Rumpum Advertisement

प्रहरी सङ्गठनभित्र जो बफादारीका लागि परिचित छन् …

लैला, पिकु, पिङ्कु, स्विटीहरूको सफलता-कथा

प्रहरी सङ्गठनभित्र जो बफादारीका लागि परिचित छन् …लैला, पिकु, पिङ्कु, स्विटीहरूको सफलता-कथा
मनोज भुजेल

अपराध नियन्त्रण, अनुसन्धान, शान्ति सुरक्षा कायम, विधिको शासन कार्यान्वयनजस्ता संवेदनशील एवम् गहन जिम्मेवारी कार्यान्वयनमा तल्लिन नेपाल प्रहरी समाजको एक जिम्मेवार, सेवा–प्रदायक, नागरिकप्रति बफादार सङ्गठन हो । तर केही वर्षयता सङ्गठनभित्रको भ्रष्टाचार, मिलेमतो, फोहोरी राजनीतिक प्रभाव आदिका कारण प्रहरी सङ्गठनको छविमा दाग देखिएको छ । औँला उठेको छ ।
तर प्रहरी सङ्गठनभित्र कार्यरत एउटा यस्तो सदस्य पनि छ, जसको बफादारीप्रति कसैमा मनमा कुनै शङ्का छैन, कसैले औँला उठाउन सकेको छैन । प्रहरी सङ्गठभित्रको त्यस्तो बफादार सदस्य हो कुकुर, जसले अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रहरीलाई सघाउँदै आएको छ ।
व्यावहारिक जीवनमा कुकुर जति बफादार हुन्छन्, विभिन्न अनुसन्धानमा पनि उत्तिकै निपूर्ण मानिन्छन्, जसका कारण प्राचीन कालदेखि नै कुकुरलाई सुरक्षाका साथै अनुसन्धानका काममा उपयोग गरिँदै आएको छ । मानवले सुल्झाउन नसकेका कतिपय घटनाहरू कुकुरकै कारण सुल्झिएका छन् । अपराध अनुसन्धानलाई सघाउँदै कुकुरहरूले मान्छे प्रहरीले जत्तिकै राष्ट्र–सेवामा योगदान मिसाइरहेका छन् ।

सिनियर ट्रयाकर लैला


सुनसरीको धरानस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयको केनाइन अर्थात् कुकुर शाखामा १० वटा कुकुरको दरबन्दी छ । २०४७ सालमा धरानमा दुईवटा कुकुरबाट सो शाखा स्थापना गरिएको थियो । हाल केनाइन शाखामातहत नौवटा कुकुर कार्यरत छन्, जसमध्ये लैला, पिकु, पारु, पिङ्कु, मेगी र मिकी क्षेत्रीय कार्यालयमै कार्यरत छन् भने रक, ज्याक र स्विटीलाई विराटनर विमानस्थलमा खटाइएको छ । विभिन्न विधामा तालिमप्राप्त ती कुकुरहरूमा पिङ्कुबाहेक सबै पोथी हुन् ।
१ नम्बर प्रदेश प्रहरीले अपराध अनुसन्धानलाई तथ्यपरक र प्रमाणमुखी बनाउन यी कुकुहरूको सहयोग लिँदै आएको छ । कुकुरको सहयोगले प्रहरीले ठुलो सफलता पनि प्राप्त गरेको छ । कुुकुरले धेरै मानिसलाई अपराध कर्म गर्नबाट हतोत्साहित समेत गरेको छ ।

सुरक्षा जाँचमा केनाइन सदस्य

एकसे एक सिपालु

ट्रयाकर विधामा सिपालु दुई वर्षीया पिकु जर्मन सेफर्ड जातको कुकुर हो । यसले अभियुक्तले छाडेको प्रमाण र सुराकको आधारमा भागेको स्थान ट्रयाक गरी अभियुक्त पहिचान गर्ने गर्छे । एक बर्से लामो तालिम सम्पन्न गरेर ६ महिनायता फिल्डमा खटिएकी पिकुले विभिन्न घटनामा प्रहरी अनुसन्धानलाई ठुलै मद्दत गरिसकेकी छ । २०७७ असोज १० गते सुनसरी, बराहक्षेत्र नगरपालिका–१, कटहरेकी बालिका मीना राईको हत्या भएको घटनामा पिकुले अपराधी पहिचान गरेर घरसम्मै पुर्‍याएको थियो । झापा, कन्काई नगरपालिका–३ सुरङ्गाका २२ वर्षीय अभिषेक चौधरी हत्याकान्ड तथा इलाम घटना
गोल्डेन रिट्रिभर जातको ५ वर्षीय पिङ्कु लागुऔषध विधामा पोख्त कुकुर हो । यसले लुकाइछिपाइ राखेको गाँजा–चरेससहित हेरोइन, कोरेक्स, नाइट्रोजेपाम आदि लागुऔषध बरामद गर्न सक्छ । सार्वजनिक बस, स्थान, सीमा–नाका तथा विमानस्थलबाट लागुऔषध ओसारपसार भएको अवस्थामा पिङ्कुले सुँघेरै बरामद गराउने गरेको छ । विशेषतः चाडपर्व तथा निर्वाचनको समयमा पिङ्कुको सक्रियता प्रहरीले बढाउने गरेको छ ।
७ वर्षीया जर्मन सेफर्ड लैला सिनियर ट्रयाकर हो । प्रहरीले जटील प्रकृतिका हत्याकान्ड अनुसन्धान गर्नुपर्दा दुवै ट्रयाकरहरू अर्थात् लैला र पिकुलाई साथै लैजाने गरेको छ । पाँच वर्षदेखि कार्यरत लैलालाई प्रायः जटिल घटनामा प्रहरीले प्रदेशका १४ जिल्लामै खटाउने गरेको छ ।
प्रदेश प्रहरीको अपराध अनुसन्धान टोली र जिल्ला प्रहरीले लैलाको मद्दतबाट घटनाको सफल अनुसन्धान गरेको थुप्रै उदाहरण छन् । २०७७ असोज २९ गते माई नगरपालिका इलामका शिक्षक पुष्पलाल राई हत्या हुँदा प्रहरीले लैलाको सहयोगमा दोषी पत्ता लगाएको थियो । ट्रयाकर विधामा कार्यरत पिकुभन्दा लैला डिउटीको हिसाबले सिनियर कुकुर हो ।
पारु, मेगी, रक र ज्याकले बिस्फोटक पदार्थसम्बन्धी विधामा आफ्नौ कुशलता देखाउने गरेका छन् । यी चार कुकुरले बिस्फोटक पदार्थ राखेको वा लुकाएको ठाउँ सजिलै पहिचान गर्न सक्छन् । विशेषतः भिआइपी सुरक्षामा यी कुकुहरू परिचालित हुने गरेका छन् ।
लागुऔषध विधामा पिङ्कुमात्र होइन विराटनगर विमानस्थलमा कार्यरत स्विटी पनि खटाइने गर्छे । प्रदेश प्रहरीमातहत मिकी नाम गरेको कुकुर सर्च एन्ड रेस्क्यू विधामा कार्यरत छ । अहिले तालिमकै सिलसिलामा रहेकी मिकीले बाढी–पहिरो तथा भूकम्पले भत्काएको संरचनामा फसेका व्यक्तिहरूको सर्च एन्ड रेस्क्यू गर्ने गरेकी छ ।

लागूऔषधविज्ञ पिङ्कु

अपत्यारिलो तर विश्वसनीय

झट्ट सुन्दा हामीलाई कुकुरले सुँघेरै अपराधी पत्ता लगाउँछ भन्ने पत्यार लाग्दैन । तर यो सत्य हो । हत्या तथा बेपत्ता पारिएका दर्जनौं घटनामा प्रहरीले कुकुरकै सहयोग लिएको इतिहास छ । नेपालमा अपराध अनुसन्धानमा कुकुर खटाउन थागिएको ५० वर्षभन्दा बढी भइसकेको छ ।
यो समयमा कुकुरले थुप्रै अपराधी पत्ता लगाउन सहयोग पुर्‍याएको छ भने सम्भावित घटनाका बारेमा सचेत पनि गराएको छ । मानिसभन्दा ५० गुना बढी सुँध्ने शक्ति भएका तालिमप्राप्त कुकुर घटना भएको २४ घण्टाभित्रै अनुसन्धानमा खटाउँदा ८६ प्रतिशतसम्म सफलता प्राप्त हुने कुकुर शाखाका प्रहरी नायब निरीक्षक दयानन्द श्रेष्ठ बताउँछन् ।
श्रेष्ठका अनुसार कुकुरको सुँध्ने क्षमताकै कारण अपराध अनुसन्धानमा कुकुरको मद्दत लिने गरिएको छ । ‘अपराधीको पहिचान गर्न होस् या सम्भावित दुर्घटनाबाट बच्न प्रहरीका लागि कुकुर भरपर्दो अनुसन्धान अस्त्र बनेका छन्,’ प्रहरी नायब निरीक्षक दयानन्द श्रेष्ठ भन्छन्, ‘कुकुर हाम्रो अनुसन्धान टोलीका विश्वसनीय सदस्य हुन् ।’
१ नम्बर प्रदेश प्रहरी कुकुर शाखामा नायब निरीक्षक श्रेष्ठको कमान्डमा नौ जना प्रहरी कार्यरत छन् । उनीहरूलाई ‘डग ह्यान्डलर’ भनिन्छ । यिनै डग ह्यान्डलरहरूले कुकुरहरूको तालिम तथा रेखदेखमा सहजीकरण गर्ने गर्छन् ।
घटनास्थलमा अन्य व्यक्ति प्रवेश गरिसकेको, पानीमा भएको घटनास्थल, ज्यादै घाम लागेको अवस्थामा घटनास्थलमा छोडिएको गन्ध उडेर जाने भएकाले अपराधी पत्ता लाग्न अप्ठेरो हुने डग ह्यान्डलरहरू बताउँछन् । उनीहरूका अनुसार प्रहरीका कुकुरले घटनास्थलमा छाडिएको प्रमाण सुँघेर अपराधी पत्ता लगाउँछन् ।

अनुसन्धान प्रमाणमुखी

प्रदेश प्रहरी कार्यालय धरानको केनाइन शाखा परिवार

नेपाल प्रहरीको अपराध अनुसन्धानमा खटिने प्रहरी अधिकृतहरू तालिमप्राप्त कुकुरको सहयोगले जटिल प्रकारका घटनाको अनुसन्धान पनि सहज हुने अनुभव सुनाउँछन् ।
इलाका प्रहरी कार्यालयय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेत कतिपय घटनाको अनुसन्धान कहाँबाट सुरु गर्ने भन्ने अन्योल हुँदा कुकुरको प्रयोगले सही दिशानिर्देश हुने बताउँछन् । तर घटना हुनासाथ घटनास्थलमा भिडभाड जम्मा हुने प्रवृत्तिले प्रमाण नष्ट हुने गरेका कारण कुकुर कहिलेकाहीँ मिस–गाइड अर्थात भ्रमित हुने गरेको बस्नेतले बताए ।
बस्नेतका अनुसार घटनास्थल सकेसम्म सुरक्षित राखेर कुकुरलाई काम गर्न दिने हो भने प्रहरीलाई अभियुक्तसम्म पुग्न खासै समय लाग्दैन । ‘कुकुरसहितको अनुसन्धान टोली १४ देखि २४ घण्टाभित्र पुग्न पायो र घटनास्थल सुरक्षित छ भने गन्ध पहिचान सही हुन्छ,’ इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले भने, ‘यदि पहिले नै घटनास्थालमा अनय मान्छेको प्रवेश र प्रमाणहरू अपराधीबाहेक अरूले छोएको रहेछ भने हामी सामान्यतया कुकुर प्रयोग गर्दैनौँ ।’
१ नम्बर प्रदेश प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक किरण गुरुङले पनि मानवीय रूपमा कतिपय अनुसन्धान प्रभावित हुने अवस्थामा कुकुरको प्रयोगले अनुसन्धानलाई तथ्यमा पुर्‍याउने र अनुसन्धानको दायरालाई साँघुरो बनाउने गरेको बताउँछन् ।
निरीक्षक गुरुङका अनुसार मान्छेले आफ्नो तरिकाले अनुसन्धान गर्नु र कुकुरले देखाएको ट्रयाकमा हिँड्नुमा फरक के छ भने कुकुरले जहिले पनि सत्यमा आधारित रहेर अनुसन्धान गर्छ । मान्छेले विभिन्न कोणबाट हेर्ने हुँदा दिग्भ्रमित हुने अवस्था कुकुरभन्दा बढी हुन्छ ।

नउठोस् औँला, नझुकोस् शिर

अहिले प्रदेश १ का १४ जिल्लाका जिल्ला प्रहरी कार्यालयमार्फत घटना अनुसन्धानका लागि आवश्कताअनुसार कुकुर माग गरेपछि धरानस्थित १ नम्बर प्रदेश प्रहरी केनाइन शाखा अर्थात् कुकुर शाखाले कुकुर टिम पठाउने गरेको छ । प्रदेश २ प्रहरीले समेत यहाँको कुकुर मगाउने गरेको छ ।

अपराधीमा निरन्तर नजर


अपराध अनुसन्धानका लागि अति उपयोगी हुने भएकाले विश्वका प्रायः सबै देशका प्रहरीले कुकुरलाई विकसित र आधुनिक तालिम दिएर अझ सक्षम बनाउने गरेका छन् । अपराध अनुसन्धानमा मात्र नभई भिड–दङ्गा नियन्त्रण, आगलागी नियन्त्रण र उद्धारजस्ता कार्यमा कुकुरलाई अधिकतम प्रयोग गर्ने नेपाल प्रहरीको योजना छ ।
अपराध अनुसन्धानमा खटिने यी कुकुरहरू जत्तिकै प्रहरी सङ्गठनभित्र रहेका सबै सदस्यहरू इमानदार र कर्तव्यनिष्ठ हुने हो भने सङ्गठनको कार्य–क्षमतामा कसैले औँला उठाउन सक्ने थिएनन् । कुकुरले सदैव नुनको सोझो गरेझैँ प्रहरी सङ्गठनमा प्रवेश हुनुअघि खाएको सपथ प्रहरीहरूले बेला–बेलामा सम्झिए प्रहरी सङ्गठनको शिर सदैव उच्च हुनेथियो ।

प्रतिक्रिया दिनुहोस्: