Rumpum Advertisement

महत्त्वहीन कुराबाटै महत्त्वपूर्ण अनुसन्धान

महत्त्वहीन कुराबाटै महत्त्वपूर्ण अनुसन्धान

अब हाम्रो अनुसन्धान यात्रा पामाखाम हुँदै कटुन्जेतिर लाग्छ । बाटो तेर्साे थियो ।

एक घन्टा जति हिँड्दा जहिले पनि उडाउला झैंं हावा चल्ने बतासे भन्ज्याङ, ‘पामाखाम’ पुग्यौं । सानो छँदा, आमासँग मावली गाउँ जाँदा कयौँ पल्ट यो बतासे भन्ज्याङ आइपुग्ने बेलामा आमाले मलाई गह्रौं झोला बोक्न दिनुहुन्थ्यो । नत्र त साना केटाकेटीलाई हु¥याइहाल्थ्यो हावाको झोक्काले ।
अचेल पनि पामाखाममा उस्तै हावा चल्दोरहेछ । यहाँ टोपी वा गलबन्दी राम्ररी लगाउनुपर्छ वा समातेर हिँड्नुपर्छ ।

हिमाली खस्रे राई बान्तवा भोरोप, अङ्ग्रेजीमा हिमालयन टोड, वैज्ञानिक नाउँ दत्तफ्रिनस हिमालयनस

भौगोलिक रूपमा, यो यस्तो भन्ज्याङ छ, जुन पूर्व–नाकाबाट बेहेरे खोला निस्केर पिखुवामा मिसिई अरूण नदीसँग मिल्छ । यसैगरी, पश्चिमपट्टिबाट लिकुवा र सावा खोला उत्पन्न भएर विशाल अङ्ग्रेजीको भी आकारको बेंसी बनाएर दूधकोसीमा मिसिन्छ । उत्तरतिर हलहले, कपासे, सेल्मे हुँदै सर्वोच्च पहाड टेम्के (तीन हजार तीन सय मिटर)सम्मको शृङ्खला फैलिएको छ भने दक्षिणतिर धिन्ताङको लेक हुँदै आमचोक, भिमाचोक, मूलडाँडा (दुई हजार तीन सय मिटर)सम्म पुगी पसल भन्ज्याङ, सिन्द्राङ, पूर्णेडाँडा हुँदै सीधै त्रिवेणीसम्म झरेको हुँदा यहाँको मौसम अचम्मैको छ ।

बिहानतिर, अरूण उपत्यका तातिँदा दूधकोशी उपत्यकाबाट हावा बग्छ । अनि बेलुकातिर सावा खोला, दुधकोसी तात्तिएर कम चाप हुँदा पिखुवा अरूणतर्फको हावा उता जान्छ । हावा जाने–आउने एउटा मात्र नाका हो यो पामाखाम भञ्ज्याङ । त्यसैले यहाँ सधैँ बढी चापमा हावा बहेको हो । हावा सँगसँगै कुइरो पनि बहने गर्छ । यसको भौगोलिक विशेषता नै यही हो ।

होइन, अरू विषयै नपाएर यस्तोमा गरेको हो भने ठिकै छ !

पामाखाम भन्ज्याङ्को चौतारीमा बिसाएर थर्माेमिटर र अल्टिमिटरले तापक्रम र उचाइ हेरेँ । अल्टिच्युड दुई हजार एक सय मिटर र तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेछ । त्यहाँनजिकै एक–एक जना शेर्पा र मगर भाइ भेटिए । उनीहरूसँग त्यहाँ पाइने भ्यागुताबारे सोधेँ । छेउमा मसिना आहालहरू रहेछन् । तिनको पनि अवलोकन गरेँ । त्यहाँ प्रशस्तै हिमाली खस्रे भ्यागुता (दत्तफ्रिनस हिमालयानस) पाइने रहेछन् । त्यसको फिल्ड–नोट तयार पारेँ ।

सरीसृप अध्ययन तथा खोजका सिलसिलामा लेखक मध्य–पहाडी क्षेत्रमा ।

यो भन्ज्याङ कट्नासाथ खोटाङ जिल्ला सकिएर भोजपुर जिल्ला सुरु हुन्छ । त्यहाँबाट अब तल कटुन्जेतर्फ लाग्यौं । बाक्लो गाउँँ । निकै तल झरेर नेपाल गाउँँ पुग्यौँ । त्यहाँको माध्यमिक विद्यालय घुम्यौँ र पुनः ओरालो लाग्यौं ।

कटुन्जे निकै उर्वर भूमि रहेछ भन्ने कुरा जताततै धान लगाएको र हरियाली छाएकोले पुष्टि गर्छ ।
नेपाले डाँडै–डाँडा निकै तल झरेपछि मेरो मावली दाइ रामप्रसादको घर पुग्यौँ । भाउजू र भतिजाहरू अघिल्यै दिन आइसकेछन् । हामी भने पानी–झरीले गर्दा समयमै त्यहाँ पुग्न सकेनौं ।
रामप्रसाद दाइको घरमा ढोगभेट चल्यो । त्यो घरमा मेरो दोहोरो साइनो पर्छ । रामप्रसाद दाइले केदार दाइकी दिदी योगमाया बिहा गर्नुभएको हुनाले उहाँ मेरी वंश–दिदी पर्नुहुन्छ । रामप्रसाद दाइ भने मेरो कान्छा बिकु (मामा)को छोरा मावली दाजु । यसर्थ दाजु–दाजु नै र दिदी–दिदी नै पर्नुहुन्छ । भोक लागेर पुगिएको, खाना पाकिसकेको रहेछ । खाइवरी गफ गर्न लाग्यौँ ।

त्यहाँ पनि पारिवारिक भलाकुसारीपछि मेरो पिएचडी (द्यिावारिधि)को विषयमा चर्चा भयो । रामप्रसाद दाइले भनिहाल्नुभयो, ‘होइन, अरू विषयै नपाएर यस्तोमा गरेको ?’
मैले ‘यो विषय नेपालमा अहिलेसम्म कसैले गरेकै छैन । यसर्थ म पहिलो व्यक्ति हुन सुरु गरेको हो, दाइ !’ भनेर जवाफ दिएँ ।

‘लौ त्यसो भए ठिकै छ, बेहेरे खोला, नाग छाँगा र लकलम्पातिर पाहाहरू थुप्रै छ है भाइ !’ भन्दै हाँस्नुभयो ।

मुसुमुसु हाँस्दै योगमाया दिदीले पनि ‘लौ कान्छा, पाहामा पढ्दै छस् भन्दा, सुन्दा अचम्म लाग्यो !’ भन्नुभयो ।

अब मलाई यस्ता वाक्यहरूले असर पार्न छाड्यो । महत्त्वहीन कुराबाटै महत्त्वपूर्ण अनुसन्धान सुरु हुन्छ भनी अठोट गरेँ ।

क्रमश:
मेरो अनुसन्धान यात्राबाट

प्रतिक्रिया दिनुहोस्: