Rumpum Advertisement

विराटनगरबाट खैरो हेरोइनसहित झापाका व्यापारी पक्राउ

विराटनगरबाट खैरो हेरोइनसहित झापाका व्यापारी पक्राउ

विराटनगर । विराटनगरमा लागूऔषध खैरो हिरोइनसहित झापाका व्यापारी पक्राउ परेका छन् ।

लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित झापाको गौरादह नगरपालिका–८ स्थायी ठेगाना भएका व्यापारी ३६ वर्षीय किसन अग्रवाल पक्राउ परेका हुन् ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विराटनगर महानगरपालिका–१३ नहरनजिकबाट उनलाई बिहान ११ बजेतिर नियन्त्रणमा लिएको हो ।

उनको साथबाट मे १ च ५८६२ नम्बरको सेतो कार पनि बरामद भएको छ । उनी पक्राउ पर्नु एक घण्टाअघि नेपाल–भारत सीमा क्षेत्र पुगेका थिए । नेपालतिरै कार पार्किङ गरेर भारतको जोगवनी बजारतिर लागेका उनी फर्कदा भने लागुऔषध ब्राउन सुगर लिएर आउँदै गर्दा पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार व्यापारी अग्रवालका साथबाट तीन ग्राम एक सय ६० मिलिग्राम ब्राउन सुगर फेला परेको छ ।

ज्याकेटको गोजीभित्र प्याक गरेर राखेको अवस्थामा फेला परेको थियो । जोगवनीबाट फर्किएपछि पार्किङ गरेर राखेको कारमा चढेर उनी उत्तर विराटनगर बजारतर्फ आउँदै थिए । बीचैमा रोकेर चेकजाँच गर्दा कारमा हिँडिरहेका व्यापारीको साथबाट लागुऔषध फेला परेको थियो ।

‘धनाड्य व्यापारी विराटनगरको बाटो हुँदै लागुऔषध खरिद गर्ने योजना बनाएर कारमा झापाबाट हिँडेको सूचना थियो,’ प्रहरी स्रोतले भन्यो , ‘ अनुसन्धान गर्दा लागूऔषध भेटियो ।’

अग्रवाल यसअघि पनि भारतको पूर्णियामा लागुऔषधसहित पक्राउ परेका थिए । पाँच वर्षअघि पक्राउ परेका उनी तीन महिनासम्म प्रहरी हिरासतमा बसेका थिए । हिरासतमा परे पनि उनीविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा भारतीय प्रहरीले चलाएको थिएन ।

नेपाल फर्किएपछि उनी परिवारका सदस्यसँगै व्यापार व्यवसायतिर लागेका थिए ।

व्यापारिक घरनाका उनको परिवार धान चामलको व्यावसया गर्छन् ।

उनी आफूलाई आवश्यक पर्ने ब्राउन सुगर खरिद गर्न भारतीय बजार जोगवनी र पानी ट्यांकीसम्म पुग्ने गरेको पाइएको प्रहरीले जनाएको छ । त्यस क्रममा सेवन पनि गरेर फर्कने गरेको र पक्राउ परेका बेला पनि सेवन गरेको अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

उनको साथमा रहेको पर्सबाट दुई सय रुपैयाँ नगद बरामद भएको छ । साथमा बोकेको २० हजार रुपैयाँ भने उनले ब्राउन सुगर खरिदमा खर्चिएको प्रहरीलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: