Rumpum Advertisement

जाडोमा पिनासको जोखिम, के छन् उपचार विधि ?

Neuro
जाडोमा पिनासको जोखिम, के छन् उपचार विधि ?

विराटनगर/चिसो मौसममा साइनस अर्थात् पिनासको समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बढ्दो छ । धेरैजसो बिरामी पिनास बिग्रिएपछि अस्पताल पुग्ने गर्छन् । जाडोको महिनामा पिनासको समस्या धेरै देखिन्छ ।

अस्पतालमा कानको समस्या लिएर आउने बिरामी पनि छन् । गर्मी मौसमबाट एकैपटक मौसम परिवर्तन भएको कारण धेरैमा रुघाखोकी लाग्ने गर्छ ।

नाक बन्द हुने, नाक बग्ने समस्या पनि देखिन्छ । समाजमा यी समस्यालाई सामान्य हो, आफैँ निको भएर जान्छ भन्दै बस्ने चलन रहेको विराट मेडिकल कलेजकी सह-प्राध्यापक तथा नाक, कान, घाँटी विभाग प्रमुख डाक्टर श्रीति मानन्धर बताउँछिन् । तर, समयमा उपचार गर्न सकिएको खण्डमा भविष्यमा हुने विभिन्न रोगको रोकथाम गर्न सकिन्छ ।

नाक वरिपरिको हड्डीमा हावा भरिएको खाली भागमा साइनसको सङ्क्रमण हुनुलाई पिनास भनिन्छ । सुरुमा नाक बन्द हुन्छ र विस्तारै यो पिनासको समस्यामा परिणत हुँदै जान्छ । सुरुको तीन महिनाको समयमा हुने समस्यालाई एक्युट राइनो साइनोसाइटिस भनिन्छ ।

सह-प्राध्यापक तथा नाक, कान, घाँटी विभाग प्रमुख डाक्टर श्रीति मानन्धर

तीन महिना वा सोभन्दा लामो अवधिसम्म रहेमा यसले गम्भीर रूप लिन सक्छ । यस्तो अवस्थामा क्रोनिक साइनोसाइटिस भनिन्छ ।

नाक बन्द हुने, नाकबाट सिँगान बगिरहने, चिप्लो वा गनाउने सिँगान हुने, पिप जस्तो बगेको सिँगान, सङ्क्रमण, टाउको दुख्ने समस्या पिनासका केही लक्षण हुन् ।

कतिपयमा सुध्ने क्षमता कम भइसकेको वा गुमिसकेको समेत हुन्छ । साइनसेसहरू आँखा र मष्तिष्क वरिपरि हुनसक्ने हुँदा गम्भीर समस्या भएकामा, व्याक्टेरियल मात्र नभइ फङ्गल सङ्क्रमणका कारण साइनस आँखा वरिपरि फैलिने वा मष्तिष्कसम्म पनि फैलिन सक्छ । पहिला पिनास हुन्छ र पछि छातीभरि फैलिन पनि थाल्छ । यसलाई साइनो पलमनरी डिजिज पनि भनिन्छ ।

पिनास हुने मुख्य कारण एलर्जी

पिनास हुुने मुख्य कारण एलर्जी हो । विभिन्न वातावरणीय कारणले पनि पिनास हुन्छ । वातावरण तथा पेशा (अत्यधिक धुलोधुँवा भएको ठाउँमा बस्ने तथा काम गर्ने) काम गर्नेलाई पनि पिनास हुन सक्छ । मौसम परिवर्तन, खानाको एलर्जी, घरपालुवा जनावरबाट हुने एलर्जीलगायत हुन सक्छ । लगातार रुघाखोकीका कारण वा रुघा बिग्रिएर पनि पिनास हुने गर्छ ।

पिनास हटाउन औषधि उपचारदेखि शल्यक्रियासम्म

औषधि उपचार (मेडिकल ट्रिटमेन्ट) र शल्यक्रिया (सर्जिकल ट्रिटमेन्ट) गरी पिनासको उपचार दुई प्रकारले हुन्छ । औषधि उपचार गर्दा सामान्यता एलर्जीलाई रोक्ने कोसिस गरिन्छ । एलर्जी रोक्नका लागि एन्टी एलर्जेन्स र स्टेरोइड स्प्रे प्रयोग गर्न दिइन्छ । यसबाट पनि नहुने बिरामीका लागि शल्यक्रिया गर्नुपर्ने हुन्छ । सुरुमा बिरामीको सम्पूर्ण हिस्ट्री लिने, के समस्या छ बुझ्ने र पहिलाबाट भएको रोगको बारेमा सोधपुछ गर्ने गरिन्छ ।

शल्यक्रिया गर्नुपर्ने बिरामीको सुरुमा नाकको इन्डोस्कोपी गरेर हेरिन्छ । रोग पहिचान गरी गम्भीर भएको खण्डमा सिटी स्क्यान गरेर नाकमा मासु पलाएको छ कि छैन, पिप जमेको छ कि छैन, आँखा र दिमागको भागसम्म पुगेको छ कि छैन भनेर जाँच गरिन्छ ।

फ्रन्टल साइनस (निधारमा), म्याक्सिलरी साइनस (गालाको माथिल्लो भाग भित्र), इथमोडियल साइनस (आँखाका बीचमा) र स्पहेनडियल साइनस (इथमोडियलको पछाडि) गरी पिनास चार प्रकारको हुन्छ ।

जटिल समस्या पत्ता लागेमा साइनसको समस्या जहाँजहाँ छ त्यही भागमा दुरबिनको सहयताले चिरफाड नगरी शल्यक्रिया गरिन्छ । यसरी गरिने शल्यक्रियालाई फङ्सनल इन्डोस्कोपी साइनस सर्जरी भनिन्छ ।

बच्चामा पनि हुन सक्छ पिनास

पिनास ठूलो उमेरका मानिसमा मात्र नभई बच्चामा समेत हुन सक्छ । बच्चामा सुरुमा रुघामर्की लाग्ने, नाकमा मासु पलाउने, एड्रिनोइड हाइपोट्रमी (सबै मानिसमा टन्सिल हुने भनेझै सबै बच्चामा एड्रिनोइड हुन्छ तर, कुनै कुनै बच्चामा हुनुपर्ने आकारभन्दा चारदेखि पाँच गुणा धेरै हुने) का कारण उनीहरूको नाक बन्द हुने हुन्छ । नाक बन्द भएपछि बच्चाले मुखको सहयताले सास फेर्न थाल्छन् ।

अस्पतालमा आफ्नो बच्चा लिएर आउने अभिभावकहरूले आफ्नो बच्चाले सुत्ने समयमा मुख खुल्ला गरेर सुत्ने गरेको गुनासो गर्छन् । सामान्य अवस्थामा इन्डोस्कोपी र एक्सरे गरेर समस्या पहिचान गरिन्छ । समस्या गम्भीर भएको खण्डमा सिटी स्क्यान गरेर समस्या पत्ता लगाउनु पर्ने हुन्छ । यस समस्याको उपचार हुन्छ र गर्न पनि जरुरी हुन्छ । गम्भीर एड्रिनोइडाइटिसले गर्दा पनि पछि गएर पिनास हुन सक्छ । यो समस्याले गर्दा पिनास मात्र नभएर कानमा पनि असर हुन सक्छ । यस समस्याको उपचारका लागि एड्रिनोइडको सर्जरी गरिन्छ । हाल अस्पतालमा पुरानो तरिकाभन्दा पनि नयाँ उपकरणको प्रयोग गरी यसको शल्यक्रया (कोबुलेसन एसिस्टेड इन्डोस्कोपी एड्रिनोइड रेक्टोमी) गरिन्छ ।

लापरवाहीका कारण पिनास रोग बिग्रेको देखिन्छ । पिनासको रोकथाम गर्नका लागि केही लक्षण देखिएको सुरुवाती चरणमा नै नाक, कान घाँटी विशेषज्ञकोमा जानु नै उचित हुन्छ । यसले गर्दा पिनासलाई सुरुको चरणमा पत्ता लगाएर सामान्य औषधि उपचार गरेर निको पार्न सकिन्छ ।

शल्यक्रियापछि फेरि समस्या हुन्छ भन्ने भ्रम गलत

अस्पताल आउने बिरामीमा सचेतनाभन्दा पनि भ्रम धेरै छ । जुन धेरै हदसम्म गलत हो । धेरैजसो मानिसमा नाकको मासु हटाउने शल्यक्रियापछि पनि फेरि नाकमा मासु पलाउने भन्ने भ्रम छ । जसकारण धेरैजसो मानिस शल्यक्रिया गर्न चाहँदैनन् । शल्यक्रियापछि फेरि समस्या हुन्छ भन्ने भ्रम एकदम गलत हो । यो मेडिकल र सर्जिल ट्रिटमेन्ट हो । जसकारण शल्यक्रियाका साथ साथै औषधि उपचार, सरसफाइ पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

लगातार औषधिको सेवले हानी गर्न सक्ने हुँदा शल्यक्रिया गरी स्प्रे दिन आवश्यक हुन्छ । डाक्टरले जम्मा भएको पिप तथा फोहोर निकालिदिएर नाकभित्र एउटा खाली ठाउँ (स्पेस वा क्याभिटी) बनाइदिने हो । जसकारण विभिन्न स्प्रेलगायतका औषधि सजिलोसँग जाने र राम्रो काम पनि गर्ने हुन्छ । समस्याका लागि शल्यक्रिया मात्र यसको उपचार होइन । शल्यक्रिया गरिसकेपछि पनि लापरवाही नगरी निरन्तर रुपमा स्प्रे तथा औषधिको प्रयोग गर्ने, नाकको सही तरिकाले सरसफाइ गर्ने तथा पटक–पटक अस्पताल आएर फलोअप गर्दा समस्यालाई पुन दोहोर्‍याउनु हुँदैन ।

साइड इफेक्ट छैन, तर लापरवाही गर्नुहुँदैन

डाक्टर मानन्धरका अनुसार शल्यक्रियाको खासै कुनै साइड इफेक्ट छैन । शल्यक्रिया गरेपछि पनि धेरै समय बेड रेस्ट चाहिने भन्ने पनि हुँदैन । यो व्यक्तिपिच्छे फरक हुन्छ । तर, शल्यक्रिया गरेको सातपछि एक मानिसले आफ्नो सामान्य काममा फर्किन सक्ने हुन्छ । तर, नियमित मेडिकल ट्रिटमेन्टमा ध्यान दिएर र फलोअपका लागि अस्पताल आइरहनुपर्ने हुन्छ । नाक सफा गर्ने सबै तरिकाहरू पनि सिकाइन्छ । शल्यक्रियापछि दिइएका निर्देशनहरूलाई लापरवाही नगरी ध्यान दिएर फलो गरेमा यसको परिणाम निकै नै राम्रो हुन्छ ।

पिनासको रोकथाम

लापरवाहीका कारण पिनास रोग बिग्रेको देखिन्छ । पिनासको रोकथाम गर्नका लागि केही लक्षण देखिएको सुरुवाती चरणमा नै नाक, कान घाँटी विशेषज्ञकोमा जानु नै उचित हुन्छ । यसले गर्दा पिनासलाई सुरुको चरणमा पत्ता लगाएर सामान्य औषधि उपचार गरेर निको पार्न सकिन्छ ।

कुनै पनि खाना, बस्तु तथा ठाउँसँग एलर्जी छ भन्ने थाहा छ र यसलाई रोकथाम गर्न सकिन्छ भने गर्नुपर्छ । तर, एलर्जी निम्त्याउने कतिपय कुरालाई बेवास्ता गर्न सकिँदैन । घरेलु उपचारमा बाफ लिने, योगा गर्ने गर्न सकिन्छ । तर, हालसम्म कुनै पनि योगाले पिनास निको पर्ने भन्ने अध्ययन भएको छैन ।

पिनास हुँदा कुनै खास खाना बार्नु पर्छ भन्ने हुँदैन । कुन खानाले गर्दा बिरामीमा एलर्जी बिग्रन सक्छ भन्ने बिरामी आफैँलाई थाहा हुनुपर्छ । एलर्जी थाहा पाउनका लागि टेस्ट (स्क्रिन प्रिक टेस्ट) गर्न सकिन्छ । यो टेस्टमा छालामा विभिन्न बस्तुहरू राख्दा प्रतिक्रिया देखाएका उक्त कुरामा एलर्जी भएको पुष्टि हुन्छ । यो तरिका अपनाएर पनि बिरामीले एलर्जी हुने विभिन्न कारणलाई बेवास्ता गर्न सकिन्छ । लगातार रुघा, नाक बन्द हुने जस्ता विभिन्न लक्षण देखिए तथा एलर्जीको समस्या भएका बिरामीले लापरवाही नगरी सकेसम्म चाँडै नै बिरामीहरू डाक्टरकोमा उपचारका लागि जानुपर्छ ।

विराटमा शल्यक्रियाको पनि सेवा

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा नयाँ प्रविधिको मद्दतले सजिलै नाकमा मासु पलाएको हटाउने, नाकको हड्डी बाङ्गो हुने समस्या भए सिधा बनाउने तथा पिनासको शल्यक्रिया सुरु गरेको छ ।

विभिन्न उपकरण र इन्डोस्कोपको विधिबाट शल्यक्रिया गर्दा बाहिर घाउ बनाउनु पर्दैन र दुरबिनको सहयताले शल्यक्रिया गरिने हुन्छ ।

अस्पतालका सहयोगी प्राध्यापक तथा नाक, कान, घाँटी विभाग प्रमुख डा. श्रुती मानन्धरका अनुसार विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा यसप्रकारका शल्यक्रिया सुरु हुन थालेको लगभग चार महिना भएको छ ।

कोभिडको सङ्क्रमणको जोखिमका कारण भने शल्यक्रिया गर्ने–नगर्ने निर्णय अन्योल भएको थियो । तर, दुई महिना यतादेखि शल्यक्रिया गर्न पुनः सुरु गरिएको उनको भनाइ छ । र, धेरैजसो बिरामीहरू दैनिक रुपमा शल्यक्रियाका लागि आइरहेका छन् ।

यसप्रकारका कतिपय शल्यक्रिया र उपचार बिमामा समेत भएकाले यो शल्यक्रिया महँगो भए पनि सर्वसाधारणको पहुँचमा छ ।

प्रतिक्रिया दिनुहोस्: