Rumpum Advertisement

राष्ट्रियसभामा वामदेवको भावुक भाषण

राष्ट्रियसभामा वामदेवको भावुक भाषण

विराटनगर । पार्टीभित्र धेरै ठूलो विवाद र रस्साकस्सीबीच तत्कालीन नेकपाका उपाध्यक्ष वामदेव गौतमले १ असोजमा राष्ट्रिय सभा सदस्यको शपथ लिएका थिए ।

गौतम राष्ट्रिय सभा सदस्य भएको झन्डै चार महिनामा १७ पुसमा राष्ट्रिय सभाको बैठक सुरु भयो । गौतम सुरुको दिनको बैठकमा सहभागी भए । ०७४ को संघीय चुनावमा बर्दियाबाट पराजित गौतम तीन वर्षपछि संसद् भवन प्रवेश गरे । पहिलो दिन उनी संसद्मा बोलेनन् । बिहीबारको बैठकमा गौतम पहिलोपटक राष्ट्रिय सभामा १५ मिनेट बोले ।

प्रधानमन्त्री बन्ने अपेक्षासहित राष्ट्रिय सभा सदस्य भएका गौतम पहिलो सम्बोधनमा खुसी देखिएनन् । आक्रामक रूपमा बोल्ने परम्पराभन्दा बाहिर उनी बिहीबार राष्ट्रिय सभामा मलिन स्वरमा बोले । संसद् विघटनभन्दा उनले पार्टी विभाजनलाई केन्द्रमा राखे ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि भएको पार्टी विभाजनले गौतम विक्षिप्त देखिन्थे । गौतमले सुरुमै भने, ‘आज म खुसी हुनुपर्ने हो, तर छैन ।’ त्यसपछि, गौतमले पार्टी विभाजनको विरह पोख्न थाले । तर, उनको आवाजमा आवेग र उत्तेजना थिएन ।

नेकपा विभाजन हुँदा पनि उनी कतै खुलेका छैनन् । उनले संसद्मा पनि आफू पार्टी एकताका निम्ति प्रयासरत रहेको बताए । विभाजनपछि दुवै समूह संगठन निर्माण र एक–अर्काप्रति आरोप–प्रत्यारोपमा छन्, तर गौतमले चाहिँ आफूले पार्टी विभाजनको औचित्य नै नदेखेको सुनाए ।

गौतमले विभाजनमा दुवै पक्षलाई उत्तिकै जिम्मेवार ठाने । ‘दुवै पक्षमा गल्ती–कमजोरी देखेको छु । तैपनि फेरि एकता गराउन सकिन्छ कि भनेर लागिरहेको छु । एक्लै एकताको माहोल बनाउन सकिन्न कि भनेर संगठनात्मक संरचना निर्माण गरेर पनि जाने पक्षमा छु,’ उनले भाषाको मर्यादा मिचेर आरोप–प्रत्यारोपमा उत्रेकोतर्फ संकेत गर्दै भने, ‘मलाई लाग्छ, पार्टी एकता अपरिहार्य छ, बुझ्न सकियो भने । तर, अवस्था कस्तो छ भने दुवै पक्ष समाजवादी सभ्यता, संस्कृति निर्माण गर्छु भन्नेहरूलाई लाज लाग्ने गरी उत्रनुभएको छ ।’

नेता गौतमले अविश्वासको प्रस्तावबारे प्रचण्ड–नेपाल समूहले र संसद् विघटनबारे प्रधानमन्त्री ओलीले आफूलाई कुनै जानकारी नदिएको दाबी गरे । ‘अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने काम होला भन्ने सोचेको थिइनँ । र, गएको आठ–नौ महिनादेखि मैले पार्टी एकता जोगाउन अविश्वासका प्रस्तावमा सामेल हुन सक्दिनँ भनेको थिएँ,’ उनले भने, ‘पार्टीमा विभिन्न आरोप–प्रत्यारोपसहितका पत्रे सुधारको निम्ति एउटा सम्भव उपाय हुन सक्छ भनेर राखेको थिएँ । तर, अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन । मलाई थाहा थिएन कि ५ गते अविश्वासको प्रस्ताव जान्छ भनेर ।’

त्यसपछि उनले प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि प्रश्न राखे । ‘प्रधानमन्त्रीको म कटु आलोचक हो । उहाँको कार्यशैलीले नै पार्टीमा धेरै–धेरै विवाद उत्पन्न गराएका हुन् । उहाँ मेरो ४३ वर्षदेखिको सहयोद्धा हो, मित्र पनि हो । र, उहाँलाई मैले धेरैपटक सुझाब दिएको छ, शैली सुधार गर्नुपर्छ भनेर । उहाँ दुईपटक प्रधानमन्त्री हुनुभयो, दुवैपटक धेरै सुधारका लागि अनुरोध गरेँ । कति मेरा सुझाब ग्रहण गर्नुभयो, कति गर्नुभएन । तर, उहाँले मलाई मित्रको रूपमा नै सधैँभरि सम्मान गर्नुहुन्छ, आज पनि गर्नुहुन्छ,’ गौतमले भने, ‘तर, यसपटक प्रतिनिधिसभा भंग गर्दा, म एउटा कम्युनिस्ट आन्दोलनको योद्धा, आफ्नो जीवन समर्पित गरेको, आफ्नो किसिमले भूमिका खेलेको, सायद नेकपा एमालेभित्र सबैभन्दा बढी संगठन निर्माण गर्नेभित्र पर्छु होला, अत्यन्त कठिन परिस्थितिमा हामी एकठाउँमा छौँ, तर उहाँले सोध्नुभएन । मलाई थाहा थिएन ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ

प्रतिक्रिया दिनुहोस्: