birat ribon

चिडियाखानाका गोरिल्लामा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Neuro
चिडियाखानाका गोरिल्लामा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि

विराटनगर/अमेरिकाको चिडियाखानामा रहेका गोरिल्लामा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

सान डिएगो चिडियाखाना सफारी पार्कका तीनवटा गोरिल्लामा कोरोना भाइरसको सङ्क्रमण देखिएको चिडियाखानाले जनाएको छ । पार्ककी कार्यकारी निर्देशक लिसा पिटरसनले गोरिल्लामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिएकी हुन् । पार्कमा सँगै बस्ने आठ गोरिल्लालाई समेत भाइरसको सङ्क्रमण भएको विश्वास गरिएको छ ।

cura insider

चिडियाखानाका अनुसार अमेरिका र सम्भवतः विश्वमा गोरिल्लामा पहिलो पटक ज्ञात सङ्क्रमण भएको विश्वास गरिएको छ । दुईवटा गोरिल्लाले खोक्न थालेको र अन्य एकले लक्षण देखाएको बताइएको छ । त्यसपछि प्रारम्भिक परीक्षण गर्दा राष्ट्रिय भेटेरिनरी सेवा ल्याबोरेटरीको अमेरिकी विभागले तीनवटा गोरिल्लामा भाइरस रहेको पुष्टि गरेको हो ।

सङ्क्रमण पार्कको वन्यजन्तु हेरचाह टोलीको एक सदस्यबाट फैलिएको देखिन्छ, जसमा सङ्क्रमण पुष्टि भए पनि कुनै पनि लक्षण देखिएको थिएन । गोरिल्लाहरू परिवारमा बस्ने भएकाले सबै सदस्यहरुमा सङ्क्रमण फैलिएको हुनसक्ने चिडियाखानाका अधिकारीहरुले जनाएका छन् । सबै आठवटा गोरिल्लाको मलको नमुना परीक्षणका लागि लगिएको छ ।

‘खोकी र रुघाबाहेक सबै गोरिल्लाहरूको अवस्था राम्रो छ,’ पिटरसनले भनिन्, ‘यो टोलीलाई एकसाथ क्वारेन्टाइनमा राखिएको छ ।’ सबै गोरिल्लालाई सँगै राखिने छ किनकि समूहमा बस्ने गोरिल्लालाई छुट्याएर राख्नु हानिकारक हुन सक्छ ।

गोरिल्लाहरूमा भाइरसले कतिसम्म असर गरेको छ भन्ने विषय अहिलेसम्म थाहा भएको छैन ।

जनावरमा बढी गम्भीर लक्षणहरू देखा पर्न सक्ने हुँदा चिडियाखानाका अधिकारीहरूले मानवमा कोरोना भाइरसको उपचार गरिरहेका विशेषज्ञहरूसँग निरन्तर कुरा गरिरहेका छन् । गोरिल्लाहरूको डिएनएको ९८ प्रतिशतको हिस्सा मानवसँग मिल्दोजुल्दो हुन्छ र अध्ययनका अनुसार केही प्राइमेट कोभिड सङ्क्रमणको जोखिममा हुन्छन् ।

jackson ribon