Rumpum Advertisement

अग्रज सङ्गीतकर्मी राम धामी अब सम्झनामा

अग्रज सङ्गीतकर्मी राम धामी अब सम्झनामा

सुनसरी / ‘कोरोना कोरोना कोरोना … कोरोनाको साङ्ली तोडौँ न,’ भन्दै आफ्नै शब्द, सङ्गीतमा गाएर युटुबमा राख्ने चर्चित सङ्गीतकर्मी तथा गायक राम धामी कोरोना जितेर अघि बढे पनि निमोनियासँग हारेका छन् ।

बिपी प्रतिष्ठान धरानमा निमोनियाको उपचार गराइरहेका धामी ५५ वर्षको मध्य उमेरमै आइतबार साँझ पाँच बजेदेखि सम्झनामा सीमित भएका छन् । कोरोना पोजेटिभ भएर दुई हप्ताअघि धरानको कोभिड अस्पताल भर्ना गरिएका धामीको बुधबार पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो ।

कोरोनामुक्त भएका धामीलाई निमोनियाको समस्या बाँकी रहेकाले बिपी प्रतिष्ठानको भेन्टिलेटरमा राखिएको थियो । उनी अस्पतालबाट सकुशल घर फर्किने सबै शुभेच्छुकहरूको आशा थियो । तर कसैले नसोचेको घटना भयो । उनी सशरीर कहिले नभेटिने गरी पत्नी, दुई छोरी, तिनका परिवारसहित इष्टमित्रसँग अस्पतालबाटै बिदा भए ।

इटहरीस्थित सङ्गीत साधना प्रतिष्ठानका अध्यक्ष राम धामी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व–प्राज्ञसभा सदस्य थिए । थारु जातीय लोपोन्मुख झुम्रा नाचबारे विशेष खोज-अनुसन्धान गरेका धामीले ५० भन्दा बढी गीत लय तथा सङ्गीत सिर्जना गरेका थिए भने उतिकै सङ्ख्यामा गीत गाएका थिए । उनका एक बोतल दारु, चढ्ले जवानी हमरा, चैत गेले वैशाख गेले, मैले माया तिमीसितै लाएँ, ए धामी दाइ त्यो केटीलाई, मेरो लासलाई हजार–हजार आँखाहरूले छोपिदिनुलगायत गीत चर्चित छन् । धामीले २०४८ सालमा रेडियो नेपालबाट स्वर–परीक्षा उत्तीर्ण गरेका थिए ।

धामीको शव सार्वजनिक श्रद्धाञ्जलीका लागि सोमबार बिहान आठ–बजेदेखि १० बजेसम्म सङ्गीत साधना प्रतिष्ठान आँपगाछी परिसरमा राखिने र त्यसपछि शवयात्रा गरिने धामीका सहकर्मी तथा नागरिक समाज इटहरीका महासचिव राजु केसीले बताए ।

प्रतिष्ठानका पूर्व–अध्यक्ष, सङ्गीतकर्मी मणि गुरुङका अनुसार धामीको निधनसँगै मुलुकले अनन्त सम्भावनासहितको पूर्वेली साङ्गीतिक नक्षत्र गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्: