Rumpum Advertisement

फिल्म कमजोर भएर अहिले प्रदर्शन गर्न लागेको होइन : शिव श्रेष्ठ

फिल्म कमजोर भएर अहिले प्रदर्शन गर्न लागेको होइन : शिव श्रेष्ठ

विराटनगर/कोभिड १९ को विषम परिस्थिति र नेपाली फिल्म उद्योगमा निराशा छाएको समयमा अभिनेता शिव श्रेष्ठ आफ्नो फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज गर्ने तयारीमा छन् । कोरोनाका कारण धरासायी बनेको फिल्म क्षेत्रलाई चलायमान बनाउन आफू निर्मित तथा अभिनित फिल्म माघ १ गतेबाट दर्शकलाई सुम्पिँदैछन् ।

पुस १० गतेबाट सिनेमा हलहरु सञ्चालनमा आए पनि तत्काल निर्माताहरु नयाँ फिल्म प्रदर्शन गर्न तयार नहुँदा हल सञ्चालकहरु पुरानै फिल्म चलाएर दर्शकलाई सिनेमा हलसम्म आउने वातावरण बनाइरहेका छन् । तर, नयाँ फिल्म प्रदर्शन नभएसम्म सिनेमा हलमा दर्शकको खडेरी रहिरहने छ । सिनेमा हलमा दर्शकको खडेरी देखेका कारण ठूला भनिएका फिल्मका निर्माताहरु यो समयमा फिल्म प्रदर्शन गर्ने आँट गरिरहेका छैनन् ।

केही दिनअगाडि राजधानीमा पत्रकार सम्मेलन गर्दै अभिनेता शिव श्रेठले कोभिडको समयमा फिल्म क्षेत्रलाई सहयोग गर्ने भावनाले फिल्म प्रदर्शन गर्न लागेको बताएका थिए ।

‘यो समयमा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । म कलाकार भएका कारण फिल्म क्षेत्रप्रति आफ्नो कर्तव्य सम्झिएर दर्शकलाई इन्टरटेन्मेन्टको भ्याक्सिनको रुपमा फिल्म लिएर आउँदैछौँ । दर्शकको साथ पाउनेछौँ भन्नेमा हामी पूर्ण विश्वस्त छौं,’ उनले भने ।

४० वर्षदेखि दर्शकले गरेको विश्वासका कारण आफूले फिल्म रिलिज गर्न लागेको उनी बताउँछन् । ‘कतिले फिल्म बन्दैन पनि भनेका थिए । तर, दर्शकको विश्वासका कारण आज फिल्म तयार भएको छ,’ उनले थपे, ‘फिल्म कमजोर भएर यो समयमा प्रदर्शन गर्न लागेको होला भनेर पनि धेरैले सोच्लान् । तर, त्यसो होइन । कोरोनाले थलिएको फिल्म क्षेत्रलाई उठाउन हाम्रो यो प्रयास हो ।’

फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा शिव श्रेष्ठ, प्रियङ्का कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, कविता मानन्धर, शक्ति श्रेष्ठलगायत कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्: