Rumpum Advertisement

प्रदेश सङ्घीयताको मुटु : मुख्यमन्त्री राई

प्रदेश सङ्घीयताको मुटु : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संरचना सङ्घीयताको मुटु भएको बताएका छन् । बिहीबार आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मुख्यमन्त्री राईले केन्द्र र स्थानीय तहको प्रयोग लामो समयदेखि भए पनि प्रदेश संरचना नयाँ भएको उनले बताए ।

प्रदेश नं १ को आर्थिक अवस्थाबारे जानकारी लिएपछि सङ्घीयताको मुटु प्रदेश भएकाले यसलाई समृद्ध बनाउनुपर्ने बताउँदै उनले प्रदेश सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको तर्क गरे ।

प्रदेश सरकारको मुटु पहिलो वर्ष राम्रै चले पनि दोस्रो वर्षको अन्त्यदेखि समस्या देखिँदै गएको आफूले पाएको उनले बताए । मुख्यमन्त्री राईले भने, ‘चालू आर्थिक वर्षको बजेट प्रस्तुत भएर पारित भइसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा भयो ।’ समस्या पहिचान भएकाले उपचारको प्रक्रिया शुरु भइसकेको मुख्यमन्त्री राईको भनाइ छ ।

प्रदेश सरकारले सही र यथार्थपरक बजेट बनाउन नसकेको र वित्तीय अनुशासन कायम नभएकाबारे विभागीय मन्त्रीलाई पटकपटक सचेत गराएको उनले बताए । मन्त्रालयमा देखिएको बेथितिलाई पूर्णरुपमा निर्मूल गर्न निर्देशन दिँदै उनले प्रणालीको विकास हुन नसक्दा मुलुकको दीगो र व्यवस्थित विकास हुन नसकेको बताए ।

उनले प्रदेशमा प्रणालीको विकास गरी अनुसन्धानमा आधारित विकास कार्यअघि बढाइने बताए । पछिल्लो राजनीतिक घटनाक्रमले केही अन्यौलता देखिए पनि अन्यौलतामा नपरी काम गर्न कर्मचारीलाई उनले आग्रह गरे ।

मुख्यमन्त्री राईले भने, ‘प्रदेशमा जसरी घटनाक्रम अघि बढेको छ, यसको भ्रममा नपर्नुहोला ।’ आगामी माघ ७ गतेको प्रदेशसभापछि अन्यौलता हट्ने उनले विश्वास व्यक्त गरे । सरकार परिवर्तन हुने हल्लाको पछि लाग्नुपर्ने अवस्था नभएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्: