Rumpum Advertisement

क्यापिटल हिलमाथि अराजक भिड र महँगो धुन्धुकारी

क्यापिटल हिलमाथि अराजक भिड र महँगो धुन्धुकारी

हरि अधिकारी

गत ६ तारिखका दिन संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डिसीको क्यापिटल हिलस्थित सङ्घीय संसद् भवनमा जुन आयतनमा शक्ति प्रदर्शन, तोडफोड र हिंसाचार प्रदर्शन भयो, त्यो यस महान् लोकतान्त्रिक राष्ट्रको दुई सय ४४ वर्षको इतिहासमै अभूतपूर्व थियो र घोर लज्जास्पद पनि । गत नोभेम्बर महिनामा भएको चुनावमा पराजित निवर्तमान राष्ट्रपति डोनाल्ड जोन ट्रम्पका समर्थकहरूको एउटा अराजक भिड यो लज्जास्पद घटनाको मुख्य जिम्मेवार हो ।

त्यस दिन संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपति पदमा विजयी भएका डिमोक्रेटिक पार्टीका जोसेफ रविनेट बाइडेन जुनियर र उपराष्ट्रपति पदमा विजयी भएकी सोही पार्टीकी कमला ह्यारिसले प्राप्त गरेको इलेक्टोरल मतको गणनालाई औपचारिकता प्रदान गरिँदै थियो । त्यो युगलको विजयलाई अमेरिकी संसद्का दुवै सदनको संयुक्त बैठकबाट औपचारिक रूपमा प्रमाणित गर्नुथियो । अमेरिकी संविधानले व्यवस्था गरेको त्यो औपचारिकता पूरा गर्न दुवै सदनका सदस्यहरू संसद् भवनमा जम्मा भइसकेका थिए । नवनिर्वाचित राष्ट्रपतिको विजयमाथि लालमोहर लगाउने संवैधानिक जिम्मेवारी पाएका अधिकारी उपराष्ट्रपति माइक पेन्स संसद्को संयुक्त सदनको अध्यक्षता गरिरहेका थिए ।

त्यही क्यापिटल हिलबाट अलिक पर रहेको अमेरिकी राष्ट्रपतिको कार्यालय र निवास रहेको सरकारी भवन ह्वाइट–हाउसका केही दिनका पाहुना बन्न पुगेका निवर्तमान राष्ट्रपति ट्रम्प र उनका समर्थकहरू भेला भएका थिए । आफ्ना प्रतिद्वन्द्वी जोसेफ बाइडेनको जितलाई परिणाम सार्वजनिक भएका दिनदेखि नै धाँधली र जालसाजी भनेर लगातार अस्वीकार गर्दै आएका ट्रम्प बाइडेन–ह्यारिसको विजयको औपचारिक घोषणा हुन नदिन कृत-संकल्पित देखिन्थे । उनले जनवरी ६ तारिखको त्यो घोषणा–सभालाई सहज रूपले सम्पन्न हुन नदिन आफ्ना समर्थकहरूलाई क्यापिटल हिल अगाडि जम्मा हुन धेरै दिन पहिलेदेखि नै आह्वान गरिरहेका थिए । त्यस दिनको कार्यक्रम बिथोल्ने ट्रम्पको योजनाअनुसार संयुक्त राज्यका विभिन्न राज्यहरूबाट उनका अन्धभक्तहरू अघिल्लो दिनदेखि नै वासिङ्टन डिसीमा भेला भइरहेका थिए ।

ट्रम्पले आफ्ना अन्ध–समर्थकहरूलाई संसद् भवनमा कब्जा गर्नुपरे गरेर भए पनि बाइडेन–ह्यारिसको जितको औपचारिक घोषणा रोक्न आदेशमात्र दिएनन्, आफ्नो सहायकका रूपमा चार वर्ष सँगै काम गरेका उपराष्ट्रपति माइक पेन्सलाई त्यो घोषणा नगरी डिमोक्रेट्सहरूको जितलाई उल्ट्याउन आग्रहसमेत गरे । उपराष्ट्रपति माइक पेन्स आठ करोडभन्दा बढी अमेरिकीहरूको प्रत्यक्ष मत र पाँच सय ३८ मध्ये तीन सय ६ इलेक्टोरल मत पाएका विजयी उम्मेदवार जोडीको जितको औपचारिक घोषणा रोक्नसक्ने अवस्थामा थिएनन् । उनको ब्रह्मले पनि शयद त्यसको अनुमति दिएन । उनले ट्रम्पको आग्रह अस्वीकार गरे ।

अमेरिकी संसद् भवनमा अराजक भिडको आगजनी । तस्बिर : एपी

त्यति हुँदा पनि घर–जग्गा दलालीको व्यवसाय हुँदै राजनीतिमा आई सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा विजयी भएका श्वेत–प्रभुत्ववादी नेता डोनाल्ड ट्रम्पले आफ्ना अन्ध–समर्थकहरूको भिडलाई क्यापिटल हिलस्थित संसद् भवनको चढाइ गर्न र त्यहाँ उपद्रवको ताण्डव नृत्य गर्न पठाइछोडे । अमेरिकाको राष्ट्रिय झन्डा र ट्रम्पको विजय भएको जनाउने विभिन्न आकारका ब्यानर र पताकाहरू सराबरीजस्तै बोकेका अधिकतर गोराहरूको त्यो उपद्रवी भिडलाई क्यापिटल हिलतर्फ कुच गर्नुअघि ट्रम्पले ह्वाइट–हाउसनजिकै एउटा पार्कमा उत्तेजक भाषामा सम्बोधन गरेका थिए ।
त्यस दिन मध्यान्नदेखि नै क्यापिटल हिलवरिपरिको वातावरणमा तनाव–व्याप्त थियो ।

पद्रवीहरूको सङ्ख्या लगातार बढिरहेको थियो । भिडमा भएका मानिसहरूमध्ये कैयौँसँग हतियार पनि थियो । करिब एक बजेतिर भिड संसद् भवनभित्र छिर्न उद्यत भयो । ठाउँ–ठाउँमा प्रहरीले राखेको बार–बन्देज भत्काउन सुरू गर्‍यो भिडले । कति जना भवनको देब्रेतिरको पर्खाल उक्लेर माथिल्लो तलामा पुगे । कतिले अगाडिको झ्याल फोरे । डेढ बजेसम्म संसद् भवनमाथि ट्रम्प समर्थक भिडले कब्जा जमाइसकेको थियो । उपद्रवीहरू संसद्को मुख्य बैठक हलमा पुगे । उनीहरूमध्ये एक जनाले अध्यक्षको कुर्सीमा आसन जमायो । कति जनाले भवनबाट झिकेर लानसकिने सामान उठाएर लगेको पनि देखियो ।

संसद्को बैठक हलमाथि भिडको कब्जा हुनुभन्दा केही समय पहिले नै सबै संसद् सदस्यहरूलाई प्रहरीले भवनकै बेसमेन्टमा भएको एउटा सुरक्षित कोठामा पुर्‍याएकोले ती माननीयहरू कसैको पनि ज्यानमा कुनै खति भने भएन । घटनामा उपद्रवीहरू र सुरक्षाकर्मी गरी ६ जना हताहती भएको बताइन्छ ।

कुनै पनि राष्ट्रको प्रतिष्ठा धूलिसात पार्न बदमासहरूको ब्रिगेड चाहिँदो रहेनछ, ट्रम्पजस्तो एउटै धुन्धुकारी भए पर्याप्त हुँदो रहेछ ।

अमेरिकाको इतिहासकै कलङ्कित दिनका रूपमा अभिलेखमा चढेको ६ जनवरी २०२० का दिन क्यापिटल हिलमा ट्रम्पियनहरूले गरेको हिंसाचारको नियन्त्रण गर्न सुरक्षा बललाई तीन घण्टा लाग्यो । स्थिति साम्य भएपछि संसद्को बैठक पुनः चालू भयो । इलेक्टोरल मत गणनाको परिणामलाई औपचारिक रूपमा घोषणा गरियो जसअनुसार विजयी उमेदवारद्वय जो बाइडेन तथा कमला ह्यरिसले तीन सय ६, तीन सय ६ र पराजित डोनाल्ड ट्रम्प तथा माइक पेन्सले दुई सय ३२, दुई सय ३२ इलेक्टोरल मत पाएको प्रमाणित गरिएको थियो ।

जनवरी ६ का दिन वासिङ्टन डिसीमा भएको त्यो लाजमर्दाे घटनाले डोनाल्ड ट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा बदनाम राजनीतिक व्यक्तिका रूपमा अङ्कित गरेको छ । ह्वाइट–हाउसमा उनको बसाइ पूरा दुई हप्ता पनि बाँकी छैन तर यसबीचमै उनलाई राष्ट्रपतिको पदबाट उपराष्ट्रपति माइक पेन्सको पहलमा संविधानको धारा २५ अनुसार हटाउनुपर्ने अथवा महाभियोग लगाएर घोक्रेठ्याक लगाउनुपर्ने माग चारैतिरबाट आएको छ । कङ्ग्रेसकी सभामुख न्यान्सी पेलोसी र बहुमत संसदीय दलका नेता चक सुमरले ट्रम्पमाथि महाभियोग लाग्नसक्ने सङ्केत गरेका छन् । सामाजिक सञ्जाल ट्विटर र फेसबुकले ट्रम्पमाथि प्रतिबन्ध लगाएर उनलाई एउटा अर्काे धक्का दिएका छन् ।

अमेरिकी संसद् भवनमा त्यस दिन भएको दुखद् घटना देखेर नैतिकता, विधि, सौहार्द र सहिष्णुतामा विश्वास गर्ने विश्वभरका मानिसहरू स्तब्ध भएका छन् । सारा विश्वलाई लोकतन्त्रको पाठ सिकाउने ढोङ गरिरहेको संयुक्त राज्य अमेरिकाको साख पनि धुजाधुजा भएको छ । कुनै पनि राष्ट्रको प्रतिष्ठा धूलिसात पार्न बदमासहरूको ब्रिगेड चाहिँदो रहेनछ, ट्रम्पजस्तो एउटै धुन्धुकारी भए पर्याप्त हुँदो रहेछ भन्ने पनि त्यस घटनाले प्रमाणित गरेको छ ।

अग्र तस्बिर – क्यापिटल हिलस्थित सङ्घीय संसद् भवनमा ट्रम्पसमर्थक अन्धभक्तको ज्यादती । तस्बिर : एपी

प्रतिक्रिया दिनुहोस्: