Rumpum Advertisement

नो डर्टी पोलिटिक्स !

Neuro
नो डर्टी पोलिटिक्स !
रमेशकुमार सुवेदी

मुटुमाथि ढुङ्गा राखी

सिद्धान्ततः राजनीतिज्ञहरू परिवर्तनका संवाहक हुन् । यिनले प्रवाह गरेको विचार कार्यकर्ताले आफ्नो स्तरबाट जनमानसमा पुर्‍याउने हुन् । चुनावताका होस् या अन्य अवस्थामा आफ्ना कार्यकर्ताले मतदाता र मान्छे तान्ने प्रयास इमान्दारीसाथ गरेका हुन्छन् । तर कार्यकर्ताले जति नै प्रयास गरेको किन नहोस्, नेतृत्वको अनपेक्षित व्यवहारबाट जनताले देखेका र चाहेका सपना प्रभावित भए । पहिलेका र अहिलेका नेतामा जनताले ‘विपन्नता’ र ‘सम्पन्नता’को अन्तर देखे । नेतृत्वप्रति जनताको विश्वास कमजोर भयो ।

नेतामा सम्पन्नताको हुटहुटी यस्तो चल्यो कि उनीहरू आपसमा प्रतिस्पर्धी भए । कार्यकर्ता नेताबीचको प्रतिस्पर्धामा मुकदर्शकमात्र होइन, सहयोगीसमेत हुँदै गए । असल कार्यकर्ता पाखा लगाइँदै गए । नेता र कार्यकर्ताको सम्बन्ध टुट्दै गयो, अन्ततः स्वाभिमान गुमाउन तयार भएका व्यक्तिहरूमात्र पार्टीमा टिक्न थाले । उनीहरूको जय–जयकार नेताजीलाई अमृत र चिप्ला कुरा सत्य–सन्देश हुन थाल्यो । असल, त्यागी कार्यकर्ता सन्देहको घेरामा राखिए । फलतः असल, योग्य कार्यकर्ता ‘मुटुमाथि ढुङ्गा राखी’ टुलुटुलु हेर्ने रमितेमा बदलिए । जनता र नेता जोड्ने पुल भत्कियो । निष्ठा र सिद्धान्त टाढा हुँदै गए ।

तितो लाग्नसक्छ तर मिडिया कि सरकारको कि प्रतिपक्षीको डम्फु बजाउने भयो, जनताको हुन सकेन ।

चुनावी घोषणा–पत्र चुनाव जित्ने ललिपपमात्र भयो । उनीहरूबाट बाँडिएका आश्वासन जनताले उपभोग गर्न पाएनन् । जनता चिढिँदै गए । नेताको बोली जनताका लागि ‘गफै त हो नि सम्धी’सरह हुन थाल्यो । आस्था, सम्मान घट्दै गयो । नेता शब्द बिस्तारै–बिस्तारै जनताको मानस्थितिमा ‘गाली–बेइज्जतीको पर्याय’ हुन थाल्यो । नेता देख्दा जनताको आँखामा ‘ज्वालामुखी’ आउने भयो ।

नेताजी सबैका साझा हुनुपर्नेमा एकल शासकको आधुनिक अवतारमा देखिए । जहाँ–जहाँ सकिन्छ, त्यहाँ–त्यहाँ राजनीतिलाई ‘उपभोग–नीति’मा प्रयोग गर्न थाले । ‘कमाउ र खाउ’ भन्ने अवधारणा संस्थागत भयो । ‘नेता फुटाउ, कुर्सी पाउ’ राजनीतिक सिद्धान्त र आदर्श भयो । आपसी मित्रता हराउँदै गयो । विश्वासमा कमी देखियो । साथीहरू बैरी भए । स–साना कुरामा विदेशी–शक्ति आउनुपर्ने अवस्था आयो । यिनले आफूअनुकूल निर्णय गराउन खेल खेले । नेपाली राजनीति कतै अर्काको हातमा त गएको छैन ? हामीलाई सोच्न बाध्य पारियो, पारिँदै छ ।

अबको बाटो

राजनीतिमा खबरदारी सबैभन्दा महत्त्वपूर्ण विषय हो । यसको अग्राधिकार प्रतिपक्षीलाई हुन्छ । यिनले जनतालाई जानकारी दिई सरकारलाई सही मार्गमा हिँडाउनुपर्ने हो । तर प्रतिपक्षी कहिले भागबन्डाको राजनीतिमा त कहिले झर्ला र खाउँलाको मानसिकतामा अल्मलिएको देखियो । यस्तो पृष्ठभूमिमा प्रतिपक्षको भूमिका सधैँ शङ्कास्पद रह्यो ।

सुरुदेखि अहिलेसम्मका राजनीतिक प्रतिबद्धताका फायलहरू कहाँ–कहाँका सन्दुकमा छन्, खोजी हुनुपर्छ । यिनले न्याय पाउनुपर्छ ।

सरकार र प्रतिपक्षी दुवैलाई जिम्मेवारी बोध गराउने सशक्त भूमिका मिडियाले खेल्नुपर्ने हुन्छ । तितो लाग्नसक्छ तर मिडिया कि सरकारको कि प्रतिपक्षीको डम्फु बजाउने भयो, जनताको हुन सकेन । अन्य घटनामा मिडियाले सत्य बोले पनि राजनीतिक विषयमा आ–आफ्नै नुनको सोझो भयो । पहिले र अहिलेका मिडियामा ‘सत्य र झुट’ बराबरको फरक भयो । आउँदा दिनहरूमा राजनीतिक मुद्दामा भोको पेट बनाएर भए पनि ‘म सत्य छु’ भनी मिडियाले पुष्टि गर्नैपर्छ । यसो भएमा लेखेर राख्नुस्, चुट्कीको भरमा सुधार हुन्छ ।

तपाईँ आफैँ आँखा चिम्लिनुस्, सोच्नुस् कुन स्थान र पेसामा राजनीतिक हस्तक्षेप छैन ? अब तपाई आफैँले भन्नुहुन्छ, अति भो ! छोड राजनीति ! अनि एउटै नारा लगाउन मन लाग्छ– नो डर्टी पोलिटिक्स ! राजनीति गर्ने थलोमा राजनीति हुनुपर्छ, अन्यत्र होइन । सबैले दबाबरहित स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्छ ।

त्यसबाहेक सुरुदेखि अहिलेसम्मका राजनीतिक प्रतिबद्धताका फायलहरू कहाँ–कहाँका सन्दुकमा छन्, खोजी हुनुपर्छ । यिनले न्याय पाउनुपर्छ । यसले जनतामा नेताप्रति विश्वास जगाउँछ । नत्र जुन जोगी आए पनि, कानै चिरेका भन्न बाध्य हुने स्थिति बन्छ ।

अहिलेको राजनीतिमा भइरहेको अनपेक्षित अभ्यासले जनतामा राम्रो सन्देश गएको छैन । नेताहरूलाई हामीले जे गर्दा पनि हुन्छ, जनता पछि लागिहाल्छन् नि ! भन्ने लागिरहेको छ । यस्तो सोचबाट नेताजीलाई छ्याङ्ङ पार्न विकल्पको रूपमा मतपत्रमा ‘नो भोट’ राख्ने अवधारणाका बारेमा सघन बहस हुन जरुरी छ । यसबाट उनीहरू जनताप्रति उत्तरदायी हुन बाध्यमात्र हुँदैनन्, उल्टो भएको जनताको मन, क्रमशः सुल्टो हुँदै जान्छ ।

आफ्ना पुराना कार्यकर्ताहरूको मनोवैज्ञानिक अवस्था, वैरागको कारण खोज्नु पनि सुधारको एउटा पक्ष हुनसक्छ । पार्टीको नीतिमा हेरफेर गरिनु यथास्थिति परिवर्तनको अर्को महत्त्वपूर्ण सर्त हो । एक व्यक्ति एक पदको नीति हुनुपर्छ । नेताको उमेर हद र योग्यता तोकिनुपर्छ । पार्र्टी अध्यक्ष र प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी हुनुहुँदैन । नेतालाई नियन्त्रण गर्ने उच्च राजनीतिक संयन्त्र अपरिहार्य छ ।

बोले ऐन नबोले चैन

यहाँ जे–जति लेखिएका छन्, ती कहीँ न कहीँ राखिएका, जनताले सुनाएका, भुक्तभोगीले बोलेका, भुसको आगोजस्तो भित्रभित्रै धुँवाइरहेका गुनासोहरू हुन् । राजनीतिमा यस्तो गुनासो जति नै आए पनि तिनको व्यवस्थापन र देश सुधार्ने प्रतिबद्धता नेतृत्वको दायित्व हो । यो देश बनाउने अग्र–जिम्मेवारी नेताहरूकै हो । यसर्थ ‘जे–जसरी पनि दुनो मेरै भागमा’ भन्ने विद्यमान सोच त्याग्नैपर्छ ।

जनता आजित हुँदै छन् । उनीहरूको धैर्यताको बाँध भत्किन लाग्दै छ । धैर्यता र सहनसक्ने शक्ति हरायो भने जनताले ‘साधुलाई सूली’ चढाउन कति बेर लाग्छ !

जे हुनु भयो ! कम्तीमा अब सुधारक हुनुपर्छ । नेता नमुना हुनुपर्छ । उनीहरूमा निहित त्याग, समर्पण भाव जाग्नुपर्छ । आदर्शको राजनीति पहिलेको जस्तै हुनुपर्छ । कुर्सीका लागि सिद्धान्तको बलि अब चढाउनु हुन्न ।

म ‘बोले ऐन नबोले चैन’ गर्नुहुँदैन । जनता आजित हुँदै छन् । उनीहरूको धैर्यताको बाँध भत्किन लाग्दै छ । धैर्यता र सहनसक्ने शक्ति हरायो भने जनताले ‘साधुलाई सूली’ चढाउन कति बेर लाग्छ !
आदरणीय लेखक भूपी शेरचनले भनेजस्तो ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ हुने कि नहुने नेताजीकै मर्जी !