विराटनगर । विवादमा पर्ने देखिएपछि स्वास्थ्य मन्त्रालयले एन्टिजेन किट खरिद गर्ने योजना तत्कालका लागि स्थगित गरेको छ ।
ठूलो परिमाणमा मौज्दात हुँदाहुँदै मन्त्रालयले दुई चरणमा गरेर ५० करोडको एन्टिजेन किट खरिद गर्ने तयारी गरेको थियो । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ तथा एन्टिजेन किट खरिद प्रक्रियाका संयोजक महेन्द्रप्रसाद श्रेष्ठले तत्काल किट खरिद नगर्ने बताए । ‘हामीसँग हाल दुई लाख एन्टिजेन किट मौज्दात छ, त्यसैले तत्काल खरिद गर्दैनौँ,’ उनले भने, ‘थप छलफल गरेर मात्रै कति आवश्यक पर्ने हो त्यसका आधारमा प्रक्रिया अगाडि बढाउनेछौँ ।’
स्रोतका अनुसार मौज्दात हुँदाहुँदै किट खरिद गरिए कमिसनका लागि किनिएको आरोप लाग्न सक्ने भएकाले मन्त्रालय पछि हटेको हो । विज्ञहरूले पनि एन्टिजेन प्रभावकारी नहुने भन्दै पीसीआर परीक्षणमा जोड दिनुपर्ने बताएका छन् । कोरोना परीक्षणका लागि सरकारले यसअघि खरिद गरेको आरडिटी किटले यकिन नतिजा नदिएपछि पीसीआर परीक्षणमै जोड दिएको थियो ।
मन्त्रालयले आरडिटी किटजस्तै कोरोना भाइरसको द्रुत परीक्षणका लागि एन्टिजेन खरिद गर्ने बताएको थियो । स्वास्थ्य सेवा विभागले पहिलो चरणमा ३० करोड रुपैयाँको तीन लाख किट खरिद गर्न २४ पुसमा टेन्डर आह्वान गर्ने तयारी गरेको थियो । त्यस्तै, माघमा थप दुई लाख किट खरिद गर्ने योजना थियो । नयाँ पत्रिका दैनिकमा समाचार छ