Rumpum Advertisement

पर्यटन सहज हुने गरी मापदण्ड बनाउन सरकारसँग माग

Neuro
पर्यटन सहज हुने गरी मापदण्ड बनाउन सरकारसँग माग

काठमाडौँ/पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रलाई सहज बनाउने गरी मापदण्ड तयार गर्न सरकारसँग माग गरेका छन् ।

कोभिड–१९ का कारण करिब एक वर्षसम्म बन्द रहेको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्कन कोभिडसम्बन्धी मापदण्ड निर्माण गरी सुचारु गर्ने व्यवस्था गर्न व्यवसायीहरुले सरकारसँग आग्रह गरेका हुन् ।

बाह्य पर्यटकहरु तत्काल आउन सक्ने अवस्था नरहेकाले आन्तरिक पर्यटनको प्रबर्द्धन हुने गरी काम गर्न पनि माग गरेका छन् । आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई भेट्न सिंहदरबारस्थित मन्त्रालयमा पुगेका पर्यटन व्यवसायीहरुले यस्तो आग्रह गरेका हुन् ।

होटल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक साहले अन्तर्राष्ट्रिय पर्यटकहरु तत्काल आउन सक्ने अवस्था नभएकाले आन्तरिक पर्यटनको प्रबर्द्धनमा जोड दिन माग गरे । आन्तरिक पर्यटकहरुलाई पनि स्थानीय तहहरुले पीसीआर रिपोर्ट मागेका कारण आन्तरिक पर्यटन प्रबद्र्धनमा समस्या भएको बताए । आन्तरिक पर्यटनका लागि पनि छुट्टै मापदण्ड निर्माण गर्न माग गरे ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम सुवेदीले कोरोना खोप लगाएर आएका विदेशी पर्यटकलाई कसरी भ्रमण गराउने भन्ने सम्बन्धमा छुट्टै मापदण्ड बनाउनुपर्ने बताए । यस्तै पर्यटकहरुको प्रयाप्त रेकर्ड राख्ने व्यवस्था गर्नसमेत सुझाव दिए । नेपालबाट फर्किँदा कोभिड लिएर फर्किनु पर्छ कि भन्ने आशङ्का भएकाले पनि पर्यटकहरु आउन नसेको उनले बताए ।

आरोही सङ्घकी अध्यक्ष लाक्पा फुटी शेर्पाले लामो समय पर्यटन क्षेत्र बन्द हुँदा कामविहीन बनेका आरोहीहरु समस्यामा परेकाले राहत उपलब्ध गराउन माग गरिन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले प्रदेशमा रहेका पर्यटन कार्यालयमा कोभिडलाई कारण बनाई कर्मचारी नबस्दा समस्या हुने गरेको बताए । कर्मचारी नै नभएपछि नवीकरणका कामहरु प्रभावित हुने गरेको छ ।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयबीच आवश्यक समन्वय नहुँदा नेपाल आउन चाहने विदेशी पर्यटकहरुले भिसा पाउन समस्या भएको बताए । स्वास्थ्य मापदण्ड पालना गरी नेपाल आउने पर्यटकलाई क्वारेन्टाइनमा राख्न कुनै आवश्यकता नरहेको पनि उनको धारणा थियो ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)का अध्यक्ष अरनिको राजभण्डारीले रेस्टुरेन्ट व्यवसायीहरुलाई घरबहाल र श्रमिकहरुको तलब भुक्तानी गर्न अप्ठेरो परेको बताए । रेस्टुरेन्ट र बार पर्यटन क्षेत्रभित्र पनि नपर्ने भएकाले नेपाल राष्ट्र बैङ्कले दिएको राहत पाउनसमेत नसकिएको बताए । पुनर्कर्जाका लागि बैङ्कमा आवेदन दिँदासमेत बैङ्कहरुले प्रक्रियामा नलगिदिएको गुनासो गरे ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीका समस्या समाधान गर्न राज्यको स्रोत र साधनले भ्याएसम्म आफूले सकारात्मक भूमिकामा काम गर्ने बताए । मन्त्रालयको तर्फबाट ध्यान नपुगेर पर्यटन व्यवसायमा समस्या भएको छ भने त्यसको समाधानका लागि आफू तयार रहेको पनि मन्त्री ढकालले बताए । यस्तै आन्तरिक पर्यटनलाई जोड दिने र भारत तथा चीनबाट धार्मिक पर्यटक ल्याउन प्रचारप्रसारमा लाग्नेसमेत बताए ।

गत वर्ष चैत ११ गतेबाट लकडाउन सुरु भएपछि नेपालको पर्यटन क्षेत्र ठप्प छ । लकडाउन खुलेपछि पनि स्वास्थ्य मापदण्डका कारण अन्तर्राष्ट्रिय पर्यटक आउन सकेका छैनन् । आन्तरिक पर्यटन खुल्ला गरिएको छ । तर पनि निश्चित स्वास्थ्य मापदण्डअनुसार पर्यटन क्षेत्रलाई अगाडि बढाउन नसक्दा अझै लामो समयसम्म पर्यटन क्षेत्र प्रभावित भइराख्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्: