Rumpum Advertisement

प्रधानमन्त्रीको गृह जिल्लाका दुई सांसद पार्टी एकता अभियानमा

प्रधानमन्त्रीको गृह जिल्लाका दुई सांसद पार्टी एकता अभियानमा

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका दुई जना प्रदेशसभा सदस्य पार्टी एकता अभियानमा लागेका छन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली पार्टी एकता अभियानमा लागेका हुन् ।

पार्टी विभाजनपछि तटस्थ रहेका बामदेव गौतमले एकताका लागि भन्दै छुट्टै अभियान सुरू गरेका छन् । त्यसको केही दिन पछि प्रचण्ड–माधव समूहका बुढाथोकी र मैनालीले एकता आह्वान गरेका हुन् ।

पार्टी एकता जोगाउनु पर्ने भन्दै उनीहरुले विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा बुढाथोकी र मैनालीसहित ७ जना स्थानीय नेताको हस्ताक्षर छ ।

केन्द्रमा दुईवटा छुट्टा छुट्टै केन्द्रीय कमिटी रहेपनि वैधानिक रुपमा पार्टी नफुटेका कारण एकता अभियानका लागि आह्वान गरेको बुढाथोकीले बताए ।

आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै उनले मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा भएकाे हस्ताक्षरका बारेमा थप कुनै निर्णय नभएको बताए ।

बुढाथोकीलाई ओली समूहले केन्द्रीय सदस्य मनोनित गरेको थियो । तर ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: