Rumpum Advertisement

प्रदेशमा साना दल फकाउँदै नेकपाका दुई समूह

प्रदेशमा साना दल फकाउँदै नेकपाका दुई समूह

विराटनगर । आधिकारीक रूपमा छुट्टै दलको मान्यता नपाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई समूह साना दललाई आफ्नो पक्षमा ल्याउन लागिपरेका छन् । सरकार गिराउन र बनाउन आफ्नो स्पष्ट बहुमत नपुग्ने भएपछि नेकपा प्रचण्ड–माधव समूह र ओली समूह साना दललाई आफ्नो पक्षमा ल्याउन लागिपरेका हुन् ।

प्रदेश १ मा ९३ जना सांसद् छन् । जसमा नेकपाको मात्रै ६७, नेपाली काङ्ग्रेसका २१ जना सांसद् छन् । त्यस्तै समाजवादी पार्टी नेपालका तीन जना, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना सांसद् छन् ।

नेकपा प्रचण्ड–माधव र ओली समूहले काङ्ग्रेससँगै साना दललाई फकाउने प्रयास गरिरहेका हुन् । सरकार गठनको तीन वर्ष दस महिनासम्म नेकपाले साना दलको साथ खोजेका थिएनन् । तर मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि निर्णायक देखिएका साना दल फकाउन दुवै समूहले सक्रियता देखाएका हुन् ।

सहयोग माग्न ओली र दाहाल–नेपाल समूह आएको जनता समाजवादी पार्टीका प्रदेश १ का संसदीय दलका नेता जयराम यादवले बताए । नेकपाभित्रको समस्या नटुङ्गिएसम्म सरकारमा सहकार्यको विषय अगाडि बढाउन नसकिने उनले बताए ।

प्रदेशसभाबाट अविश्वासको प्रस्ताव पास गराउन ४७ जनाभन्दा बढी संसद् आवश्यक पर्ने उनले बताए । मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा ३७ जनाको मात्र हस्ताक्षर छ ।

‘संसद्मा ४७ जनाभन्दा बढी सासंद्को हस्ताक्षरमा अविश्वासको प्रस्ताव ल्याएर सरकार गिराउनेले सोही सङ्ख्यामा विश्वासको मत पनि ल्याउनु पर्छ,’ उनले भने, ‘सरकार बनाउनेले ३० दिनमा ४७ जनाभन्दा बढी विश्वासको मत ल्याउनु पर्छ अन्यथा पुरानै सरकार कायम रहन्छ ।’

संसद् विघटनको सम्भावना पनि रहेको उल्लेख गर्दै उनले मुख्यमन्त्री राईले संसद् विघटन गर्नु भनेको आगोमा घ्यू थप्ने काम मात्र हुने बताए । संसद् विघटन गरे मुख्यमन्त्रीको राजनीतिक भविष्य सकिने उनले बताए ।

संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी प्रदेश १ सांसद् विष्णुमाया तुम्बहाम्फेले संसद् जोड–घटाउ अग्रगमन र प्रतिगमन नभएर कुर्सी र सत्ताको लडाइँ मात्र भएको बताइन् । उनले ठूलो सङ्घर्षबाट ल्याइएको सङ्घीयतामै असर पर्ने काम भइरहेको जिकिर गरिन् ।

अहिलेसम्म दुवै पक्षसँग गम्भीर रूपमा कुरा नभएको बताउँदै उनले आधिकारिक निर्णय भने पार्टीले गर्ने जिकिर गरिन् । प्रदेश सरकार विघटनले सङ्घीयता नै खारेजीतर्फ जानसक्ने उनको गुनासो छ ।

गरिन । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेश १ सांसद इन्दिरा राईले सहयोग माग्न कुनै पक्ष नआएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्: