Rumpum Advertisement

बरगाछी दुर्घटना : चोरीकै शैलीमा लगिएको थियो बस

Neuro
बरगाछी दुर्घटना : चोरीकै शैलीमा लगिएको थियो बस

विराटनगर । उदयपुरको कटारी हिँडे पनि बाटोमा यात्रु नपाएपछि सुनसरीको इटहरीबाटै चालक सूर्यनारायण चौधरीले को १ ख ५२४१ नम्बरको बसलाई बुधबार बिहान विराटनगरतिरै फर्काए ।

विराटनगर–कटारी चल्ने सुपर गुराँस सेल्फी डिलक्स बसलाई विराटनगर बसपार्कमा बुधबार बिहान १० बजेतिर थन्क्याउँदै उनी आफ्नो काममा लागे । राति पनि त्यहीँ छाडेर सिरहाको लहान नगरपालिका–१५ घर भएका ३२ वर्षीय चौधरी नजिकैको होटलमा सुत्न गए । भोलिपल्ट बिहीबार बिहान ७ः२५ बजेतिर कटारी जाने पालो बसको थियो ।

मध्यरातमा मस्त निद्रामा रहेका बेला ‘तपाईले चलाउने गरेको बस बरगाछीमा दुर्घटनामा परेको छ’ भन्दै उनलाई फोन आयो । आफूले बसपार्कमा पार्किङ गरेको बस दुर्घटनामा परेको कुरा विश्वास लागेन । नभन्दै घटनास्थल पुगेर हेर्दा उनी छक्क परे । आफ्नै आँखाले घटना देखेपछि उनी विश्वस्त भए ।

प्रहरीले अनुसन्धान थाल्दा विराटनगर महानगरपालिका–३ बरगाछीमा भएको दुर्घटनाको पाटो अर्कै रहेको पत्ता लगायो । सुनसरीको कोसी गाउँपालिका–७ भण्टाबारीका २४ वर्षीय रक्कु भनिने राकेश कार्कीले चलाएको बस राति ११ बजेतिर दुर्घटनामा परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । दुर्घटनापछि बसले च्यापिरहेको अवस्थामा उनलाई प्रहरीले उद्धार गर्यो । घाइते अवस्थाका कार्कीको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा घाइते अवस्थामा भेटिएका राकेश कार्की ।

राईका अनुसार कार्कीले बसपार्कबाट आफूखुसी चोरीको शैलीमा लिएर गएको बस लगभग दुई किलोमिटर उत्तरमा पुर्याएपछि दुर्घटनामा परेको हो । दुर्घटना हुनअघि विराटनगर–सिन्धुली चल्ने कान्तिपुर बसका सह–चालक धनकुटाको शहीदभूमि गाउँपालिका–१ का १९ वर्षीय महेश दुलालसँग बसेर एउटा होटलमा कार्कीले मदिरा सेवन गरेको पनि खुलेको राईले बताए ।

त्यसपछि दुलाल बसमै गएर सुतेको र कार्कीले चलाएर उत्तरतर्फ लगेको राईले बताए । बसभित्रै रहेका दुलालको पनि दुर्घटनामा परेर टाउको र हातमा चोट लागेको छ । घटना भएका बेला उनी मदिराको नशामा रहेको प्रहरीले जनाएको छ । बसले किचिरहेको अवस्थामा उद्धार गरेर उपचारका लागि लगिएका कार्की पनि मातेको अवस्थामा रहेको राईले बताए ।

बस चलाएर बरगाछीसम्म पर्याउने कार्की र पछाडि रहेका दुला दुवै जना उक्त बसका कर्मचारी हैनन् । बसपार्कमा राखेको बस लैजाने बारेमा कार्कीले चालक र बसका धनी कसैलाई नसोधेको पाइएको प्रहरीले जनाएको छ । कसैलाई नसोधी बसपार्कबाट लगेपछि प्रहरीले यस घटनालाई चोरी बस चोरीकै शैली अपनाएर लगिएको बताएको छ ।

‘बस जुनसुकै चाबीले पनि खुल्दो रहेछ । चालक सुतेको मौका छोपेर अर्कै चाबीको प्रयोग गर्दै बसपार्कबाट चोरीको शैली अपनाएर लगेको खुलेको छ,’ डीएसपी राईले भने, ‘कार्की अत्याधिक मदिरा सेवन गरेर होसमा नभएका कारण बस आफै अनियन्त्रित भएर दुर्घटनामा परेको पाइयो । एकातिर उनीसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि छैन ।’ उनका अनुसार कार्की डेढ वर्षअघिसम्म त्यही बसका सह–चालक थिए ।

पछि छाडेर अर्को दिक्तेल–ओखलढुंगा चल्ने ना ५ ख ३५०३ नम्बरको बसमा सह–चालकका रुपमै कार्कीले काम गर्न थाले । प्रहरीका अनुसार त्यो बस पनि एक महिनाअघि दुर्घटनामा परेर थन्किएपछि फुर्सदिला बनेका उनी विराटनगरमा साथीहरुसँग बस्थे । त्यही क्रममा अर्को बसका सह–चालकसँगै बसेर मदिरा सेवन गरेपछि कार्कीले पार्किङ गरेको आफूले पहिले काम गर्ने बस अर्कै चाबीको प्रयोग गरेर लगेको पाइएको डीएसपी राईले बताए । तर बीचैमा दुर्घटनामा परेपछि गन्तव्यसम्म पुग्न नपाएको र त्यो बस कहाँसम्मका लागि लिएर गएको हो भन्ने बारेमा खुल्न बाँकी रहेको उनको भनाइ छ ।

प्रहरीले दुर्घटनाका बेला बसभित्र रहेका दुलाललाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । कार्की उपचाररत रहेका कारण उनी पनि डिस्चार्ज भइसकेपछि नियन्त्रणमा लिने तयारी प्रहरीको छ । दुलालले भने आफू मातेर नशामा लट्ठ रहेका कारण कार्कीले कतिबेला बस चलाएभन्ने पनि थाहा नभएको प्रहरीलाई बताएका छन् । ‘रक्सीको नशा लागेपछि बसभित्र छिरेर पछाडि सुतेको थिएँ । तर कार्कीले त्यही बस चलाएर लगेछन्,’ उनलाई उद्रित गर्दै प्रहरीले भन्यो, ‘बस स्टार्ट गरेर दुई किलोमिटरभन्दा बढी लगिसक्दा पनि मैले थाहा पाइँन । एक्कासि दुर्घटनामा परेर चोट लागेपछि मात्रै मेरो पनि होस खुल्यो ।’

बस सडकको विपरीततिर गएर दुर्घटनामा परेको छ । उत्तरतर्फ गइरहेको बस कोसी लोकमार्गको छ लेन सडक पार गर्दै पूर्वतर्फ अर्थात चालकको दायाँ मोडिदै गएर बिजुलीको पोलमा ठोक्किएको डीएसपी राईले बताए । ठोक्किएर पोल भाँच्चिएपछि अगाडि पुगेको बसले एसबीआई बैंकको एटीएम बुथ रहेको सटर, न्यू यूनिक होटल, सीसी क्यामेराको केवल, पावर केवलमासमेत क्षति पुर्याएको राईको भनाइ छ । उनका अनुसार दुर्घटनापछि महानगरपालिकाको सीसी क्यामेराहरु अवरुद्ध बनेका छन् । पोल भाँच्चिएर तथा तार चुँडिएर मर्मत गर्नुपर्ने भएपछि बरगाछी र आसपासको क्षेत्रमा बिहीबार दिउँसो धेरै बेर विद्युत अवरुद्ध बन्यो ।

‘दुर्घटना भयानक हिसाबको भए पनि रातको समय र मानिसको चहलपहल कम भएकाले ठूलो क्षति हुन पाएन,’ राईले भने, ‘घटनास्थलमा पुगेको प्रहरीले भाँच्चिएको बिजुलीको पोल र पोलसँगै भुइँमा लत्रिएका एवं छिनेका तारहरु तथा दुर्घटनामा परेको बस हटाएर सडक सुचारु गरेको हो ।’ भाँच्चिएको पोल, छिनेका तार र बसका कारण सडक अवरुद्ध बनेको थियो ।

डीएसपी राईले बस कार्कीले कहाँ र किन लिएर गएका हुन्भन्ने बारेमा अनुसन्धानपछि मात्रै खुल्ने जानकारी पनि दिए । प्रहरीका अनुसार बसका धनी भानु विष्ट र जीवन खनाल हुन् । खनालले दुर्घटना भएको सुने पनि घटनाका बारेमा आफूलाई अरु केही थाहा नभएको बताए ।