Rumpum Advertisement

आफैँ मूल्य बढाएर पेट्रोलियम बिक्री गर्ने धम्की

आफैँ मूल्य बढाएर पेट्रोलियम बिक्री गर्ने धम्की

विराटनगर । आफ्नो कमिसन नबढाए १ माघदेखि पेट्रोलियम पदार्थको मूल्य आफूखुसी वृद्धि गरेर बिक्री गर्ने पेट्रोलपम्प व्यवसायीहरूले धम्की दिएका छन् ।

आयल निगमलाई साताअघि ज्ञापनपत्र बुझाउँदै पेट्रोलियम व्यवसायीको छाता संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पेट्रोल, डिजेल बिक्री गर्दा ५ प्रतिशत कमिसन पाउनुपर्ने माग राखेर यस्तो धम्की दिएका हुन् । हाल पेट्रोलपम्प सञ्चालकहरूले पेट्रोलमा ३.१२ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन पाउँदै आएका छन् ।

सरकारले तोकेको मूल्यमा पेट्रोलियम कारोबार गर्दै आएका व्यवसायीलाई निगमले नाफा र सञ्चालन खर्च तोकिदिने गरेको छ । तर, पछिल्लो चार वर्ष नाफाको दर एउटै भएको र यो अवधिमा सञ्चालन खर्च बढेकाले कमिसन वृद्धिको माग राखेको एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए ।

अन्य देशको तुलनामा नेपालमा ज्यादै थोरै कमिसनमा काम गरिरहनुपरेको उनको जिकिर छ । देशभर करिब १५ सय पम्प रहेका र तीमध्ये ३५ प्रतिशत पम्प मात्रै नाफामा सञ्चालन भइरहेको उनको भनाइ छ । मुलुकभरका पेट्रोलपम्पले दैनिक १५ लाख लिटर पेट्रोल र ४८ लाख लिटर डिजेल बिक्री गर्दै आएका छन् ।

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पेट्रोलपम्प व्यवसायीको ज्ञापनपत्र आएको र छलफल भइरहेको बताए । यदि पम्प सञ्चालकले जबर्जस्ती तोकिएभन्दा बढी मूल्य लिन खोजे इन्धन आपूर्ति नै बन्द गर्ने व्यवस्था छ । पेट्रोलपम्प सञ्चालनका लागि अनुमति दिन तथा कारोबार नियमन गर्नका लागि निगमले जारी गरेको ‘पेट्रोलियम पदार्थ विक्रेता विनियमावली, २०७५’ को दफा ३० (ठ) मा निगमले तोकेको बिक्री मूल्यमा पेट्रोलियम पदार्थ बिक्री नगरेमा इन्धन आपूर्ति बन्द गर्ने व्यवस्था छ ।

विनियमावलीअनुसार तीन महिनासम्म आपूर्ति बन्द गरी कारबाही गर्ने व्यवस्था छ । त्यसैले पम्प सञ्चालकले कमिसन वृद्धिको माग पूरा गर्न दबाब दिने उद्देश्यले बढी मूल्य असुले पेट्रोलपम्पलाई विनियमावलीअनुसार कारबाही गर्ने निगम अधिकारीहरूले बताएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ

प्रतिक्रिया दिनुहोस्: