Rumpum Advertisement

जिदानलाई युभेन्टसको प्रशिक्षक बनाउन सहयोग गर्दै रोनाल्डो

जिदानलाई युभेन्टसको प्रशिक्षक बनाउन सहयोग गर्दै रोनाल्डो

विराटनगर । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले फ्रान्सेली कोच जिनेदिन जिदानलाई युभेन्टसको प्रशिक्षक बनाउन सहयोग गरिरहेको बताइएको छ । रियल मड्रिडका प्रशिक्षक जिदानलाई युभेन्टसको आगामी प्रशिक्षक बनाउन रोनाल्डो लागिपरेको इटालियन मिडियाहरूले जनाएका छन् ।

आन्द्रे पिर्लो यस सिजनको सुरुआतमा अप्रत्याशित रूपमा युभेन्टसको प्रशिक्षक बनेका थिए । युभेन्टसका पूर्व–खेलाडीसमेत रहेका पिर्लो मौरिजियो सार्री बर्खास्त भएपछि प्रशिक्षकको भूमिकामा क्लब फर्किएका थिए ।

युभेन्टस हाल लगातार दसौं लिग उपाधि जित्ने दौडमा छ । उसैगरी ऊ च्याम्पियन्स लिग पनि जित्ने दाउमा छ । यसका लागि च्याम्पियन्स लिगमा अझ धेरै अनुभव संगालेका कोचलाई नियुक्त गर्ने युभेन्टसको मनसाय रहेको बताइन्छ ।

पिर्लो हाल टोलीलाई माथि उकास्न सङ्घर्षरत छन् । हाल युभेन्टस सिरी ‘ए’का चौथो स्थानमा छ । १६ खेल खेलेको उसले नौ खेलमा जित, छ खेलमा बराबरी र एक खेलमा हार ब्यहोरेको छ । ऊ उपाधि दौडमा पछि परेको अवस्था छ । र, च्याम्पियन्स लिगमा पनि उसको प्रदर्शन सोचेअनुरुप भएको छैन ।

यदि, पिर्लो नेतृत्त्वमा यस्तै प्रकारको प्रदर्शन भएमा उनको भविष्य पनि युभेन्टसमा लामो देखिँदैन । यसकारण च्याम्पियन्स लिगमा राम्रो अनुभव भएको प्रशिक्षकको खोजीमा युभेन्टस लागिपरेको छ ।

खेल मिडिया ‘डन बालोन’का अनुसार युभेन्टसले पिर्लोलाई हटाउनु परेमा त्यस स्थानमा जिदानलाई ल्याउने सोचमा छ । जिदान भने रियल मड्रिडबाट ‘ट्रेबल’ उपाधि जित्ने र बर्नाबेउमै बस्ने जोड गरिरहेका छन् ।

तर, युभेन्टसको प्रयासमा स्ट्राइकर रोनाल्डोले सहयोग गरिरहेको बताइएको छ । रोनाल्डोले जिदानलाई टुरिन आउनका लागि ‘घचघच्याइरहेको’ खबरमा उल्लेख गरिएको छ ।

रियलमा रोनाल्डोले जिदानको नेतृत्त्वमा राम्रो प्रदर्शन गरेका थिए । उनले जिदानको नेतृत्त्वमा एक सय १४ खेल खेल्दा एक सय १२ गोल र ३० असिस्ट गरेका थिए । अब पुनः एकसाथ युभेन्टसबाट अगाडि बढ्ने रोनाल्डोको चाहना छ ।

प्रतिक्रिया दिनुहोस्: