Rumpum Advertisement

राम धामीसामु रामनामी र आँसुका केही थोपा !

Neuro
राम धामीसामु रामनामी र आँसुका केही थोपा !


सुविद गुरागाई

यादले सताइरहन्छ बारम्बार ।
सम्झना गराइरहन्छ बारम्बार ।

अग्रज गायक तथा सङ्गीतकार राम धामीलाई ‘जय श्री राम’लेखेको रामनामी ओढाएको तस्बिर खिच्दै गर्दा एकाएक मन भक्कानिएर आयो । आँसु थाम्नै सकिनँ । अबेला भइसक्यो तर आँखा अझै ओभाएका छैनन् ।

किन यति चाँडै ‘भगवानको घर’ जान हतार गरेको दाजु ? महफिल त बाँकी नै थियो । अझ भनौँ भर्खर सुरु भएको थियो जम्न । सितन खाएर साथ दिएकै थिएँ, खोजेको बेला समय दिएकै थिएँ । फेरि किन हतार गरेको ?

अस्ति मत्ला–ए–मनु मन्जिलवाला गजल ‘शीत भए बूँद–बूँद बगैँचामा झर्थें हुँला । तिमी फूल टिप्न आउँदा तिम्रो हातमा पर्थें हुँला !’ लाई लय सिर्जना गरेर सङ्गीत साधनाअगाडिको चिया पसलमा सुनाउँदै गर्दा … महफिल छोडेर जानेबारेमा कुनै चियो–चर्चो नै गर्नुभएन ।

त्यो गजलमा मैले थपेको शेर ‘कहिले यता कहिले उता बगर–बगर भौँतारिन्छु, तिमी वारि आइदिए पारि किन तर्थें हुँला ?’ मा ‘पारि किन तर्थे हुँला’ भन्ने शब्द तपाईलाई निकै मन परेको पनि सुनाउनुभयो । तर मलाई हतार छ भाइ त भन्नु नै भएन ।

लय सुन्दा किशोर बेलामा हामीले सुनेको ‘नाम अब्दुल है मेरा क्या … सबकी खबर रखता हुँ,’ सुनेजस्तो पो कता–कता लाग्ने र’छ दाइ भन्दा … त्यस्तो हुँदैन भाइ यसलाई म पाँचचोटि अलग–अलग शैलीमा गाएर फरक पार्छु … फाइनल भएपछि हेर्नु न भन्नुभयो । तर फेरि पनि कुनै कुरै गर्नुभएन ।

त्यो बेला मेरो सुद्धि पनि के भा’को ? मोबाइलमा रेकर्ड गर्नुपर्ने रै’छ ! तपाईसँगै गयो त्यो सिर्जना पनि । यति चाँडै मनोबल खस्काउनुहोला भन्ने के थाहा ?

त्यो बेला मेरो सुद्धि पनि के भा’को ? मोबाइलमा रेकर्ड गर्नुपर्ने रै’छ ! तपाईसँगै गयो त्यो सिर्जना पनि । यति चाँडै मनोबल खस्काउनुहोला भन्ने के थाहा ?

जे होस् अब नहुने कुरा भइसकेपछि धैर्यता साथ म ‘माथि’ आउने दिन पर्खिनुहोला । मलाई थाहा छ यो प्रतीक्षा अलि लामो हुनेछ … तर तपाईका अनेक गीत छन्, त्यो बेलासम्म ती गुन्गुनाउँदै गर्नुहोला । आफ्ना सकिए भने अरूका दुनियाँ गीत तपाईलाई आउँछ … अन्ताक्षरीमा कहिल्यै नहार्ने मान्छे … गाउँदै गर्नुहोला … आफ्नो ढङ्गले … हाँसीखुसी बसेर हामीलाई पर्खिनुहोला ।

त्यो बेलाको पहिलो भेटमै अर्को एउटा नयाँ गजल सुनाउँला । तर त्योभन्दा अघि ‘बूढा बेमतलबमा हामीलाई रुवाएर … के गरेको यस्तो ? भन्ने प्रश्न त सोध्छु–सोध्छु … हामी पनि हेरौँ न के जवाफ दिनुहुँदो रहेछ त्यो बेला !

कसम भनेको … बेला–बेलामा झगडा गरे पनि … ठुला कुरा गरे पनि तपाईलाई मैले मनैदेखि दाजु मानेको थिएँ । त्यही भएर बिदाइका बेलामा पाउमा शीर निहुराइदिएँ ! विचार गर्नुभयो नै होला !

यता, अहिले भने माफ गर्नुहोला … मन नलागी–नलागी मलामी गइयो । मन नलागी–नलागी तपाईको शरीर डढाएर खरानी बनाइयो … मन नलागी नलागी भावपूर्ण श्रद्धाञ्जली भनियो !

हामी आफन्त–शुभेच्छुक भनिएकाहरूलाई नियतिले जिम्मा लाएको काम नै त्यस्तै हो … खाइखेली गरेकी परानी … एकैछिनमा बनायौँ खरानी … !

अहिलेलाई यिनै श्रद्धा–शब्दहरूका साथ श्रद्धाञ्जली स्वीकार्नुहोला दाजु हजुर !

अनि तपाईद्वारा लय–सिर्जित मेरो ‘मर्जी हजुरकै’ गजल सुनेर मेरो प्रतीक्षाको सिलसिला प्रारम्भ गर्नुहोला । तपाईलाई थाहै छ … तपाईको भाइले असी वर्ष त जसरी भए पनि कटाउँछु भन्ने सोचेको छ … त्यो भनेको कति हो र ? अब २६ वर्ष न हो … !

भो योभन्दा धेर नभनुँ … जति भन्यो, जति सम्झियो उति रुन मन लाग्छ !

राम नाम सधैँ सत्य होस् !


https://www.youtube.com/watch?v=4e_fp6LWavg

प्रतिक्रिया दिनुहोस्: