Rumpum Advertisement

निःसन्तान हुनुमा महिलालाई मात्र दोष दिनु गलत

Neuro
निःसन्तान हुनुमा महिलालाई मात्र दोष दिनु गलत
डा. दिपककुमार ठाकुर
युरोलोजिस्ट, विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल

विवाह गरेको लामो समय बितिसक्दा, पति–पत्नी नियमित यौन–सम्पर्कमा हुँदा पनि बच्चा नबस्दा, लामो समयसम्म बच्चा जन्माउने प्रयाग गर्दा–गर्दै पनि सफल हुन नसकेमा उनीहरूलाई निःसन्तान दम्पती भनिन्छ ।

कुनै पनि दम्पतीमा बच्चा नभएको खण्डमा पुरुष र महिला दुवै जना बराबर जिम्मेबार हुन्छन्, जसकारण एउटाले गर्दा बच्चा नभएको भनी दोष दिन मिल्दैन । यस्तो समयमा सम्बन्धित डाक्टरसँग परामर्श लिनु तथा समयमा उपचार गर्नु जरुरी हुन्छ । महिलासम्बन्धी देखिएको समस्याको पाटो स्त्री तथा प्रसूति रोग विशेषज्ञले हेर्छन् भने पुरुषहरूका लागि चाहिँ एन्ड्रोलोजिस्ट (युरोलोजीअन्तर्गतको एक शाखा चिकित्सक)ले समस्या समाधानको उपाय पहिल्याउँछन् ।

पुरुषमा प्रायः विर्य उत्पादन नहुने, विर्य उत्पादन भए पनि पुग्ने मात्रामा नआउने, कसैमा लिङ्गको उत्तेजना नहुने, विर्य नझर्ने, अण्डकोष सुकेर जाने, अण्डकोषमा हुने अन्य समस्या वा दिमागमा हुने दबाबका कारण विर्य उत्पादनमा समस्या हुनसक्छ, जसकारण पुरुषमा नपुंसकता हुनसक्छ । पुरुषमा हुने नपुंसकता के कारणले भएको पत्ता लगाई यसको समयमा उपचार गर्न आवश्यक हुन्छ ।

पुरुषमा प्रायः बच्चामा गल्फुल्लोको समस्या भएमा अण्डकोष सुक्ने हुनसक्छ । विर्य बन्ने ठाउँ अण्डकोष नै नहुँदा वा अण्डकोषमा समस्या हुँदा पछि गएर समस्या हुनसक्छ । साथै अत्यधिक धुम्रपान, मदिरा तथा सुर्तीजन्य पदार्थको सेवन, कुनै औषधिको लामो समयको प्रयोग, अण्डकोषमा चोटपटक लागेमा वा जन्मिँदै अण्डकोषको राम्ररी विकास नभएमा पुरुषमा निःसन्तानको समस्या आउन सक्छ ।

पुरुषमा हुने नपुंसकता प्रायः मानसिक कारण र केही स्पष्ट शारीरिक कारणले गर्दा हुन्छ । हालको समयमा मानसिक कारणले पनि यौन समस्या बढ्दो छ । शारीरिक स्वास्थ्यमा समस्या र मानसिक समस्या आपसमा सम्बन्धित हुन्छन् । यदि कसैलाई लामो समयसम्म कुनै शारीरिक समस्या भएको छ भने मानसिक रोग हुने सम्भावना पनि धेरै हुन्छ ।

शारीरिक समस्या नभए पनि, काम तथा घर–परिवारमा हुने तनाव, सयम बिताउने वातावरण राम्रो नभए पनि मानसिक रोग लाग्ने सम्भावना रहन्छ । उपचारका लागि पहिले बिरामीलाई शारीरिक वा मानसिक समस्याका कारण नपुंसकता भएको हो वा होइन भनेर छुट्याउन जरुरी हुन्छ । अनि बल्ल अन्य उपचार गर्न सकिन्छ ।

सुरुमा नपुंसकता नहुने पुरुषमा पछि गएर बाँझोपनको समस्या निम्तिन सक्छ । साथै, सुरुमा बाँझोपनको समस्या भएका पुरुषहरू पछि गएर स्वस्थ पनि हुने गर्छन् । सुरुमा नपुंसक नहुने तथा स्वस्थ पुरुषमा माथि उल्लेखित पक्षका कारण बाँझो हुनसक्छन् । यो समाधान नै नहुने भन्ने रोग चाहिँ होइन ।

समाजमा दम्पती निःसन्तान हुनुका पछाडि महिलालाई मात्र दोष दिने गरिन्छ, जुन गलत हो । यसमा महिला मात्र नभई पुरुष पनि उत्तिकै जिम्मेवार हुन्छन् भनेर बुझ्नुपर्छ । यस विषयमा समाजमा चेतना फैलाउनु एकदम आवश्यक छ । के कारणले सन्तान नभएको हो, त्यसको जरो कारण पत्ता लगाई उपचार गर्न सकिन्छ । एक जनालाई दोष दिएर सन्तान नभएको भनेर भन्न तथा हेप्न मिल्दैन । ओपिडीमा आएर पुरुषहरूले आफूलाई नपुंसकता वा यससम्बन्धी समस्या छ भनेर भन्नसमेत धेरैले गाह्रो मान्ने गरेका छन् ।

यस्ता बिरामािलाई धेरै प्राइभेसी (गोपनीयता) चाहिने हुन्छ । उनीहरूका साथै आएका मानिसलाई समेत राम्ररी सोधपुछ गरी यस बारेमा बुझाउन आवश्यक हुन्छ । बिरामीलाई जनरल ओपिडीमा आउन गाह्रो हुने हुँदा अस्पताल आएका यससम्बन्धी बिरामीलाई प्राइभेट क्याबिनमा राखेर सोधपुछसमेत गरिन्छ । हामीसँग विभिन्न विकल्पहरू छन्, जसलाई प्रयोग गरेर निःसन्तानको समस्यामा सफल उपचार पाएका उदाहरण पनि धेरै छन् ।

हालको समयमा टेस्ट–ट्युब बेबीदेखि लिएर सरोगेसी (पत्नीबाहेक अन्य महिलाको कोख भाडामा लिने)को सहायता पनि लिन सकिन्छ । तर आफ्नै स्वास्थ्यलाई सुधारेर पनि यस समस्याको रोकथाम वा उपचार गर्न सकिन्छ । स्वास्थ्य जीवनशैली अपनाउने, खानपानमा ध्यान दिने, नियमित व्यायाम गर्ने, शरीरको तौललाई ठिक राख्ने, चुरोट, रक्सी तथा लागुपदार्थको सेवन नगर्नेलगायत स्वस्थ रहने तरिका अपनाए यस्ता समस्यालाई केही हदसम्म रोकथाम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्: