Rumpum Advertisement

विराटनगर र उर्लाबारीबाट ब्राउन सुगरका चार कोरोबारी पक्राउ

Neuro
विराटनगर र उर्लाबारीबाट ब्राउन सुगरका चार कोरोबारी पक्राउ

विराटनगर । मोरङको उर्लाबारी र विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)का चार जना कारोबारीलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।

ब्राउन सुगर अन्तर्राष्ट्रिय बजारमा महँगो र उच्च गुणस्तरमध्येको लागुऔषध मानिन्छ । विराटनगरबाट एक जना भारतीय नागरिकसहित दुई युवा र उर्लाबारीबाट एक युवतीसहित दुई जना पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

उनका अनुसार उर्लाबारी नगरपालिका–६ मा रहेको होटल ह्याभन भ्यालीबाट मोरङको रतुवामाई नगरपालिका–१० का धजेन्द्र भट्टराई र मिक्लाजुङ गाउँपालिका–४ की २० वर्षीया कविता लिम्बू पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले १४ ग्राम ब्राउन सुगर फेला परेको छ । बरामद भएको यो परिणाम धेरै रहेको प्रहरीको भनाइ छ ।

मोरङको उर्लाबारीबाट पक्राउ परेकाहरुको साथबाट बरामद भएको ब्राउन सुगर लगायतका सामग्री ।

एसपी खड्काका अनुसार ब्राउन सुगरको कारोबार गर्नकै लागि दुवै जना मिलेर होटलको कोठा बुक गरेको पाइएको छ । भारतको पानी ट्यांकीबाट नेपाल भित्राएका उनीहरुको नेपालका विभिन्न भागमा सप्लाई गर्ने योजना थियो । तर प्रहरीले पक्राउ गरेपछि उनीहरुको योजना सफल हुन पाएन । प्रहरीका अनुसार उनीहरु कारोबारी र सेवनकर्ता भएको खुलेको छ ।

होटलको कोठा नम्बर ६ बाट पक्राउ परेका भट्टराई र लिम्बूको साथबाट प्रहरीले ब्राउन सुगरको खरिदबिक्रीमा प्रयोग गरिने नापतौल मेसिन पनि बरामद गरेको छ । मेसिन नै बरामद भएपछि र होटलको कोठामा योजना बनाएर अन्यत्र सप्लाई गर्ने तयारी गरिएका कारण उनीहरु यसको कारोबारमा संलग्न रहेको पुष्टि हुने प्रहरीको भनाइ छ ।

एसपी खड्काका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट होटलमा छापा हान्न प्रहरी पुग्दा दुवै जना ब्राउन सुगर सेवन गर्ने तयारीमा रहेको पाइएको छ । उनीहरुले झोला र होटलको कोठाभित्र रहेको खाटमुनि लुकाएको अवस्थामा ब्राउन सुगर फेला परेको हो ।

मोरङको उर्लाबारीबाट ब्राउन सुगरसहित पक्राउ परेका रतुवामाई नगरपालिका–१० का धजेन्द्र भट्टराई र मिक्लाजुङ गाउँपालिका–४ की २० वर्षीया कविता लिम्बू ।

उनीहरुको सम्पर्क र कनेक्सन भारतको पानी ट्यांकीमा ब्राउन सुगरको कारोबार गरेर बसेकाहरुसँग रहेको प्रहरीको भनाइ छ । त्यही सम्पर्कका आधारमा काँकडभिट्टा हुँदै नेपाल ल्याएर ब्राउन सुगर विभिन्न ठाउँमा महँगो मूल्यमा सप्लाई गर्ने गरेको पाइएको छ । उनीहरुले भारतीय व्यापारीसँग प्रति ग्राम १० हजार रुपैयाँमा ब्राउन सुगर खरिद गर्ने गरेको पाइएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरुले बरामद भएको ब्राउन सुगर एक लाख ४० हजार रुपैयाँभन्दा बढीमा खरिद गरेर ल्याएको खुलेको छ । प्रतिग्राम १० हजारजतिमा खरिद गरेर नेपाल ल्याएपछि त्योभन्दा महँगो मूल्यमा बिक्री गर्ने गरेको पाइएको प्रहरी स्रोतको भनाइ छ । नेपालमा ल्याएर उनीहरुले कति रुपैयाँमा बिक्री गर्ने गरेका छन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै विराटनगर महानगरपालिका–१० शान्ति चोकबाट प्रहरीले ब्राउन सुगरसहित दुई युवालाई नियन्त्रणमा लिएको छ । एक जना भारतीय नागरिक हुन् । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का २२ वर्षीय धमेन्द्र रजक र भारत अररीयाका २२ वर्षीय मोहम्द अफरोजलाई पक्राउ गरेको हो ।

विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका दुई युवाहरु ।

पक्राउ परेकाहरुको साथबाट चार ग्राम पाँच सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको एसपी खड्काले बताए । उनीहरुले भारतको जोगवनीबाट ब्राउन सुगर लिएर आएको खुलेको छ । पैदल नै रहेका उनीहरुले कसैलाई बिक्री गर्न खोज्दै गर्दा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

बिक्री गर्ने तयारीमा रहेका बेला पक्राउ परेका कारण उनीहरु पनि यसको कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ । ब्राउन सुगरसहित पक्राउ परेका चारै जनाविरुद्ध सोमबार लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइने एसपी खड्काले बताए ।

गाँजासहित दुई पक्राउ

यसैबीच मोरङको रतुवामाईको अलगअलग स्थानबाट प्रहरीले लागुऔषध गाँजासहित दुई जना वृद्ध पुरुषलाई आइतबार साँझ नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई घरैबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–३ का ७३ वर्षीय प्रेमकुमार श्रेष्ठ र रतुवामाई–५ का ६५ वर्षीय देवीप्रसाद सिलवाल रहेका छन् ।

प्रहरीका अनुसार श्रेष्ठको घरबाट पाँच सय ग्राम र सिलवालको घरबाट चार सय ५० ग्राम गाँजा बरामद भएको छ । दुवै जनाले घरैबाट गाँजाको कारोबार गर्ने गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: