Rumpum Advertisement

बधशाला लागुऔषध प्रयोगकर्ता र प्रेमिल जोडीको गन्तव्य-स्थल

दुई वर्षमा निर्माण सम्पन्न गर्ने महानगरको लक्ष्य

बधशाला लागुऔषध प्रयोगकर्ता र प्रेमिल जोडीको गन्तव्य-स्थलदुई वर्षमा निर्माण सम्पन्न गर्ने महानगरको लक्ष्य

मोहन ढकाल

विराटनगर / विराटनगरमा निर्माणाधीन बधशाला लागुऔषध प्रयोगकर्ताको अखडाको रुपमा परिणत हुन थालेकोे छ । त्यस्तै जुवातास खेल्ने र प्रेमिल जोडी भेटघाट गर्ने एकान्तस्थल बन्दै गएको छ । लामो समयदेखि अलपत्र छाडिएका कारण बधशालाले आजभोलि यस्तो परिचय बनाएको हो ।

२०६६ सालबाट निर्माण सुरु गरिएको बधशालाको काम अहिलेसम्म रोकिएको छ । जसका कारण बनेको संरचनासमेत जीर्ण भइसकेको छ । बधशालाको माथिल्लो तलामा दिसा, रक्सीका बोतल, चुरोट र गुड्खाका खोलमात्रै देखिन्छ । विराटनगरवासीलाई स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यका साथ निर्माण सुरु भएको बधशालाले आजभोलि यस्तो परिचय बनाएको छ । स्थानीयले लागुऔषध प्रयोगकर्ता, प्रेमिल जोडी, जुवातास खेल्नेको अड्डाको रुपमा निर्माणाधीन बधशालाको परिचय दिने गरेका छन् ।

बधशाला अलपत्र

विराटनगरमा बधशाला निर्माण सुरु गरिएको एक दशक नाघेको छ । तर अहिलेसम्म बधशाला अलपत्र अवस्थामा छ । जसका कारण विराटनगरवासी अस्वस्थ मासु खान बाध्य भएका छन् । विराटनगर–८ अशोक चोकमा महानगरले २०६६ सालबाटबाट निर्माण सुरु गरेको बधशााला अहिले जीर्ण भइसकेको छ । निर्माण कार्य सुरु भएको लामो समय भए पनि बधशालाले पूर्णता कहिले पाउने हो भन्ने यकिन छैन ।

महानगरले निर्माण सुरु गरेका अन्य संरचना पनि वर्षौँदेखि अलपत्र अवस्थामा छन् । बधशाला निर्माण गर्न अहिलेसम्म एक करोड १९ लाख खर्च भइसकेको छ । तर अहिलेसम्म गरेको लगानी बालुवामा पानी खन्याएजस्तै भएको छ । बधशाालले पूर्णता पाउँदासम्म २५ करोडभन्दा बढी खर्च हुने महानगरका भेटेरिनरी शाखा प्रमुख हिरालाल यादवले बताए ।

लागुऔषध प्रयोग गर्ने स्थल

न्यूनतम मापदण्डसमेत पूरा नगरी सञ्चालन गरिएका फ्रेस हाउसबाट अस्वस्थ मासु खान बाध्य उपभोक्ता बधशाला निर्माण हुँदा हर्षित भएका थिए । तर त्यो खुसी हराइसकेको छ । महानगरले निर्माणमा चासो नदिएका कारण अलपत्र बधशालाले पूर्णता पाउँछ भन्ने विश्वास धेरैले गर्न छाडेका छन् । अलपत्र बधशालाकै कारण चोरीका घटना बढेको स्थानीय बताउँछन् । रातीको समयमा बाख्रापाठा चोरेर लुकाउन सजिलो भएका कारण चोरीका घटना बढेको स्थानीयको भनाइ छ ।

स्थानीय मुधुर मण्डलका अनुसार बधशाला युवायुवतीको डेटिङ-स्पट बनेको छ । साथै लागुऔषधको दलदलमा युवाहरु फस्दै गएको उनले बताइन् । उनले भनिन्, ‘बालबालिकासमेत लुकेर गाँजा, चुरोट खाने स्थान बनेको छ । झन् जुवाडेहरुको मुख्य केन्द्र नै बन्दै गएको छ ।’ स्थानीयले महानगरप्रति आक्रोशसमेत व्यक्त गरेका छन् । निर्माण कार्य अलपत्र छोडेका कारण स्थानीय युवाहरु लुकेर लागुऔषध प्रयोग गर्ने स्थल बनेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् । निर्माण अलपत्र छाड्ने हो भने संरचना भत्काउँदा उपयुक्त हुने उनीहरुको सुझाव छ ।

दुई वर्षमा काम सम्पन्न गर्ने लक्ष्य

डिपिआर तयार भइसकेकाले अबको दुई वर्षमा बधशालाको निर्माण कार्य सम्पन्न हुने महानगरको भनाइ छ । बजेटको अभावका कारण अलपत्र परेको बधशालाले अब पूर्णता पाउने महानगरका भेटेरिनरी शाखा प्रमुख हिरालाल यादवले बताए । बधशाला निर्माणमा आवश्यक बजेटका लागि सङ्घीय सरकार, प्रदेश सरकार र पशुसेवा विभागमा बजेट माग गरेको यादवले बताए ।

‘प्राविधिक रूपमा त्रुटि देखिएका कारण समस्या भएको थियो,’ यादवले भने, ‘हेफर इन्टरनेसनलको प्राविधिक सहयोगमा तयार पारिएको डिपिआर उपयुक्त छ भनेर पशु सेवा विभागले निर्माण कार्य अघि बढाउन निर्देशन दिएको छ । अब महानगरले निर्णय गर्न मात्रै बाँकी छ ।’ महानगरले निर्णय गरेर सूचना प्रकाशन गरेपश्चात बधशालाको निर्माण कार्य सुरु हुने यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्: