Rumpum Advertisement

बराबरीपछि ‘हिउँ’को दोष, यसरी असन्तुष्ट बने जिदान

Neuro
बराबरीपछि ‘हिउँ’को दोष, यसरी असन्तुष्ट बने जिदान

विराटनगर । स्पेनिस ला लिगामा साविकको विजेता रियल मड्रिडले बराबरी खेल्दै अङ्क बाँड्यो । शनिबार राति रियलले ओसासुनासँग गोलरहित बराबरी खेल्दै १–१ अङ्क बाँडेको हो ।

हिउँ–हिँउले ढाकिएको ओसासुनाको मैदानमा भएको खेलमा अङ्क बाँड्नु परेपछि रियलका प्रशिक्षक जिनेदिन जिदान असन्तुष्ट बनेका छन् । जिदान चिसो मौसमबीच खेल खेलाउने निर्णयका कारण रुष्ट बनेका हुन् ।

खेलपछि पत्रकारसँग बोल्दै उनले ओसासुनासँगको खेललाई मान्यता दिनु गलत निर्णय भएको बताए । स्पेनमा पछिल्ला दुई दिनयता भारी मात्रामा हिउँ परिरहेको छ । हिउँकै कारण शनिबार रातिलाई तय गरिएको एथ्लेटिको मड्रिड र एथ्लेटिक क्लबबीचको खेल स्थगन भएको थियो ।

तर, रियल भने पाल्मोना भ्रमण गर्न बाध्य भएको थियो । उनीहरू सवार जहाज अवतरण गर्न पनि तीन घण्टा प्रतीक्षा गर्नुपरेको थियो । पाल्मोनामा अत्यधिक हिउँ परेका कारण रियल र ओसासुना दुवैलाई खेल्न कठिनाइ भएको थियो ।

अझ, रेलिगेशन जोनको टोलीसँग रियलले अप्रत्याशित बराबरी खेल्यो । बराबरीपछि रियलका प्रशिक्षक जिदान भने निराश देखिए । उनले पत्रकार सम्मेलनका क्रममा भने, ‘हामीले मैदानमा जति सक्यौं त्यति ग¥यौं तर यो एउटा फुटबल म्याच थिएन । अवस्था धेरै गम्भीर थियो ।’

रियल मड्रिडको टोली खेलपछि पनि घर फर्किन पाएन । अत्यधिक हिउँ परेका कारण उनीहरूको बास पाम्लोनाकै एक होटलमा भयो ।

‘पछिल्ला दुई दिनमा धेरै गाह्रो भइरहेको छ । हामीलाई थाहा छैन कि हामी कहिले फर्किन सक्छौं । यो स्पष्ट छ कि, ओसासुनासँगको खेल स्थगित हुनुपर्ने हो । फुटबल खेल्ने अवस्था थिएन अहिले,’ उनले भने ।

बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । दोस्रो स्थानको रियलले १८ खेलमा ३७ अङ्क जोडेकाे छ । शीर्ष स्थानकाे एथ्लेटिकाेसँग ३८ अङ्क छ । एथ्लेटिकाेले रियलभन्दा तीन खेल कम खेलेकाे छ ।

ओसासुना भने १५ अङ्कका साथ १९औं स्थानमा छ ।