Rumpum Advertisement

ओलीले संसद् विघटन गरेर अनाधिकृत काम गरे : गगन थापा

Neuro
ओलीले संसद् विघटन गरेर अनाधिकृत काम गरे : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर अनाधिकृत काम गरेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध शुक्रबार भक्तपुरमा आयोजित विरोधसभामा बोल्दै नेता थापाले नेपालको संविधानमा ५ वर्षअघि संसद् विघटन गर्ने कुराको कल्पनासमेत नगरिएको बताए ।

संविधानमा बहुमतप्राप्त प्रधानमन्त्रीले संसद् भङ्ग गर्न पाउने कुरा कहीँकतै नलेखेको भन्दै उनले प्रधानमन्त्रीको कदम असंवैधानिकको साथै अनाधिकृत रहेको बताए ।

संविधानमा नलेखेको कुरा सार्वजनिक पदाधिकारीले गर्न नपाउने भन्दै नेता थापाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानले अधिकार दिएको बाहेक केही गर्न नपाइने बताए । काङ्ग्रेसले असंवैधानिक, अधिनायकवादी तथा प्रतिगामी कदम भन्दै बिरोधमा उत्रिएको नेता थापाको भनाइ छ ।

सर्वोच्च अदालतले संविधान पल्टाएर हेरी फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने उनले बताए । नेता थापाले प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेको भन्दै अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने उनको भनाइ छ ।