विराटनगर । पकाउँदा मगमग बास्ना आउने। खाँदा झनै स्वादिलो। खाइसकेपछि सन्तुष्टिको आभास। यस्तो स्वादिलो बासमती चामल विवादमा तानिएको छ।
यसको हकअधिकारसम्बन्धी विवाद युरोपियन युनियन (ईयू) मुख्यालयसम्म पुगेको छ। ईयूले बासमती नाममा दाबी गरेका नेपाल, भारत र पाकिस्तानलाई फेबु्रअरी पहिलो साताभित्र सम्पूर्ण आधिकारिक वैज्ञानिक प्रमाण जुटाएर पठाउन निर्देशन दिएको छ। नेपालले बासमतीमा आफ्नो हक रहेको भन्दै डिसेम्बर ९ मा ईयूमा १३ बुँदे दाबीविरोध जनाइसकेको छ।
सरकारले त्यसलाई प्रमाणित गर्न वैज्ञानिक आधार खोज्न थालेको छ।
पर्याप्त वैज्ञानिक आधार र प्रमाण उपलब्ध गराउन सक्ने मुलुकले बासमती नामको चामलको भौगोलिक संकेत चिह्न अधिकार (ज्योग्राफिकल इन्डिकेसन (जीआई राइट) पाउनेछ। त्यही भएर तीनै देश सकेसम्म प्राचीनकालदेखिको वैज्ञानिक आधार र प्रमाण जुटाउन लागेका छन्।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले राष्ट्रिय जीन बैंकका वरिष्ठ वैज्ञानिक बालकृष्ण जोशीको नेतृत्वमा अध्ययन समिति गठन गरेको छ। नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बासमती नामको चामल नेपालकै हो भनेर समितिले प्राचीनतम वैज्ञानिक प्रमाण जुटाउन सुरु गरिसकेको जानकारी दिए।
‘बासमती नामको चामल भारतले दाबी गरेजस्तै उसको मात्रै होइन, हाम्रै मुलुकमा पनि प्राचीनकालदेखि उत्पादन हुँदै आएको छ’, कार्यकारी निर्देशक जोशीले भने, ‘हामीले दाबी विरोध गरिसकेपछि त्यसलाई पुष्ट्याइँ गर्न वैज्ञानिक आधार र प्रमाण पठाउनुपर्छ। त्यही कागजातका आधारमा ईयूले अध्ययन गरी आवश्यक निर्णय दिनेछ। यसका लागि हामीले पनि युद्धस्तरमा प्रमाण जुटाउन सुरु गरिसकेका छौं।’
नार्कले गठन गरेको प्रमाण संकलन समितिले विभिन्न प्राचीनकालीन पुस्तक, विभिन्न धर्मावलम्बीसम्बन्धी धार्मिक ग्रन्थ, कृषिसम्बन्धी विभिन्न पुराना र नयाँ वैज्ञानिकले प्रकाशन गरेको लेख, पुस्तक, अध्ययन प्रतिवेदन, अनुसन्धान प्रतिवेदनजस्ता प्रमाण खोज्न सुरु गरेको छ। समितिका संयोजक जोशीका अनुसार भारतले बासमती धानको भौगोलिक संकेत हकअधिकार स्थापित गर्न ईयूमा निवेदन दिएको छ। त्यसलगत्तै पाकिस्तानले पनि उक्त नामको धान आफ्नो हो भने र निवेदन दिएको थियो। लगत्तै नेपालका तर्फबाट राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्रले पनि १३ बुँदे दाबीसहित आधिकारिक दाबी विरोध ईयूमा दर्ता गराएको हो। नेपालले बासमती धानको ४ प्रकारको जात सरकारको राजपत्रमा समेत प्रकाशन भएको उल्लेख गरेको छ। अन्नपूर्ण पोस्टमा समाचार छ