Rumpum Advertisement

पेलेको बायो : रोनाल्डो र मेस्सीलाई असहज !

पेलेको बायो : रोनाल्डो र मेस्सीलाई असहज !

विराटनगर । ब्राजिलियन लिजेन्ड पेलेले सामाजिक सञ्जाल इन्स्टाग्रामको बायो परिवर्तन गरेका छन् । स्टार खेलाडीद्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले आफ्नो कीर्तिमान तोडेपछि तीन पटकका विश्वकप विजेता पेलेले आफ्नो बायो फेरेका हुन् ।

बार्सिलोनाका फरवार्ड मेस्सीले गत डिसेम्बरमा फुटबलका महान हस्ती पेलेको कीर्तिमान भङ्ग गरेका थिए । ३३ वर्षीय मेस्सीले पेलेको एकै क्लबका लागि सबैभन्दा बढी गोलको कीर्तिमान भङ्ग गरेका हुन् ।

ब्राजिली महान फुटबलर पेलेले सान्टोसका लागि १९ सिजनमा ६४३ गोल गरेका छन् । उनी सन् १९५६ देखि १९७४ सम्म सान्टोसमा आबद्ध रहेका थिए ।

यता, इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डो गत आइतबार राति उडिनेसविरुद्ध दुई गोल गर्दै फुटबल इतिहासमा सर्वाधिक धेरै गोल गर्ने दोस्रो खेलाडी बनेका थिए ।

रोनाल्डोले करिअर गोलसङ्ख्या सात सय ५८ पुर्‍याका थिए । उनले सात सय ५७ गोल गरेका पेलेको कीर्तिमान भङ्ग गरे । पेले सन् १९५६ देखि १९७७ सम्म खेल्दा सात सय ५७ अफिसियल गोल गरेर दोस्रो सर्वाधिक गोलकर्ता बनेका थिए ।

यता, सन् २००२ मा स्पोर्टिङ लिस्बोनबाट खेल्न थालेका रोनाल्डोले चार सय ३१ खेल खेल्दा छ सय ५८ गोल गरेका हुन् । ३५ वर्षीय रोनाल्डोले स्पेनमा छँदा चार सय ३८ खेल खेल्दा चार सय ५० गोल गरेका थिए ।

यस्तै रोनाल्डोले पोर्चुगलका लागि एक सय २० खेल खेल्दा एक सय दुई गोल गरेका छन् । त्यसबाहेक रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट एक सय १८ र स्पोर्टिङ सिपीबाट पाँच गोल गरेका छन् ।

फुटबल इतिहासमा सबैभन्दा धेरै गोल गर्ने चेक रिपब्लिकका जोसेफ बिस्क्यान हुन् । उनले सात सय ५९ गोल गरेका छन् । बिस्क्यानले सन् १९३१ देसख १९५५ सम्म खेलेका थिए ।

तर, सामाजिक सञ्जाल इन्स्टामा पेलेले आफ्नो गोलसङ्ख्या एक हजार दुई ८३ पुर्‍याएका छन् । बायोमा गोलसङ्ख्या उल्लेख गर्दै पेलेले लेखेका छन्, ‘मिडियाको ममाथि आरोप छ कि मैले आफ्नो बायो परिवर्तन गरेर यी ठूला स्टारद्वयलाई छायाँमा पार्ने काम गरेँ, जसले मेरो कीर्तमान भङ्ग गरिरहेका छन् ।’

‘यो बायो सधैं उस्तै छ जब मै मैदान उत्रिएको थिएँ । यो अङ्क र अविश्वनीय उपलब्धिले हामीलाई अल्मल्याउन सक्दैन’, उनले लेखेका छन् ।

उनले उल्लेख गरेकाे गोल सङ्ख्याका कारण स्टारद्वय रोनाल्डो र मेस्सीलाई पेलेकाे कीर्तिमान तोड्न असम्भवजस्तै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्: