विराटनगर/डेढ महिनाको अवधिमा कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा दुईवटा जङ्गली हात्ती मरेका छन् । विद्युतीय धरापमा परी सप्तरीमा दुईवटा हात्ती मरेका हुन् ।
शनिबार बिहान खडक नगरपालिका–४ मा विद्युतीय धरापमा अन्दाजी ३५ वर्षको दारासहितको भाले हात्ती मरेको हो । कोसीटप्पु वन्यजन्तु आरक्षबाट आहाराको खोजीमा गएको हात्ती विद्युतीय धरापमा परेको थियो ।
सप्तरीकै कञ्चनरुप नगरपालिका–५ मा ७ मङ्सिरमा एउटा हात्ती मरेको थियो । आहाराको खोजीमा पुगेको हात्तीले विद्युत पोलमा शरीर धसारेपछि चुडिएको तार लाग्दा हात्ती मरेको थियो ।
वर्षाैँ पुरानो बाटोमा लगाइएको विद्युतीय धरापमा परेर हात्ती मरेको कोसीटप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत अशोक रामले बताए । उनका अनुसार आरक्षणमा आएका जङ्गली हात्ती पश्चिमतर्फ जाँदैछन् । बाटोमा विद्युतीय धरापमा परी दुई हात्ती मरेको उनले बताए ।

मकुना जोगाउन गृहकार्य
आरक्षका संरक्षण अधिकृत रामका अनुसार कोसीटप्पुको रैथाने हात्ती मकुनाको बाटोमा पनि पछिल्लो समय विद्युतीय धराप थापिएको छ । दक्षिणतर्फ व्यक्तिले आफूखुसी धराप थापेका कारण मकुना जोखिममा परेको उनले बताए ।
‘मकुनालाई जोगाउन हामीले सक्दो प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘संरक्षणमा सबैको सहयोग आवश्यक छ ।’ आहाराको खोजीमा गाउँ पस्ने मकुनालाई आरक्षभित्रै राख्ने प्रयास भइरहेको उनले बताए ।