Rumpum Advertisement

राष्ट्रपतिको गरिमामाथि हिलो छ्याप्न खोज्नेहरूले विरोध गरे : प्रम ओली

Neuro
राष्ट्रपतिको गरिमामाथि हिलो छ्याप्न खोज्नेहरूले विरोध गरे : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय स्वार्थका हिसाबले राष्ट्रपतिको गरिमामाथि हिलो छ्याप्न खोज्नेहरूले राष्ट्रपतिको विरोध गरेको बताएका छन् ।

आइतबार राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा सदस्यहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई प्रधानमन्त्रीले गरेको सिफारिसलाई लाहा छाप लाउने मात्र गरी सेरेमुनियल रूपमा राखेको भन्दै राष्ट्रपतिप्रति पुरातनवादी सोचका मान्छेहरू र मुलुकलाई पछाडि फर्काउन चाहानेहरूले दलीय स्वार्थका हिसाबले राष्ट्रपतिको गरिमामाथि हिलो छ्याप्न खोज्नेहरूले राष्ट्रपतिको विरोध गर्ने गरेका बताएका हुन् ।

राष्ट्रियसभा सदस्य अनिता देवकोटाले ‘यहाँले महाराज घोषणा गरियोस् भनेर राष्ट्रपतिकोमा पठाउनुहोला, राष्ट्रपतिले त्यो विज्ञप्ति जारी गर्नुहोला, के हामीले महाराज भनेर मान्ने ?’ भन्ने प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीले गरेको सिफारिस नमान्ने, आफ्नै ढङ्गले चल्ने राष्ट्रपति नभई सेरेमोनियल राष्ट्रपति राखेको बताए ।

सम्मानित संस्थाको रूपमा, संविधानको रक्षक र पालकको रूपमा, मर्यादाको रूपमा रहेर काम गर्ने राष्ट्रपति संविधानले व्यवस्था गरेको उनको भनाइ छ ।

राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझी ओली नेतृत्वको सरकार संविधानको धारा ७६ को उपधारा १ अनुसार नबनेको बताए । उनले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त सरकार धारा २ अन्तर्गत बनेको र प्रधानमन्त्रीले संसद्ले अर्को सरकार बनाउने सम्भावना हुँदाहुँदै किन संसद् विघटन गर्नुभयो भन्ने प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले सरकार निर्माणको बेलामा उपधारा १ अनुसार नभएपनि दुई राजनीतिक दल एकीकरणपश्चात दुई पार्टी मिलेर एउटै संसदीय दलको नेता आफू छानिइ सरकार संविधानको धारा ७६ को उपधारा १ अनुरुप परिणत भएको बताए ।

वर्तमान सरकार एकै दलको बहुमतको सरकार भएको र संसद् विघटनको सिफारिस गर्दासम्म आफू बहुमतप्राप्त दलको संसदीय दलको नेता रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले २०१७ सालमा राजा महेन्द्रले कु गरेजस्तै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षतामाथि तरबार झुण्ड्याएको बताइन् ।

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय सभा सदस्यहरू जितेन्द्रनारायण देव, प्रमिला कुमारी, रमेशजङ्ग रायमाझी, प्रकाश पन्त र अनिता देवकोटाले प्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीले आ–आफ्नो दलको चुनावको तयारीमा लाग्न सुझावसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्: