Rumpum Advertisement

मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरेका दुई सांसद ओली समूहमा

मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरेका दुई सांसद ओली समूहमा

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसद ओली समूहमा लागेका छन् । नेकपा विभाजनपछि प्रचण्ड–माधव समूहका ३७ सांसदले मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । ती मध्ये दुई जना ओली समूहमा लागेका हुन् ।

उदयपुरकी प्रदेशसभा सदस्य कला घले र मोरङकी प्रदेशसभा सदस्य बसन्तीदेवी यादव ओली समूहमा लागेका हुन् । घलेले केही दिन अघि पत्रकारसम्मेलन गरी ओली समूहमा फर्किएको बताएकी थिइन् । यादव भने शनिबार ओली समूहका नेकपा प्रवक्ता प्रदीप ज्ञवालीसँगको भेटपछि ओली समूहमा लागेकी हुन् ।

नेकपा विभाजनले बैधानिकता पाएको छैन । पार्टी विभाजनले वैधानिकता नपाउँदा केही सांसद अझै खुलेका छैनन । नखुलेका सांसदलाई तान्न दुवै पक्षले प्रयास गरिरहेका छन् ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा सत्तारुढ नेकपाका मात्रै ६७ जना सदस्य छन् । ति मध्ये प्रचण्ड–माधव समूहले आफ्नो पक्षमा ४७ जना रहेको र ओली समूहमा २० जना रहेको बताउँदै आएको थियो । तर अविश्वासको प्रस्ताव दर्ता हुँदा प्रचण्ड–माधव समूहका ३७ जनाले मात्रै हस्ताक्षर गरेका थिए ।

हस्ताक्षर नगरेका १० र हस्ताक्षर गरेका २० जनालाई ओली समूहले आफ्नो पक्षमा ल्याउन पहल गरिरहेको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १६ जनालाई ओली समूहले निलम्बन गरेको थियो । प्रचण्ड–माधव समूहले पनि मुख्यमन्त्री राईसँग असन्तुष्ट रहेकाहरुलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: