छ ।
कन्टिर–बाबू मिर्जा गालिबकै अर्को एउटा शेर पनि बेला–बेला सम्झिन्छन् ।

‘थी खबर गर्म की गालिब के उडेंगे पुर्जे
देखने हम भी गए थे प तमासा न हुआ !’

गालिबका अनुसार गालिबलाई टुक्रा–टुक्रा पारिनेछ भन्ने सहरमा हल्लखल्ल निकै थियो । लु हेरौँ न त भनेर उनी पनि हेर्न गए तर कुनै तमासा भएन । अर्थात् कि हामीबाट यो गरिन्छ, ऊ गरिन्छ भनेर हल्ला फिँजाउनेहरू जताततै छन् । तर काम नै गरेर देखाउनेहरूको नितान्त अभाव छ ।

कन्टिर–बाबू यस्ता प्रवृत्तिहरूसँग सहमत छैनन् । तर चाहेर पनि उनी एक्लैले यस्ता प्रवृत्तिमा आमूल परिवर्तन गर्ने हैसियत राख्दैनन् ।

उनको प्रश्न छ– यस्तोमा के गर्ने होला साथी हो ?

प्रतिक्रिया दिनुहोस्: