Rumpum Advertisement

विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु

Neuro
विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु

विराटनगर । विराटनगरमा स्कुल जाँदै गरेकी एक बालिकाको ट्र्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आइतबार भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ ७०३९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा ६ वर्षीया बालिका त्रीसा श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

बालिका विराटनगर महानगरपालिका–६ बस्ने गङ्गा श्रेष्ठकी छोरी हुन् । उनी मेरीगोल्ड स्कुलको कक्षा १ मा अध्ययनरत रहेको परिवारले जनाएको छ ।

ट्र्याक्टरले बालिका सवार साइकललाई बिहान १० बजेतिर विराटनगर–६ केसलीया नहरनजिक ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा न्युरो अस्पतालमा दिउँसो १ बजेतिर मृत्यु भएको डीएसपी राईले बताए ।

उनका अनुसार नातामा दिदी पर्ने १५ वर्षीया रेणुका श्रेष्ठले चलाएको साइकलको पछाडि बसेर बालिका स्कुल जाँदै थिइन् । स्कुल जानेक्रममा भएको दुर्घटनामा परेर बालिकाको मृत्यु भएको छ भने साइकल चलाएकी रेणुका सकुशल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि ट्र्याक्टर र चालक सुनसरीको बर्जु गाउँपालिका–२ का २५ वर्षीय सञ्जय ऋषिदेवलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।