Rumpum Advertisement

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ भने सावधान, गम्भीर रोग लाग्न सक्छ

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ भने सावधान, गम्भीर रोग लाग्न सक्छ

विराटनगर/प्रायजसो मानिस ल्यापटपअगाडि घण्टौँ अफिसको काम पूरा गर्न बसिरहेका हुन्छन् ।

कुर्सीमा घण्टौँ बसेर काम गर्दा प्रायः ढाड दुख्ने तथा कम्मर दुख्ने समस्याले दुःख दिन थाल्छ । काम पूरा गर्ने क्रममा शरीरको ख्याल गर्न समय पनि खासै पाइँदैन । एकै स्थानमा लगातार घण्टौँ बसेका कारण शरीरको तौल वृद्धि सँगसँगै विभिन्न प्रकारका रोगले शरीरलाई घेर्न थाल्छ । काममा व्यस्तताका करण मानिसले राम्रोसँग खान, सुत्न र व्यायामसमेत गर्न पाउँदैनन् ।

एक ठाउँमा लामो समय बसेर काम गर्दा शरीरको तौल बढ्न सक्छ । तौल बढेपछि मधुमेह, कोलेस्ट्रोल, मुटुसम्बन्धी रोगलगायत शरीरमा विभिन्न रोगको जोखिम पनि बढेर जान्छ । त्यसकारण, नियमित समयमा बसिरहँदा पनि शरीरको आसन परिवर्तन गर्न तथा सक्रिय रहन जरूरी हुन्छ ।

अफिसमा काम गर्ने बेलामा दिनभरि आठदेखि नौ घण्टा कुर्सीमा बसेरै काम गर्नुपरे पनि हरेक आधा घण्टामा दुईदेखि तीन मिनेटका लागि भए पनि सक्रिय रहनुपर्छ । शारीरिक गतिविधिले रक्त सञ्चारको गति बढाई हृदयको कार्यमा हुने जोखिमलाई कम गर्छ । कुर्सीमा घण्टौ बसेर काम गर्ने मानिसले बिहान २० देखि ३० मिनेटका लागि व्यायाम, योग वा प्राणायाम गर्नुपर्छ ।

शारीरिक गतिविधिले शरीरबाट हानिकारक पदार्थको ठूलो मात्रालाई फिल्टर गरेर यसलाई पसिना र पिसाबको माध्यमबाट बाहिर निकाल्ने काम गर्छ । तर, शरीरको शक्तिअनुसार व्यायाम गर्नुपर्ने हुन्छ । बाथ तथा पित्तका बिरामी, अधिक बिरामी, साना बच्चा, अधिक बुढो, भोका र तिर्खाएका मानिसले अत्यधिक व्यायाम गर्नु हुँदैन ।

व्यायामका साथै, सरल, सन्तुलित मात्रा र सही समयमा खाना खानुपर्छ । खानाको मात्रा प्रत्येक व्यक्तिको पाचनशक्तिमा निर्भर गर्छ । जाडो मौसममा न्यानो रहन लुगामा ध्यान दिनुका साथै केही समय घाममा पनि बिताउनुपर्ने हुन्छ । साथै, मधुमेह, रक्तचाप तथा अन्य रोगका बिरामीहरूले चिसोमा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्: