Rumpum Advertisement

प्रधानमन्त्री कप क्रिकेट : विराटनगरमा बन्द प्रशिक्षण सुरु

प्रधानमन्त्री कप क्रिकेट : विराटनगरमा बन्द प्रशिक्षण सुरु

विराटनगर । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश १ को टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । विराटनगरस्थित विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीमा बन्द प्रशिक्षण सुरु भएको हो ।

तीन दिनका लागि सुरु भएको प्रशिक्षणमा २३ खेलाडी सहभागि छन् । मोरङ, सुनसरी, झापा र इलामबाट चयन भएका खेलाडीबाट अन्तिम १४ जनाको टोली तयार हुने छनोट समितिका सदस्य राजकुमार प्रधानले जानकारी दिए ।

मङ्गलबार सम्पन्न हुने बन्द प्रशिक्षणमा मोरङबाट १०, सुनसरीबाट ६, झापाबाट ५ र इलामबाट २ जना खेलाडी रहेको प्रधानले बताए ।

ब्याटिङ र स्पिनर नै मुख्य हतियार हुनेगरी टोली तयार भइरहेको बताएका छनोट समिति सदस्य प्रधानले टोली तयारका लागि समय अपुग रहेको गुनासो गरे ।

विगतमा कमजोर आंकिएको प्रदेशको ब्याटिङ तालिकामा यसपटक धेरै सुधारसहित टोली बलियो हुने प्रधानको दाबी रहेको छ ।

पाँच वर्षअघि घरेलु टोली जर्सीविरुद्ध आइसिसी विश्व ट्वान्टी–ट्वान्टी छनोटका क्रममा हेलिकप्टर प्रहारबाट चर्चा कमाएका सिदान्त लोहनी भने बन्द प्रशिक्षणको समय कम भएको गुनासो गर्छन् ।

माघ २ गतेबाट काठमाडौंमा सुरु हुने पिएम कपका लागि तीन दिनको बन्द प्रशिक्षण खेलाडीका लागि कम हुने बताएका लोहनीले प्रतियोगितामा शतप्रतिशत नतिजा दिन सकिने उल्लेख गरे ।

राष्ट्रियस्तर र नयाँ खेलाडीबीचको मिश्रणले टोली बलियो हुने दाबी गरेका २४ वर्षीय लोहनीले ब्याटिङ र बलिङ पक्ष प्रदेशको हतियार हुने जानकारी दिए ।

तीन दिने बन्द प्रशिक्षणका लागि विराटनगर एकेडेमीका सञ्चालक अभिषेक श्रेष्ठले प्रदेश टोलीको अभ्यासका लागि स्थान निःशुल्क उपलब्ध गराएको जानकारी दिए ।

प्रतियोगितामा बलियो टोली त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, गण्डकी र कर्णाली प्रदेशसँग प्रदेश १ ले प्रतिस्पर्धा गर्नेछ । प्रदेश १ को टोलीले समूहमा आफ्नो पहिलो खेल माघ ३ गते सशस्त्र प्रहरी बलको टोलीविरुद्ध खेल्नेछ ।

काठमाडौंको मुलपानी र कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा प्रतियोगिता माघ २ देखि १७ गतेसम्म हुनेछ । यसअघि दाङको लमहीमा सम्पन्न प्रतियोगिताको महिलातर्फको उपाधि प्रदेश १ ले चुमेको थियो ।

प्रतिक्रिया दिनुहोस्: