विराटनगर । शरीरलाई कुनै पनि रोगबाट बचाउनका लागि प्रतिरक्षा प्रणालीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । तर, शरीरका सबै अङ्गजस्तै प्रतिरक्षा प्रणाली पनि उमेर बढेसँगै बूढो हुँदै जान्छ ।
इजरेलको टेक्निअन इन्स्टिट्यूट अफ टेक्नोलजीका प्रतिरक्षा प्रणालीविज्ञ शाइ शेन-ओरका अनुसार ८० वर्षको मानिसमा ६५ वर्षको जस्तो प्रतिरक्षा प्रणाली पाउन सकिन्छ भने कहिलेकाहीँ ठ्याक्कै यसको विपरीत पनि हुनसक्छ ।
उमेर बढेसँगै प्रतिरक्षा प्रणालीको न्यूट्रोफिल, मोनसाइट र एनके नामक तीनवटा कोषहरूले राम्ररी काम नगर्ने बर्मिङ्गम यूनिभर्सिटीस्थित इन्स्टिट्यूट अफ इन्फ्लमेशन एन्ड एजीङकी निर्देशक ज्यानेट लर्ड बताउँछिन् ।
तर, यसरी प्रतिरक्षा प्रणाली कमजोर बन्दै जानुमा उमेर मात्र कारण हुँदैन । त्यसमा वंशाणु र जीवनशैलीले पनि प्रभाव पारिरहेको हुन्छ ।
प्रतिरक्षा प्रणाली बूढो हुने क्रमलाई सुस्त बनाउनका लागि शारीरिक रूपमा सक्रिय रहनु मुख्य उपाय हो । ज्यानेटका अनुसार शारीरिक रूपमा सक्रिय रहने मानिसमा अत्यधिक टी सेल पाइएको छ ।
त्यस्तै अर्को एक अध्ययनअनुसार दैनिक दस हजार पाइला हिँड्ने मानिसमा न्यूट्रोफिल २० वर्षको मानिसमा जस्तो पाइएको छ ।
सामान्य शारीरिक अभ्यासले पनि प्रतिरक्षा प्रणालीको बुढ्यौलीलाई सुस्त पार्न सक्छ । शारीरिक रूपमा सक्रिय रहनुका साथै, सन्तुलित भोजन र पर्याप्त निन्द्राले पनि सहयोग पुर्याउँछ ।