Rumpum Advertisement

टोखामा चाकु बनाउन भ्याईनभ्याई

Neuro
टोखामा चाकु बनाउन भ्याईनभ्याई

काठमाडौँ/माघे सङ्क्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याईनभ्याई छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलन रहेको छ, त्यसैले यो समयमा चाकुको खपत पनि बढी हुन्छ ।

यस वर्ष कोभिड–१९को प्रभावका कारण चाकुको माग कम छ । तर पनि उद्यमीहरुलाई चाकु बनाउन भ्याईनभ्याई छ ।

काठमाडौंको टोखा चाकुका लागि प्रशिद्ध शहर हो । टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा छन् । माघे सङ्क्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीहरुलाई चाकु बनाउन भ्याईनभ्याई छ ।

सख्खरलाई पकाएर राम्रोसँग फेटेपछि निर्माण हुने चाकु माघे सक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ । माघे सङ्क्रान्तिलाई नेवारीमा ‘घ्यःचाकु संल्हू’ भनिन्छ । नेवारी समुदायमा माघ एक गते मनाइने पर्वमा घिउ र चाकुको परिकार निकै महत्वपूर्ण मानिन्छ ।

टोखा चाकु प्रोडक्सनका सञ्चालक हंसराज श्रेष्ठले यस वर्ष कोभिडको कारण चाकुको माग कम भएको बताए । खासगरी चाकु जाडो महिनामा खाने प्रचलन छ । जाडो महिनामा चाकु खाँदा शरीर तात्ने भएकाले पनि पुस लागेदेखि नै चाकुको माग बढ्ने गर्छ ।

माघे सङ्क्रान्तिमा चाकुको माग बढ्ने भएकाले चाकु बनाउने कामलाई उद्यमीहरुले तीव्रता दिएका छन् । यस वर्ष सख्खरको मूल्य बढेको भए पनि चाकुको मूल्य नबढाइएको श्रेष्ठले बताए ।

चाकु बनाउन पहिला उखुलाई पेलेर रस निकालिन्छ र उक्त रसलाई पकाएर सख्खर बनाइन्छ । हिजोआज टोखामा तराईबाट खरिद गरी ल्याइएको सख्खरबाट चाकु बनाइन्छ । सख्खरलाई करिब तीन घण्टासम्म पकाउने, करिब आधा घण्टासम्म चिस्याउने र राम्रोसँग तन्काएर छाड्नु पर्छ । जसले गर्दा चाकुको रङ रातो हुन्छ भने खानका लागि पनि नरम र स्वादिलो हुन्छ । श्रेष्ठका अनुसार ५० केजी चाकु बनाउन करिब पाँच घण्टा लाग्छ ।

चाकु उत्पादनमा टोखा प्रसिद्ध भएका कारण मानिसहरु चाकु किन्नका लागि टोखासम्म पुग्ने गर्छन् । टोखाको चाकु सबैभन्दा धेरै उपत्यकामै बिक्री हुने गर्छ भने विदेशबाट समेत माग आउने गरेको व्यवसायीहरु बताउँछन् । टोखामा परम्परागत शैलीबाट चाकु बनाइने हुँदा पनि मानिसहरुले टोखाकै चाकु खान मन पराउँछन् ।