birat ribon

भूमिका सशक्त पारिने : राष्ट्रियसभा सदस्य

Neuro
भूमिका सशक्त पारिने : राष्ट्रियसभा सदस्य

विराटनगर/राष्ट्रियसभा सदस्यहरुले प्रतिनिधिसभा नभएको अवस्थामा आफूहरुको भूमिका सशक्त पार्ने बताएका छन् ।

राष्ट्रियसभाको सातौँ अधिवेशन पुस १७ गतेदेखि सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभाको विघटन गरेसँगै यस राष्ट्रियसभा अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ ।

cura insider

विधेयकहरु दुवै सदनबाट पास हुनुपर्ने भएकाले राष्ट्रियसभाको यस अधिवेशनमा सरकारले पर्याप्त विजनेस नदिने आशङ्का साथ अधिवेशन लामो समय जान नसक्ने राष्ट्रियसभा सदस्यहरु नै बताउँछन् । यद्यपि सरकारले दिएको विजनेसमा गम्भीरतापूर्वक छलफल गर्ने र सङ्कटपूर्ण अवस्थालाई निकास दिन भूमिका खेल्ने राष्ट्रियसभा सदस्यहरुको भनाइ छ ।

राष्ट्रियसभा सदस्य शान्ति अधिकारीले नीति निर्माण गर्ने काम र सङ्कटपूर्ण अवस्थालाई निकास दिई सङ्कटबाट बचाउन भूमिका खेल्ने बताइन् । प्रतिनिधिसभाले पास गरिसकेका र राष्ट्रियसभाले पास गर्न बाँकी विधेयकहरु पास गरिने उनको भनाइ छ ।

राष्ट्रियसभा सदस्य रामलखन चमारले सरकारले आवश्यक ठानेका कामको सन्दर्भमा त्यसको जिम्मेवारी राष्ट्रियसभाले बहन गर्ने भएकाले राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको बताए । जनताको बीचमा सम्बन्धित दलको धारणा लिएर जाने, जनतालाई सङ्गठित गर्नुका साथै जनताको सरोकारका विषय सम्बन्धित मन्त्रालयमा पुर्‍याउने भूमिका राष्ट्रियसभा सदस्यको रहेको उनको भनाइ छ ।

विधेयकको काम नहुने भएकाले अधिवेशन लामो समय जान नसक्ने राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेहीले बताए । यद्यपि समितिमार्फत् हुने कामहरु हुने उनले बताए ।

सरकारलाई खबरदारी गर्ने, जनताको आवाज सरकारलाई सुनाउने र घच्घचाउने भूमिकासाथ राष्ट्रिय सभामा प्रस्तुत हुने राष्ट्रियसभा सदस्य अगमप्रसाद वान्तवा राईले बताए ।

कोभिड १९ को विषय, विभिन्न आयोगको प्रतिवेदनलगायत राष्ट्रियसभाको विजनेस हुनुपर्ने राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरको भनाइ छ । प्रतिनिधिसभा नभएको अवस्थामा जनताका जल्दाबल्दा सवालमा राष्ट्रियसभामा छलफल हुनुपर्ने तथा जनतालाई जनप्रतिनिधिमूलक संस्था छ भन्ने अनुभूति दिलाउन राष्ट्रियसभा बैठकको निरन्तरता आवश्यक रहेको उनले बताए ।

प्रतिनिधिसभा विघटन भएका कारण राष्ट्रियसभाको यस अधिवेशनमा धेरै विधेयकहरुमाथि छलफल हुने छैन । यद्यपि राष्ट्रियसभा सदस्यहरुले भने जनजीविकाको सवालमा तथा राष्ट्रिय राजनीतिमा देखा परेका जटिलताको सवालमा राष्ट्रियसभाले महत्वपूर्ण तथा सशक्त भूमिका निर्वाह गर्ने बताएका छन् ।

jackson ribon