Rumpum Advertisement

भारतीय रुपैयाँसहित विराटनगरबाट दुई जना पक्राउ

भारतीय रुपैयाँसहित विराटनगरबाट दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट भारतीय रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले चार लाख ९८ हजार भारतीय रुपैयाँसहित मोरङको सुन्दरहरैँचा नगरपालिका–१ की २२ वर्षीया अञ्जली झा र विराटनगर महानगरपालिका–१५ का २६ वर्षीय रञ्जीत चौधरीलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल वीओपी विराटनगर रानीबाट सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । झोलामा भारतीय रुपैयाँ बोकेर नेपालतर्फ पैदल नै आउँदै गरेको अवस्थामा उनीहरु विराटनगर–१६ दरैयाबाट पक्राउ परेका थिए ।

उनीहरुको साथबाट पाँच सय दरका सात सय र दुई हजार दरका ७४ वटा भारतीय नोट गरेर चार लाख ९८ हजार रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । पाँच सय दरमाथिका भारतीय नोट बोक्न नेपालमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।

सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले बरामद भएको रकमसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि शनिबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए । चेकजाँचका क्रममा स्रोत नखुलेको रकम र प्रतिबन्धित नोटसहित हिँडिरहेको फेला परेपछि उनीहरुलाई शुक्रबार दिउँसो ३ बजेतिर पक्राउ गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: