Rumpum Advertisement

मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ब्राजिलमा दुई लाखभन्दा बढी, विश्वमा १९ लाख नाघ्यो

मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ब्राजिलमा दुई लाखभन्दा बढी, विश्वमा १९ लाख नाघ्यो

विराटनगर । कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ब्राजिलमा दुई लाख नाघेको छ ।

पछिल्लो समय कोरोना तीव्र रुपमा फैलिइरहेको ब्राजिलमा एकै दिन एक हजार चार सय ५५ सङ्क्रमितको मृत्यु भएपछि ज्यान गुमाउनको सङ्ख्या दुई लाख चार सय ९८ पुगेको हो । कोरोना नियन्त्रण भइरहेको अपेक्षा गरिएको ब्राजिलमा पछिल्लो समय दैनिक थपिने सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । दैनिक २० हजार हाराहारीमा सङ्क्रमित थपिने ब्राजिलमा अहिले एक दिनमा ४० हजारमाथि नयाँ बिरामी भेटिने गरेका छन् ।

पछिल्लो २४ घण्टामा ८७ हजार एक सय ३४ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या ७९ लाख ६१ हजार छ सय ७३ पुगेको छ । सङ्क्रमितमध्ये ७० लाख ९६ हजार नौ सय ३१ जना उपचारपछि निको भएका छन् । छ लाख ६४ हजार दुई सय ४४ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावितमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा हालसम्म तीन लाख ७३ हजार चार सय तीन जना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा तीन हजार चार सय १३ जनाको ज्यान गयो । अमेरिकामा दैनिक तीन हजार हाराहारीमा सङ्क्रमितको मृत्यु भइरहेको छ ।

दैनिक थपिने सङ्क्रमित सङ्ख्या पनि उच्च छ । एक दिनमा दुई लाख हाराहारी नयाँ बिरामी थपिने गरेका छन् । एकै दिन दुई लाख २४ हजार नौ सय ३६ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या दुई करोड २० लाख ८२ हजार पाँच सय ५२ पुगेको छ । एक करोड ३१ लाख दुई हजार आठ सय ३३ सङ्क्रमितको उपचार सम्भव भएको छ ।

उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भइसकेका छन् । ८६ लाख छ हजार तीन सय १६ जनाको उपचार जारी छ । उपचाररतमध्ये २८ हजार नौ सय ३६ जनाको अवस्था गम्भीर रहेको वाल्डो मिटरले जनाएको छ ।

छिमेकी मुलुक भारतमा हालसम्म एक लाख ५० हजार छ सय छ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । एकै दिन दुई सय ३४ जनाले ज्यान गुमाए । कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको भारतमा पछिल्लो समय सङ्क्रमण नियन्त्रण हुँदै गएको पाइएको छ । दैनिक भेटिने र ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको हो ।

एक दिनमा १८ हजार एक सय छ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड चार लाख १४ हजार ४४ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ३६ हजार सात सय २२ जना उपचारपछि निको भएका छन् । दुई लाख २६ हजार सात सय १६ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा कोरोनाका मृत्यु हुने सङ्क्रमितको सङ्ख्या १९ लाख नाघेको छ । एकै दिन १३ हजार आठ सय ३० जनाले ज्यान गुमाएसँगै मृत्यु हुने सङ्क्रमितको सङ्ख्या १९ लाख चार हजार सात सय दुई पुगेको हो । पछिल्लो २४ घण्टामा सात लाख ६२ हजार दुई सय ७४ जना नयाँ बिरामी थपिए ।

विश्वमा हालसम्म सङ्क्रमित सङ्ख्या आठ करोड ८४ लाख २१ हजार दुई सय ५० पुगेको छ । सङ्क्रमितमध्ये छ करोड ३५ लाख ४९ हजार एक सय ६६ जना उपचारपछि निको भएका छन् । दुई करोड २९ लाख ६७ हजार तीन सय ८२ जना उपचाररत रहेकोमा एक लाख आठ हजार दुई सय १८ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्: