Rumpum Advertisement

कोभिडबाट बचाउने थप दुई औषधि पत्ता लागेको दाबी

Neuro
कोभिडबाट बचाउने थप दुई औषधि पत्ता लागेको दाबी

विराटनगर । कोभिडको सङ्क्रमणबाट ज्यान बचाउने थप दुई जीवनरक्षक औषधि पत्ता लागेको दाबी गरिएको छ । औषधिले गम्भीर सङ्क्रमितको मृत्युदरलाई एक चौथाई घटाउनसक्ने बताइएको छ ।

बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) को आइसियूमा गरिएको अध्ययनअनुसार ड्रिपमार्फत् दिइने यी औषधिको प्रयोग गरी उपचार गरिएका हरेक १२ जनामध्ये एकजनाको ज्यान बचाउनसक्ने देखिएको हो ।

बेलायत सरकारले औषधि निर्माता कम्पनीसँग बेलायतमा बिरामीका लागि टोसिलिजुमब र सरिलुमब औषधि उपलब्ध गराउन लगातार सम्पर्क स्थापित गरिरहेको छ । विशेषज्ञका अनुसार यी औषधि बेलायतमा उपलब्ध भएकाले यसको प्रयोग गरी सयौंको ज्यान बचाउन सकिन्छ ।

ज्यान बचाउनुका साथै यी औषधिले बिरामीकाई चाँडै निको पार्ने र गम्भीर बिरामीलाई आइसियूमा राख्ने समय घटाउने बताइएको छ । दुवै औषधि उत्तिकै प्रभावकारी छन् । तर, महङ्गो छन् ।

यसको मूल्य प्रतिबिरामी सात सय ५० पाउन्ड (एक लाख १९ हजार एक सय ४० रुपैयाँ) देखि एक हजार पाउन्ड (एक लाख ५८ हजार आठ सय ५३ रुपैयाँ) को बीच आउँछ । मुख्य शोधकर्ता तथा इम्पेरियल कलेज लण्डनका प्रा. एन्थनी गार्डोनले दुवै औषधि निकै प्रभावकारी रहेको बताएका छन् ।

बेलायतसहित विभिन्न ६ देशको आइसियूमा रहेका करिब आठ सय बिरामीमा यी औषधि ट्रायल गरिएको थियो । स्ट्यान्डर्ड केयरमा राखिएका करिब ३६ प्रतिशत सङ्क्रमितको मृत्यु हुन्छ । तर, आइसियूमा भर्ना भएको २४ घण्टाभित्र नयाँ औषधि दिँदा मृत्युदर घटेर २७ प्रतिशत भएको थियो ।

तर, कोभिड बिरामीलाई अत्यधिक मात्रामा यी औषधी दिँदा यसले फोक्सो र अन्य अङ्गमा क्षति पुग्न सक्छ । गम्भीर अवस्थाका बिरामी र अत्यधिक हेरविचारको आवश्यकता भएकालाई मात्र औषधि प्रदान गर्न सल्लाह दिइएको छ ।-बिबिसीबाट