Rumpum Advertisement

नयाँ फिल्मलाई सेन्सर अनुमति नदिन सञ्चार मन्त्रालयको निर्देशन

Neuro
नयाँ फिल्मलाई सेन्सर अनुमति नदिन सञ्चार मन्त्रालयको निर्देशन

विराटनगर/कोरोना संक्रमण रोकथामका लागि करिब नौ महिना सिनेमा हलहरु बन्द थिए । धेरै भिडभाड हुने स्थानमा सबैभन्दा अगाडि सिनेमा हल पर्छ । जसका करण सरकारले सार्वजनिक सवारी, होटल रेस्टुराँ, जिम हल, सैलुन, पार्लर जस्ता सबैजसो क्षेत्र स्वास्थ मापदण्ड अपनाएर खोल्न अनुमति दिए पनि सिनेमा हल सञ्चालनमा प्रतिबन्ध लगाएको थियो ।

सरकारले सिनेमा हल खोल्न चासो नदेखाएपछि हल व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र सङ्घले एकतर्फी रुपमा सिनेमा हल खोल्ने घोषणा गरेको थियो । गत हप्ता सीसीएमसीले सरकारलाई सिनेमा हल सञ्चालनको अनुमति दिन मन्त्रीपरिषदलाई पत्र पठाएको थियो । यस विषयमा एक हप्ता बितिसक्दा पनि मन्त्रीपरिषद्ले कुनै निर्णय गरेको छैन ।

हल सञ्चालकहरु सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिनेमा आशावादी रहेको अवस्थामा सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डलाई सेन्सर अनुमति नदिन र हललाई बक्स अफिस कोर्ड उपलब्ध नगराउन निर्देशन दिएको छ । बोर्डले हल सञ्चालकहरुलाई बक्स अफिस कोर्ड उपलब्ध नगराए पनि नयाँ फिल्मको सेन्सर रोकेको छैन ।

यता हल व्यवसायीहरुले एकतर्फी रुपमा सिनेमा हल खोले पनि निर्माताहरु नयाँ फिल्म प्रदर्शन गर्न तयार छैनन् जसका कारण हल सञ्चालकहरु पुरानै फिल्म चलाउन बाध्य छन् । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाउँदा पनि सिनेमा हलमा दर्शकको खडेरी छ । नयाँ फिल्म प्रदर्शन नभएसम्म सिनेमा हलमा दर्शकको चहलपहल बढ्ने देखिन्न ।

तर, प्रतिष्ठित ब्यानरहरु लगानी सुरक्षित हुने ग्यारेन्टी नभएसम्म नयाँ फिल्म प्रदर्शन गर्न तयार छैनन् । ठूला भनिएका फिल्मका निर्माताहरुले यो समयमा फिल्म प्रदर्शन गर्ने आँट नगर्दा वरिष्ठ अभिनेता शिव श्रेष्ठले भने आफू निर्मित तथा अभिनित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट दर्शकलाई सुम्पिँदैछन् ।