Rumpum Advertisement

विवाहको दुई साता नबित्दै दुर्घटना : पति–पत्नीको मृत्यु

Neuro
विवाहको दुई साता नबित्दै दुर्घटना : पति–पत्नीको मृत्यु

विराटनगर । सवारी दुर्घटनामा परी झापामा सुनसरीका नवदम्पतिको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गको झापाको झिलझिले खण्डमा भएको दुर्घटनामा परी सुनसरीका २९ वर्षीय ज्ञानेन्द्र तामाङ र २५ वर्षीय सलिना राईको मृत्यु भएको हो ।

आफन्तका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–७ घर भएका तामाङ र इटहरी–५ की सलिनाको दुई साताअघि मात्रै प्रेम विवाह भएको थियो । उनीहरू केही वर्षयता प्रेम सम्बन्धमा थिए ।

वैदेशिक रोजगारीबाट फर्किएका तामाङ स्वदेशमै केही गर्ने योजनाका साथ फर्किएका थिए । तर दुर्घटनामा परी दुईजनाकै मृत्यु भएको उनका भाइ दोर्जेले बताए ।

मङ्गलबार उनीहरू इलाम हिँडेका थिए । तर पूर्व–पश्चिम राजमार्गमा उनीहरू सवार प्रदेश १–०२–०४३ प ९२१८ नम्बरको मोटरसाइकललाई को १ ख ६०९८ नम्बरको यात्रुबहाक बसले ठक्कर दिएको थियो ।

यात्रु उठाउनका लागि अगाडि रहेको बसलाई उछिन्ने क्रममा तीब्र गतिमा रहेको बसले ज्ञानेन्द्र र सलिना सवार मोटरसाइकललाई लेन क्रस गरेर ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको बि एण्ड सि अस्पताल बिर्तामोडमा मङ्गलबार बेलुका मृत्यु भएको थियो ।

बस र चालक मोरङको कानपोखरी गाउँपालिका–७ का २७ वर्षीय नवीन खड्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।