Rumpum Advertisement

रामधुनी मन्दिरको पहिलो हुलाक टिकट प्रचलनमा

Neuro
रामधुनी मन्दिरको पहिलो हुलाक टिकट प्रचलनमा

सुनसरी / त्रेता युगमा भगवान् रामले बालेको धुनी हालसम्म जगाइराखिएको विश्वास गरिने प्रसिद्ध तीर्थस्थल रामधुनीको विशेषता अङ्कित हुलाक टिकट पहिलोपल्ट प्रचलनमा आएको छ ।

हुलाक सेवा विभागले प्रचलनमा ल्याएको सो टिकटको मूल्य १० रुपैयाँ राखिएको छ । टिकटमा रामधुनी मन्दिर, बाबा वनखण्डी मन्दिर, धुनी, साजका मूढा, सीताकुण्ड, हरिण आदिको चित्र समेटिएको छ ।

रामधुनीको हुलाक टिकट १० लाख प्रति छापिएको तथा इन्डोनेसियाको पेरुम पेरुरी कम्पनीबाट छपाएर ल्याइएको हुलाक सेवा विभागकी डिजाइन कला अधिकृत पूर्णकला लिम्बूले बताइन् । रामधुनीको टिकट डिजाइन उनैले गरेकी हुन् ।

रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीका अनुसार रामधुनीको पहिलो हुलाक टिकट प्रकाशनका लागि समितिका तर्फबाट दुई वर्षअघि विभागमा निवेदन दर्ता गराइएको थियो । दुई वर्षअघि हुलाक सेवा विभागमा अधिकृत रहेका बराहक्षेत्र नगरपालिका–१० का दीपेन्द्र बुढाथोकीले यससम्बन्धी परिकल्पना तथा समितिलाई निवेदन दिन सहजीकरण गरेको बताइन्छ ।

‘हुलाक टिकट कुन रूपमा छापिएला भन्ने थियो । यो हामी सबैका लागि खुसीको कुरा हो कि सबै जनताको पहुँच हुने प्रचलित दरमा यो छापियो,’ अध्यक्ष कार्कीले भने, ‘रामधुनीको महत्त्वलाई विश्वव्यापी बनाउने हाम्रो अभियानमा यसले ठुलो मद्दत गर्ने अपेक्षा छ ।’

नेपालीमा रामधुनी मन्दिर, सुनसरी रु. १० तथा अङ्ग्रेजीमा रामधुनी टेम्पल, सुनसरी आरएस टेन, २०२० लेखिएको सो हुलाक टिकट २०७७ पुस १६ मा हुलाक सेवा विभागकी महानिर्देशक आभा श्रेष्ठ कर्णले प्रथम दिवसीय टाँचा लगाएकी हुन् ।