Rumpum Advertisement

कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताउँदै खरिद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको बताएका छन् ।

खोप आयात भएको सात दिनभित्रमा वितरण सुरु भइसक्ने बताउँदै उनले खोप कार्यक्रमका लागि अहिले सञ्चालनमा रहेका करिब १६ हजार खोप केन्द्रहरूलाई परिचालन गरिने बताए ।

यस्तै ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविकाहरू परिचालन गरिने पनि बताउँदै उनले भने, ‘खोप आउँछ । निस्चित रूपले हामी समयमै लगाउँछौं र यो अभियानको रूपमा जान्छ । न्यायपूर्ण ढङ्गले यसको वितरण हुन्छ । त्यसका अरु तयारीहरू भइसकेको अवस्था छ ।’

खोपको प्राप्ति अन्य व्यवसायिक वस्तुको प्राप्तिजस्तो नभई राजनीतिक वस्तुको रूपमा देखा परेकाले आपूर्तिमा समस्या भएको पनि बताउँदै उनले तरपनि सरकारले खोप आयातका लागि राजनीतिक पहल गरिरहेको बताए ।

निजी क्षेत्रलाई पनि खरिद प्रक्रियाबाट टाढा राख्न नचाहेको मन्त्री त्रिपाठीले स्पष्ट पारे । पहिले सरकार सरकारबीच खरिद प्रक्रिया अगाडि बढाउने र त्यसपछि निजी क्षेत्रबाट समेत ल्याउन पहल गर्ने बताए ।

खोपको वितरण सबैभन्दा पहिला मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मीलगायत अग्रपङ्तिमा रहेका व्यक्तिहरूलाई, ५५ वर्ष उमेर माथिका र दीर्घ रोगीहरूको लागि उपलब्ध गराइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्: