Rumpum Advertisement

डोनाल्ड ट्रम्पमाथि महाअभियोगको तयारी

डोनाल्ड ट्रम्पमाथि महाअभियोगको  तयारी

विराटनगर । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी थालिएको छ ।

संसदमा हमला गर्न आफ्ना समर्थकलाई प्रोत्साहन गरेको आरोप खेपिरहेका उनीविरुद्ध अमेरिकी संसदमा दोस्रो पटक महाअभियोग प्रस्ताव पेस हुन लागेको हो । संसदमा आक्रमण गर्न आफ्ना समर्थकलाई उक्साएर आलोच्य कदम चालेका ट्रम्पको विश्वभर विरोध भइरहेको छ ।

गत बुधबार राजधानी वासिङ्गटन डिसीस्थित संसद भवनमा हतियारसहित प्रवेश गरेका ट्रम्पका समर्थकहरुले तोडफोड तथा हिंसात्मक गतिविधि गरेका थिए । घटनामा प्रहरीसहित छ जनाको ज्यान गएको जनाइएको छ । घटनापछि क्रुद्ध बनेका डेमोक्र्याटिक पार्टीका नेताहरुले राष्ट्रपति ट्रम्पविरुद्ध पुनः एकपटक महाअभियोग प्रस्ताव ल्याउने तयारी गरिरहेका हुन् ।

यसअघि सन् २०१९ मा युक्रेनका शासकलाई गरेको टेलिफोन संवादलाई लिएर उनीमाथि महाअभियोग लागेको थियो । त्यो बेला महाअभियोग प्रस्ताव माथिल्लो सदनबाट पारित नहुँदा उनको राष्ट्रपति पद जोगिएको थियो । आफ्ना समर्थकलाई हिंसात्मक गवितिविधि गर्न लगाएर चुनावको नतिजा उल्ट्याउन उक्साएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउने तयारी डेमोक्र्याटहरुले गरेका हुन् ।

गएको नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा नमिठो पराजय बेहोरेका ट्रम्पले बिना प्रमाण धाँधली गरि आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् । निर्वाचन परिणामकाविरुद्धमा उनले दायर गरेका ५० भन्दा बढी मुद्दा अदालतले प्रमाणको अभावमा खारेज गरिदिएका छन् । सरकारी निकायले चुनाव धाँधलीरहित र निष्पक्ष रहेको बताए पनि ट्रम्पले धाँधलीको आरोप लगाउँदै हिंसात्मक प्रदर्शनका लागि समर्थकलाई उक्साएको आरोप छ ।

बुधबार संसद भवनमा भएको आक्रमणलाई आंतरिक आतंकवाद तथा विद्रोहका रुपमा चित्रित गरिएको छ । घटनापछि ट्रम्प संसारभर आलोचित बनेका छन् । जताततै उनको विरोध मात्रै भइरहेको छ । विश्वभरका नेताले पनि सो घटनाको निन्दा गरेका छन् । ट्रम्पकै पार्टी (रिपब्लिकन) का नेताहरुले पनि सो घटना विद्रोह रहेको र अमेरिकी प्रजातन्त्रमाथिको आक्रमण रहेको बताएका छन् ।

बुधबारको घटनापछि दुई मन्त्रीसहित ह्वाइट हाउसका आधा दर्जन उच्च अधिकारीले राजीनामा दिएका छन् । उपराष्ट्रपति माइक पेन्समाथि संविधानको २५ औँ संशोधनमा रहेको व्यवस्थालाई सक्रिय बनाई ट्रम्पलाई सत्ताच्यूत गर्न दबाब परेको छ । २५ औँ संशोधनको सेक्सन ४ मा मानसिक वा शारीरिक रुपमा राष्ट्रपति काम गर्न सक्ने अवस्थामा नभए उनलाई सत्ताच्यूत गरि उपराष्ट्रपतिले जिम्मेवारी लिन सक्ने व्यवस्था छ ।

ट्रम्पको मन्त्रीमण्डलमा यसबारे चर्चा भए पनि उपराष्ट्रपति पेन्स त्यसका लागि तयार नरहेको खबर बिजनेश इनसाइडरले प्रकाशित गरेको छ । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी तथा तल्लो सदनका डेमोक्र्याटिक मेजोरिटी लिडर चक सुमरले २५ औँ संशोधन अनुसार सत्ताच्यूत नगरिए महाअभियोग लगाउने बताए । ट्रम्पले तत्काल राजीनामा नदिए महाअभियोग प्रस्ताव अघि बढाउने सभामुख न्यान्सी पेलोसीले बताइन् ।

उनले राष्ट्रपति ट्रम्पलाई तत्काल कार्यालय छोड्न भनेकी छिन् । साथै उनले ट्रम्पले स्वेच्छाले नहटे संसदले कारवाही गर्ने चेतावनी पनि दिइन् । पेलोसीले भनेकी छिन्, ‘राष्ट्रपति डोनल्ड ट्रम्पले ठ्याक्कै खतरनाक राष्ट्रद्रोहको काम गरेका छन् ।’

उनले संसदमा रिपब्लिकन सिनेटका सदस्यसँग उक्त उदाहरणको अनुसरण गर्दै ट्रम्पलाई उनको कार्यालयबाट तत्काल बाहिर निस्कन आग्रह गरिदिन अपिलसमेत गरेकी छिन् । पेलोसीले मृत्यु भएका प्रहरी अधिकारीको सम्मानमा अमेरिकी संसदको झण्डा आधा झुकाउन आदेश पनि दिइन् । शुक्रबार जारी गरिएको एक प्रेस विज्ञप्तिमा नेन्सीले अमेरिकी संसदमा भएको यो अपूर्ण दुःखद घटनालाई ‘देशमाथि लागेको दाग’ भनेकी छन् ।

तल्लो सदनका डेमोक्र्याटहरुले सोमबार ‘बिद्रोहका लागि उक्साएको’ अभियोगसहितको महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेका छन् । उनीहरुले संसद भवनमा भएको हिंसाका लागि ट्रम्पको भूमिका रहेको आरोप लगाएका छन् । राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले महाअभियोग प्रस्तावबारे निर्णय गर्ने अधिकार कांग्रेसको रहेको बताएका छन् । तर लामो समयदेखि राष्ट्रपति ट्रम्प जिम्मेवारीका लागि अयोग्य रहेको उनले बताए ।

राष्ट्रपति कार्यालय ह्वाइटहाउसले महाभियोग प्रस्तावलाई राजनीतिक रुपमा निर्देशित रहेको भन्दै खारेज गरिने बताएको छ । अमेरिकी इतिहासमा अहिलेसम्म कुनै पनि राष्ट्रपतिले दुईपटक महाअभियोगको सामना गर्नु परेको छैन ।

प्रतिक्रिया दिनुहोस्: