Rumpum Advertisement

मेस्सीको मुहारमा मुस्कान फर्कियो

मेस्सीको मुहारमा मुस्कान फर्कियो

विराटनगर । बार्सिलोनाले बुधबार राति ला लिगाअन्तर्गत भएको एथ्लेटिको क्लबविरुद्धको जस्तै जितको आवश्यक छ । कप्तान लियोनल मेस्सीको नायकत्वमा बार्सिलोनाले एथ्लेटिकमाथि ३–२ गोलको जित निकालेको थियो ।

यो बार्सिलोनाका लागि तीन अङ्क मात्र थिएन, यो उनीहरूको प्रदर्शनमा आएको सुधार पनि थियो । अर्जेन्टिनी स्टार मेस्सीले बिल्बाओसँगको खेलमा यस सिजनकै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

एथ्लेटिकको मैदानमा बार्सिलोनालाई जिताउन मेस्सीले दुई गोल गर्दा पेड्रीले एक गोल गरे । एथ्लेटिकोका इनाकी विलियम्सले एक गोल गरे । यससँगै बार्सिलोना १७ खेलमा ३१ अङ्क जोड्दै शीर्ष तीनमा उक्लियो ।

बिल्बाओ भने २१ अङ्कका साथ नवौं स्थानमा छ । उसले बार्सिलोनाभन्दा एक खेल बढी खेलेको छ ।

केही समयअघि ब्राजिलियन लिजेन्ड पेलेको कीर्तिमान तोडेका मेस्सी पछिल्लो समय लयमा फर्किने प्रयासमा छन् । कुनै एक क्लबबाट सर्वाधिक धेरै गोल गर्ने पेलेको कीर्तिमान तोडेका मेस्सीले बिल्बाओविरद्ध दुई गोल गरेपछि पछिल्ला दस खेलबाट १० गोलको योगदान दिएका छन् । उनले आठ गोल र दुई असिस्ट गरेका छन् ।

यस सिजन सबै प्रतियोगिता गरी मेस्सीले २० खेलमा १२ गोल गरेका छन् । मेस्सीले ला लिगामा ९ गोल गर्दै शीर्ष गोलकर्ताको सूचीमा रहेका लुइस स्वारेज, जेरार्ड मोरेनो, लागो आसपाससँग बराबर गरेका छन् ।

सो खेलपछि मेस्सीको प्रदर्शनबाट प्रशिक्षक रोनाल्ड कोइम्यान पनि सन्तुष्ट देखिएका छन् । खेलपछि बोल्दै कोइम्यानले मेस्सी आफ्नो उत्कृष्टतामा फर्किँदैगरेको बताए ।

‘म बार्सिलोना आएको पहिलो दिनदेखि मेस्सीले सबै कुरा दिएको देखिरहेको छु’ उनले भने, ‘म उनको प्रदर्शनबाट अचम्मित छैन किनकि उनले लामो समयदेखि आफ्नो क्षमता देखाउँदैआएका छन् । तर, अहिले उनले पहिलाको भन्दा राम्रो गर्दैआएका छन्, उत्कृष्टतामा फर्किँदैछन् ।’

लामो समयपछिको मुस्कान

यस जितसँगै लामो समयपछि मेस्सीको मुहारमा मुस्कान देखिएको थियो । मैदानमा उनलाई मुस्कुराउँदै गरेको देख्न सकिन्थ्यो । पहिलो गोलपछि उनी मन्द मुस्कानका साथ देखिन्थे भने दोस्रो गोलसँगै उनको मुहारमा मुस्कान थपिएको देखिन्थ्यो ।

गोल गरेर मात्र मेस्सी खुसी भएका होइनन्, मैदानमा नयाँ साथी भेटिएपछि उनी खुसी देखिएका हुन् । यो स्पष्ट छ कि उनले पेड्रीजस्ता नयाँ साथी भेट्टाए । जसले मेस्सीको गोलमा पास मिलाएका थिए भने व्यक्तिगत एक गोल पनि गरेका थिए । यस्तै मेस्सीलाई दोस्रो गोल गर्न एन्टोइन ग्रिजम्यानले साथ दिए । त्यसबाहेक मेस्सीले फ्रेन्की डी योङको सहयोग पनि पाए ।

प्रतिक्रिया दिनुहोस्: