Rumpum Advertisement

दिल्लीमा पनि देखियो बर्ड फ्लू

दिल्लीमा पनि देखियो बर्ड फ्लू

विराटनगर/भारतको राजधानी नयाँ दिल्लीमा पनि बर्ड फ्लुको सङ्क्रमण देखिएको छ ।

दिल्लीका मयुर बिहार, सरिता बिहार, सञ्जय ताल र द्वारकामा केही दिनअघि मरेका हाँस र कागहरुको परीक्षण गरिएको थियो । विकास विभागको पशुपालन इकाईका डा. राकेश सिंहका अनुसार सोमबार बिहान आएको रिपोर्टका आधारमा ती मृत चराहरूमा बर्ड फ्लुको सङ्क्रमण भएको पुष्टि भएको हो ।

दिल्लीमा जीवित चराहरूको आयातमा प्रतिबन्ध लगाइएको छ भने गाजीपुरको सबैभन्दा ठूलो थोक कुखुरा बजार अस्थायी रूपमा बन्द गरिएको छ । पछिल्लो तीनदेखि चार दिनमा २७ वटा हाँस मृत अवस्थामा फेला परेपछि सञ्जय ताल पनि सावधानी उपायको रूपमा आगन्तुकहरुका लागि बन्द गरिएको छ । साथै, मृत चरा फेला परेको ठाउँमा डिसइनफेक्सन गर्ने काम जारी छ ।

गत साता बेगमपुर, सरिता विहार, दिलशाद गार्डेन र द्वारका डिडिए पार्कमा ९१ वटा कागहरू मृत अवस्थामा फेला परेको थियो । योसँगै बर्ड फ्लूको सङ्क्रमण पुष्टि गर्ने दिल्ली भारतको नवौँ राज्य बनेको छ । यसअघि महाराष्ट्र, उत्तर प्रदेश, केरला, राजस्थान, मध्य प्रदेश, हिमाचल प्रदेश, हरियाणा र गुजरातले लाखौँ चराको मृत्युको कारण एभिएन इन्फ्लुएन्जा अर्थात् बर्ड फ्लू भएको पुष्टि गरिसकेको छ ।

उत्तर प्रदेश पशुपालन विभागले धेरै सावधानी अपनाउन सुझाव दिँदै मानिसहरूलाई चिडियाखाना तथा चराघरमा जान र कुनै पनि पक्षीको सम्पर्कमा नपर्न आग्रह गरेका छन् । चराको कुनै पनि अप्राकृतिक मृत्यु भएमा रिपोर्ट गर्न पनि अधिकारीहरूलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: