Rumpum Advertisement

विकासशील मुलुकमा स्तरोन्नति हुँदै नेपाल

विकासशील मुलुकमा स्तरोन्नति हुँदै नेपाल

विराटनगर । नेपाल अल्पविकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसंघीय विकास नीति समिति (सिडिपी)मा नेपालले स्तरोन्नतिका लागि मुलुक तयार रहेको भन्दै प्रस्ताव पेस गरेको छ ।

हिजो (शनिबार) बाट जारी सिडिपीको बैठकमा नेपालको प्रस्तावमा छलफल हुने र सन् २०२४ बाट नेपाल स्तरोन्नति हुने गरी निर्णय हुने सम्भावना रहेको राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीले जानकारी दिए । ‘अब हामीले खासगरी स्तरोन्नतिपछिको रणनीति असाध्यै बलियो बनाउने गरी काम गर्नुपर्नेछ,’ सदस्य सचिव भण्डारीले बताए ।

अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन आय, आर्थिक जोखिम र मानव सम्पत्तिसँग सम्बन्धित तीनवटा सूचक तय गरिएका छन् । तीनमध्ये दुईवटा सूचकमा उत्तीर्ण हुँदा स्तरोन्नति हुने बाटो खुल्छ । आर्थिक जोखिम र मानव सम्पत्ति सूचकमा तोकिएको थ्रेसहोल्ड (न्यूनतम बिन्दु)का आधारमा नेपाल ५ वर्षअघि अर्थात् सन् २०१५ मा नै अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि योग्य भएको थियो । तर, प्रतिव्यक्ति आम्दानीसम्बन्धी सूचकमा भने नेपाल अहिले पनि योग्य भएको छैन ।

संयुक्त राष्ट्रसंघले तोकेको मापदण्डअनुसार हरेक तीन–तीन वर्षमा हुने समीक्षामा लगातार दुईपटक योग्य बनेपछि स्तरोन्नतिको निर्णय हुन्छ । सन् २०१८ मा समेत नेपाल स्तरोन्नतिका लागि तोकिएका सूचकमा थप सुधार गर्दै योग्य नै थियो । तर, नेपालले संयुक्त राष्ट्रसंघलाई पत्र लेख्दै भूकम्पपछिको आर्थिक पुनरुत्थानलगायत काम बाँकी रहेकाले आफू स्तरोन्नतिका लागि तयार नरहेको जानकारी गराएको थियो । नेपालको अनुरोधपछि संयुक्त राष्ट्रसंघको सिडिपी बैठकले त्यो साल नेपालबारे समीक्षा नै गरेन । त्यसको तीन वर्षपछि अहिले अर्थात् सन् २०२१ नेपालबारे समीक्षा भइरहेको छ ।

अहिले नेपाल आफैँले समेत स्तरोन्नतिका लागि तयार रहेको पत्र संयुक्त राष्ट्रसंघलाई पठाएका कारण सोहीअनुसारको निर्णय आउने सम्भावना अधिक भएको योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीले बताए । ‘पछिल्लो समय प्रकाशित भएका मानव विकास प्रतिवेदन, दिगो विकास लक्ष्य प्रगति प्रतिवेदनलगायतले पनि स्तरोन्नतिमा जान उपयुक्त हुन्छन् भनेर सुझाब आएका छन्,’ उनले भने । स्तरोन्नतिमा जाने कि नजाने भन्ने विषयमा प्रशस्त छलफल भएको र थालनीमा कोभिडका कारण नजाने कि भन्ने विषय उठे पनि अन्त्यमा स्तरोन्नतिमा जान ठीक हुन्छ भन्ने भएपछि त्यसैअनुसार यो वर्षको मानव विकास प्रतिवेदन प्रस्तुत गरिएको प्रवक्ता शाहीले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा समाचार छ

प्रतिक्रिया दिनुहोस्: