Rumpum Advertisement

विराटनगर विमानस्थल विस्तारका लागि ‘बाउन्ड्री सर्भे’, विस्थापित हुने सर्वसाधारण सङ्गठित

Neuro
विराटनगर विमानस्थल विस्तारका लागि ‘बाउन्ड्री सर्भे’, विस्थापित हुने सर्वसाधारण सङ्गठित

विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन एक सय २६ बिघा जमिन अधिग्रहणका लागि प्रक्रिया सुरु भएपछि प्रभावित क्षेत्रका सर्वसाधारणले सङ्घर्ष समित गठन गरेका छन् ।

उचित मुआब्जा र क्षतिपूर्तिको पहल गर्नका लागि सोमबार १५ सदस्यीय सङ्घर्ष समिति गठन गरेका हुन् ।

विराटनगर महानगरपालिका–४ मा रहेको विमानस्थल विस्तार हुँदा वडा नम्बर-४ का करिब तीन सय घर परिवार विस्थापित हुनेछन् ।

विमानस्थल विस्तारका लागि बाउन्ड्री सर्भे केही दिनअघि गरिएको थियो । विस्थापित हुने वडावासीलाई उचित मुआब्जा र क्षतिपूर्तिका लागि वेदराज पौडेलको संयोजकत्वमा विराटनगर विमानस्थल पीडित सङ्घर्ष समिति गठन भएको हो । जसमा विनोद भण्डारी, रेवतबहादुर खड्का सन्तोष, उद्धव कार्कीलगायत १५ जना सदस्य छन् ।

सङ्घर्ष समितिका संयोजक पौडेलले विमानस्थलको वरिपरि घर निर्माण गरेर वर्षाैदेखि बसोबास गर्दै आएका सर्वसाधारणलाई उचित क्षतिपूर्तिको पहलका लागि सङ्घर्ष समिति गठन गर्नु परेको बताए ।

विमानस्थल क्षेत्रीय र अन्तराष्ट्रियस्तरकै बन्नु पर्छ भन्ने आफूहरुको पहल हुने र विमानस्थल विस्तारमा कुनै अवरोध गर्ने नभई सङ्घर्ष समितिले राज्यबाट पाउने क्षतिपूर्ति न्यायसङ्गत व्यावहारिक हुनुपर्ने विषयमा पहल गर्ने पौडेलले बताए ।

पौडेलले राज्यले दिने क्षतिपूर्तिले अहिले बसिरहेको थाँतथलोभन्दा पनि सुगममा जमिन किनेर घर बनाउने सक्ने हैसियत हुनेगरि व्यवस्था गरिनु पर्ने माग गरे । क्षेत्रीय र पछि अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण गर्ने लक्ष रहेको विमानस्थलका लागि १२६ दशमलव ४६ बिघा जमिन अधिग्रहण गर्ने तयारी छ ।

विमानस्थल क्षेत्रीयस्तरको हुँदा विराटनगर महानगरपालिकासँगै सुनसरीको बर्जु गाउँपालिकासम्म विस्तार हुनेछ । क्षेत्रीयस्तरको निर्माण सम्पन्न हुँदा नेपालको दुई जिल्ला छुने एकमात्र विमानस्थल बन्ने छ ।

गत कात्तिक २७ गते विमानस्थल विस्तारका लागि आवश्यक पर्ने १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय मन्त्रीपरिषदले गरेको थियो । विस्तार हुँदा विमानस्थलको धावनमार्गको लम्बाइ दुई हजार पाँच सय सय मिटर लामो हुनेछ । हालको धावनमार्ग एक हजार पाँच सय मिटरको छ ।

साबिक विमानस्थललाई विस्तारका लागि पूर्वतर्फ ७.८३ बिघा, पश्चिमतर्फ ६९.१४ बिघा, उत्तरतर्फ ३५.८१ बिघा र दक्षिणतर्फ ८.८७ बिघा तथा सडकका लागि ३.७० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने एकिन गरिएको छ । त्यहीअनरुप अहिले बाउन्ड्री सर्भे गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: