Rumpum Advertisement

सरकारले लोकतन्त्रको मूल्य–मान्यतालाई दबायो : राणा

सरकारले लोकतन्त्रको मूल्य–मान्यतालाई दबायो : राणा

काठमाडौँ/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताएका छन् ।

सोमबार पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली दिन जुलुससहित सिंहदरबार पश्चिम गेटस्थित शाहको शालिकमा पुगेका विभिन्न सङ्घसंस्थाका व्यक्तिहरु र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष राणाले सरकारले अन्यायपूर्ण र गलत काम गरेको बताए ।

उनले मुलुकका निर्माता पृथ्वीनारायण शाहलाई कदर गर्न आउँदा दमन भएको भन्दै सरकारले प्रजातन्त्र तथा लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताए ।

अध्यक्ष राणाले सरकारमा बस्नेहरु राष्ट्रप्रति इमान्दार र बफादार बन्नुपर्ने बताए । मुलुकमाथि अत्याचार भएको भन्दै उनले अन्याय र अत्याचारविरुद्ध राप्रपा विरोधमा उत्रिने बताए । नेपालमा हिन्दु धर्म पुनर्स्थापित हुनुपर्ने र लोकतन्त्र जोगाउन पुरानो राजसंस्था आवश्यक रहेको उनले बताए ।

पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार पश्चिम ढोकास्थित पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गर्न राप्रपाका नेता कार्यकर्ता जुलुससहित पुगेका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले लाठीचार्ज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: