Rumpum Advertisement

लिभरपुलको नजर रामोसमाथि

Neuro
लिभरपुलको नजर रामोसमाथि

विराटनगर । इङ्ग्लिस क्लब लिभरपुलले रियल मड्रिडका कप्तान सर्जियो रामोस अनुबन्ध गर्ने इच्छा देखाएको बताइएको छ । स्पेनिस मिडियाका रिपोर्टअनुसार रियलसँग सम्झौता नवीकरण गर्न आनाकानी गरेका रामोसमाथि प्रिमियर लिग क्लब लिभरपुलले इच्छा जताएको हो ।

रियलले नयाँ वर्ष २०२१ देखि स्पेनिस डिफेन्डर रोमाससँग सम्झौता नवीकरण गर्न प्रस्ताव टेबलिङ गरेको थियो । रियलका प्रशिक्षक जिनेदिन जिदानले १ जनवरी २०२१ मा उनीसहति लुकास भास्क्वेज र लुका मोड्रिक रियलका लागि महत्त्वपूर्ण भएको उल्लेख गर्दै तीनै जनासँग सम्झौता थप्न प्रस्ताव गरेका थिए ।

तीनमध्ये, क्रोएशियन मिडफिल्डर मोड्रिकले रियलसँग थप एक वर्ष सम्झौता लम्ब्याउने पक्का भइसकेको छ । उनी सन् २०२२ सम्मको सम्झौतामा हस्ताक्षर गर्न राजी भएका हुन् । उनी पारिश्रमिकमा पनि सहमत हुँदै रियल बस्ने मनसायमा पुगेका हुन् ।

यस्तै भास्क्वेजले भने सम्झौता थप गर्ने–नगर्नेमा शंका छ भने रामोस ‘पर्ख र हेर’को अवस्थामा छन् । खबरका अनुसार रामोस रियलको अफरबाट खुशी छैनन् । अरु दुई वर्ष सम्झौता लम्ब्याउने तयारीमा रियल रहँदा रामोसले करिब १० प्रतिशत तबल बढाउनुपर्ने माग गरेका थिए । हाल उनले रियलबाट प्रतिसिजन १५ मिलियन युरो कमाउँदै आएका छन् ।

रियलसँग सम्झौता थप्ने विषयमा दोधारमा रहेको मौका छोपेर लिभरपुलले उनीलाई अनुबन्ध गर्ने मनसाय बनाएको ‘एल चिरिङ्गुइटो’ले जनाएको छ । रामोस र लिभरपुलबीचको खासै राम्रो इतिहास भने छैन ।

सन् २०१८ को च्याम्पियन्स लिगको फाइनलमा मोहम्मद सालाह घाइते हुनुमा प्रमुख भूमिका रहेको थियो । सो सिजन रियलले उपाधि जितेको थियो । तथापि, प्रिमियर लिग च्याम्पियन लिभरपुलले आफ्नो डिफेन्स लाइन अझ बलियो बनाउन रामोस अनुबन्ध गर्ने इच्छा देखाएको खबरमा जनाइएको छ ।

लिभरपुलबाहेक रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग पनि जोडिएका छन् । खबरका अनुसार रामोस रियल बसाइ अन्त्य गर्दै फ्रान्सको राजधानी पेरिस सर्ने मनसायमा छन् ।

पिएसजीले बार्सिलोनाका कप्तान लियोनल मेस्सी र रामोसलाई समेट्दै ‘महान् टिम’ बनाउने योजना बनाएको छ । यसैले रामोसको ध्यान फ्रान्सतिर रहेको बताइन्छ ।